धराने टाेली राजधानीमा, धनकुटेली अाम हड्तालमा, विराटनगरबासी अनसनमा

पुस १८, धरान । धरानलाई १ नं. प्रदेशको राजधानी बनाउन माग गर्दै धराने टोली राजधानी प्रस्थान गरेको छ । धरान उपमहानगर पालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीको नेतृत्वमा धरानलाई प्रदेशको राजधानी बनाउ स्वतन्त्र अभियान समिति डेलिगेसनका लागि मंगलबार काठमाडौं प्रस्थान गरेको हो ।

स्वतन्त्र अभियान समिति धरानलाई राजधानी माग्दै एकसाता देखि अनवरत रिले अनसनमा रहेको छ । रिले अनसनबाट पार नलाग्ने देखिएपछि समितिले राजधानी नै आएर दवाव दिने निर्णय गरेको हो ।

उपमहानगरकी उपमेयरकै नेतृत्वमा समितिका संयोजक आइन्द्रबिक्रम बेघा, सचिव श्याम पोखरेल, माओवादी केन्द्रका चोत्लुङ, नेपाली कांग्रेसका किशोर राई, नेकपा एमालेका नारायण सुवेदी, र संघीय समाजवादी फोरमबाट ताजुव लिम्बूको टोली काठमाडौं प्रस्थान गरेको हो ।
धरानलाई १ नं. प्रदेशको राजधानी माग गरिरहँदा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को निर्णयले विराटनगरलाई अस्थायी राजधानी तोकेपछि धरानलाइै धक्का लागेको छ । इटहरी विराटनगरमा पनि दलहरू तथा नागरिक समाजले राजधानी माग गर्दै अनसन शुरू गरेका छन् ।

धरान प्रादेशिक राजधानीको लागि उपयुक्त रहेको र मन्त्रीपरिषद्को कार्यालय तथा अन्य भौतिक पूर्वाधारहरु समेत रहेकोले प्रदेशको राजधानी माग गरिएको हो । धरान वातावरणीय हिसाबले आवासिय शहर भएकाले हावापानी वातावरण पनि उपयुक्त रहेको दाबी गरिएको छ ।

पूर्वका धरान, इटहरी, विराटनगर, धनकुटा, विराटचौकले प्रादेशिक राजधानी माग गर्दै आईरहेका छन् । यी क्षेत्रबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा निर्वाचित प्रतिनिधिहरुले आ–आफ्ना क्षेत्रमा राजधानी ल्याउने प्रतिबद्धता ब्यक्त गरेका थिए । सरकारले विराटनगरलाई अस्थायी राजधानी तोकेपछि धरान, इटहरी, धनकुटामा आन्दोलन चर्कँदै गएको छ ।

यता धनकुटाबासीले राजधानी माग गर्दै चर्काएको आन्दोलन अनिश्चितकालिन हड्ताल सम्म पुगेको छ । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणा गर्न माग गर्दै आज जिल्लाबासीले कोशी राजमार्गमा यातायात अवरुद्ध गरेका छन् । तीन सातादेखि आन्दोलनरत धनकुटेलीले कोशी राजमार्गको धरान–धनकुटा सडक खण्डमा दिउँसो एक घण्टा चक्काजाम गरेका थिए ।

चक्काजामका कारण तराईबाट पूर्व पहाडी जिल्लाका लागि आएका र पूर्वी पहाडी जिल्लाबाट तराई झर्ने यातायातका साधन रोकिएका थिए । चक्काजाम पछिको कोण सभामा बोल्दै नेकपा एमाले नेतृ तारा तितुङ, माओवादी केन्द्रका तिलकप्रसाद राई, सुन्दरवावु श्रेष्ठ, संघीय समाजवादीकी नेतृ पार्वती राईले धनकुटा हरेक हिसावले प्रादेशिक राजधानी हुन उपयुक्त रहेको दावि गर्दै माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

सरकारले विहीबार प्रदेश प्रमुखहरुको नियुक्ति गर्ने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बस्ने विहीबारको मन्त्रिपरिषद बैठकले ७ वटै प्रदेशका प्रमुखको नियुक्ती गर्ने तयारी गरिएको छ ।

संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुख नियुक्त गर्न निर्वाचन आयोगले ताकेता गरिसकेकाले सबै दलसँगको सल्लाहमा सरकारले निर्णय लिने स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले बताए ।

यसअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले नियुक्त गरेका प्रदेश प्रमुखबाट सपथ नखाने भन्दै नियुक्ति नगर्न दबाब दिएका थिए । देउवाले नियुक्ति गर्ने प्रदेश प्रमुखहरुमा पूर्व सेनापति रुक्मांगत कटवाल, माइती नेपालकी संस्थापक अनुराधा कोइराला लगायतको नाम चर्चामा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *