लोप हुँदै आरन व्यवसाय

इलाम, पुस १९ । गाउँघरमा आरन व्यवसायबाट राम्रै जीविका चलाउँदै आएका विश्वकर्मा समुदायको पुख्र्यौली पेशा अहिले हराउँदै गएको छ । युवा पुस्ताले चासो नदिँदा तथा गाउँघरमा कोइलाको अभाव हुन थालेपछि विश्वकर्मा समुदायको पहिचानका रुपमा रहेको आरन व्यवसाय लोप हुँदै गएको छ ।

रामपुर नगरपालिका–५ सुन्दरटोलका ६० वर्षीय इन्द्रबहादुर विकले पुरानो आरन व्यवसाय समुदायबाटै लोप हुँदै गएकामा चिन्ता व्यक्त गरे । उनले आरन व्यवसायलाई जसोतसो अहिलेसम्म पनि निरन्तरता दिँदै आएका छन् ।

उनी भन्छन्, “युवा पुस्ता आरनसम्बन्धी सीप सिक्न छाडेर विदेशतिर लागे, गाउँमा बसेर पुरानो पेशा सम्हाल्ने युवा नहुँदा आरन व्यवसाय हराउँदै गएको छ ।” विकले सो व्यवसाय गर्न थालेको ४० वर्ष भयो । हिजोआज सबैले उक्त पेशा छाड्दै गए पनि उनी भने आफूले सकुन्जेलसम्म व्यवसायलाई निरन्तरता दिने अठोट गर्छन् ।

“घरमै बसेर एक महिनामा रु २० हजारदेखि रु ३० हजारसम्म कमाउन सकिन्छ, यसले मेरो जीविका चलेकै छ, अरूले व्यवसायलाई निरन्तरता नदिँदा हाम्रो पुख्र्यौली व्यवसाय नै संकटमा पर्दै गएकामा दुःख लागेको छ”, उनले भने ।
विकले हातले कुँदेर कलात्मक रुप दिई गाग्री, ताउला, आम्खोरा, आरी, माना, पाथी, फलामबाट कुटो, कोदालो, बञ्चरो, हँसिया लगायतका विभिन्न सामग्री बनाउने गर्छन् । हातले कुँदेर बनाइएका कोदालो, बञ्चरो आकार हेरेर रु ६०० देखि रु एक हजार, हँसिया रु एक सयदेखि रु ३०० सम्ममा बिक्री गर्ने गरेको विकले बताए ।

गाउँघरमा कोइलाको अभाव हुँदै जाँदा आरन व्यवसाय चलाउन समस्या परेको विकको भनाइ छ । विकलाई सो व्यवसायमा छोराको राम्रो साथ मिलेको छ । छोरा कृष्ण आरन व्यवसायमा निकै सिपालु छन् ।
“केही समय विदेश बसेर घर फर्के, बुबाले आरन चलाउन नछाड्ने अठोट गरेपछि विदेश जान छाडेर बुबासँगै आरन व्यवसायमा लागेको छु”, उनले भने ।
यस्तै रामपुर मटेरीका ५८ वर्षीय लालबहादुर विकले झण्डै ४८ वर्षको समय आरन व्यवसाय गरेर बिताए ।उनले आफैँले गाग्री, ताउलो, तमाउरो, आम्खोरा, आरी लगायतका हातले कुँदेर बनाइएका तामाका सामग्री प्रतिकिलो रु एक हजार ८०० मा बिक्री गर्दै आएका छन् ।

ज्यालादारीमा भने प्रतिकिलो रु एक हजार २०० मा तामाका सामग्री निर्माण गर्छन् । उनले एक महिनामा रु २० हजारदेखि रु ३० हजारसम्म आम्दानी गर्छन् । गाउँघरमा आरन चलाउने युवा कोही पनि छैनन् । विश्वकर्मा समुदायका पाकापुस्ता भने आरन व्यवसाय लोप हुँदै जाँदा चिन्ता व्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *