वडा अध्यक्षले खोलाबाट बालुवा चोरेपछि….

“
सुनवल, पुस २० । सुनवल नगरपालिकाका एक वडा अध्यक्षको ट्रयाक्टर तुरिया खोलाबाट बालुवा चोरी गरी भाग्दै गर्दा स्थानीयले समातेर प्रहरीलाई बुझाएका छन् । सुनवल नगरपालिका २ स्थित तुरिया खोलाबाट ट्रयाक्टरमा बालुवा लोड गरि भाग्दै गर्दा खुटहटका स्थानीय बासीले टयाक्टर समातेर ईलाका प्रहरी कार्यालय सुनवललाई बुझाएका हुन् ।
खोलामा ठेक्का नलाग्दै अवैध उत्खनन् गरी बालुवा चोरी हुन थालेको छ । यसरी बालुवा चोरेर भाग्दै गरेको एउटा ट्रयाक्टर स्थानियले प्रहरीलाई बुझाई कार्वाहीको माग गरेका छन् । पक्राउ परेको उक्त ट्रयाक्टर सुनवल नगरपालिका वार्ड नम्बर २ का वार्ड अध्यक्ष राजेन्द्र यादवको रहेको खुलेको छ ।
घरायसी प्रयोजनका लागि खोलाबाट बालुवा झिकेको स्थानियले आरोप लगाएपछि वार्ड अध्यक्षले, टयाक्टर आफुले प्रयोग नगरेको भन्दै अर्को व्यक्तिलाई ट्रयाक्टर भाडामा दिएको सफाई दिए । अध्यक्ष यादवले भने, ‘म बाहिर थिए मेरो ट्रयाक्टर अरु कसैले प्रयोग गरेको छ मलाई यस विषयमा केहि थाहा छैन ।’
प्रहरीको नियन्त्रणमा रहेको उक्त ट्रयाक्टरको नम्बर पटक पटक प्रहरीसंग माग गर्दा प्रहरीले दिन मानेन । ट्रयाक्टर खोलाबाट पक्राउ गरिएको होईन भन्दै यस विषयमा थप अनुसन्धान भैरहेकाले ट्रयाक्टरको नम्बर र विवरण दिन नमिल्ने सुनवल प्रहरीले जनाएको छ । सञ्चार माध्यमलाई ट्रयाक्टरको नम्बर नदिनु र विवरण लुकाउनुले घटनालाई लुकाउन खोजिएको आशंका गरिएको छ ।
“








