उद्योग वाणिज्य सङ्घ चितवनको अधिवेशनको सरगर्मी बढ्दै

पुस १८, भरतपुर । चितवनमा मौसमको चिसो बढ्दो छ । चिसो बढेसँगै उद्योग वाणिज्य सङ्घ चितवनको ५१ औँ साधारण सभा तथा अधिवेशनको राफ बढ्दै गइरहेको छ ।

आगामी नेतृत्वको लागि दुई वटा प्यानल यति बेला चुनावी मैदानमा देखिएका छन् । हालका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ र निवर्तमान वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधानबीच कडा प्रतिस्पर्धा हुने देखिएको । अहिले दुवैजना प्रत्यासी चुनावी प्रचारप्रसारमा व्यस्त छन् । व्यवसायीहरुलाई भेट्ने क्रम बाक्लो बन्दै गएको छ । घरदैलो अभियान तीव्र भइरहेको छ । नारायणगढ बजार उवासंघ चितवनको चुनावी माहौलले तताएको छ ।

यसअघिको चुनावमा अध्यक्षमा उठेका सहनलाल प्रधान अहिलेका अध्यक्ष राजन गौतमसँग पराजित भएका थिए । त्यति बेला सहनकै प्यानलबाट अहिले अध्यक्षमा दाबी गरिरहेका राजु श्रेष्ठ वरिष्ठ उपाध्यक्षमा उठेको थिए । राजुले जित हासिल गर्दै वरिष्ठ उपाध्यक्ष बने भने सहनलाल पराजित हुन पुगे ।

पहिले एउटै प्यानलमा रहेर चुनाव लडेका सहन र राजुबीच नै अहिले प्रतिस्पिर्धा हुने देखिएको छ । दुवै जना अध्यक्षमा लड्ने अठोट गरी मतदाताहरुलाई भेटघाट गरिरहेका छन् । व्यवसायीको घरघरमा पुगेर दुवैले जितलाई आ–फ्नो पक्षमा पार्ने कसरत गरिरहेका छन् ।

वर्तमान वरिष्ठ उपाध्यक्ष श्रेष्ठ रोलक्रम अनुसार अबको नेतृत्व आफैँले पाउनुपर्ने भन्दै चुनावी प्रचारप्रसारमा छन् । उनका प्रत्यासी सहनलाल प्रधान इतिहासको मूल्याङ्कन गरेर मत दिन मतदाताहरूलाई आग्रह गरिरहेका छन् । वर्तमान अध्यक्ष राजन गौतमसँग अध्यक्ष पदमा पराजित भएका प्रधान दोस्रोपटक अध्यक्ष पदमा प्रतिस्पर्धामा उत्रिएका हुन् । प्रधान र श्रेष्ठ बाल्यकालका साथी पनि हुन् ।


प्रधानले विगत लामो समयसम्म उद्योग वाणिज्य सङ्घमा गरेको लगानी र लगनशीलतालाई जितको आधार मानेका छन् भने श्रेष्ठले लक्ष्मीनारायण बस्त्रालयको घटनालाई मुख्य एजेन्डा बनाएर चुनावी अभियानमा दौडेका छन् ।

सहनले आफू वरिष्ठ उपाध्यक्ष हुँदा नारायणी नदी किनारलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नको लागि ४६ वटा सोलार जडान गरेको बताउँदै मतदाताहरुले आफूलाई जिताउने दाबी गरेका छन् । श्रेष्ठ लक्ष्मीनारायण बस्त्रालय र सव्जीमण्डीको समस्या हल गर्न आफू लागेको हुनाले व्यवसायीहरुले आफूलाई नै जिताउने बताउँदै आएका छन् ।

राजु श्रेष्ठ उद्योग वाणिज्य सङ्घको हालका वरिष्ठ उपाध्यक्ष हुन् । उनी चितवनमा विशेष गरी होटेल व्यवसायीको रूपमा चिनिन्छन् । २०६४ सालबाट उनी उवासंघको कार्यसमितिमा जोडिएका युवा उद्यमी हुन् । २०६४ सालमा उनी पहिलो पटक उवासंघको कार्यसमिति सदस्य थिए । उनीसँग दुई पटक कार्यसमिति सदस्य भएर काम गरेको अनुभव छ । एक कार्यकाल उनी तृतीय उपाध्यक्षसमेत भएका थिए । एक कार्यकाल प्रथम उपाध्यक्षमा निर्वाचित भए ।

‘२०६४ सालदेखि निरन्तर व्यवसायीको हितमा लागेको छु, व्यवसायीहरुको समस्या हल गर्न ५ मिनेटमै ठाउँमा पुग्छु’ अध्यक्षका दावेदार श्रेष्ठले भने, ‘लायन्सचोकको सव्जीमण्डीको समस्या हल गर्न होस् या लक्ष्मीनारायण बस्त्रालयको समस्या समाधान गर्न होस् म निरञ्न्तर लागेको छ ।’ उनले आफ्नो लामो समयको योगदानले व्यवसायीहरुले नेतृत्वमा चुन्ने दाबीसमेत गरेका थिए ।

यता सहनलाल प्रधान उवासंघ चितवनको पूर्ववरिष्ठ उपाध्यक्ष हुन् । उवासंघको यसअघिको अधिवेशनमा सहनलाल प्रधान अध्यक्षमा उठेर झिनो मतले पराजित भएका हुन् । उनी सञ्चार उद्यमीको रूपमा चिनिन्छन् । २०६२ सालमा कार्यसमिति सदस्य बनेका प्रधान दुई पटकसम्म तृतीय उपाध्यक्ष भएका थिए । ०६४ सालमा र ०६६ सालमा उनी तृतीय उपाध्यक्ष भएका थिए । उनी ०६८ सालमा प्रथम उपाध्यक्ष भए । ०७० सालमा वरिष्ठ उपाध्यक्ष भए ।

‘एक दशकभन्दा बढी समय व्यवसायीको हकहितमा लागें । म नेतृत्वमा पुगेर काम गर्ने अवसर पाएको छैन । मलाई व्यवसायीहरुले नेतृत्वमा पुगेर काम गर्न भनेका छन्’ सहन प्रधानले भने, ‘नारायणी नदी किनारमा सोलार बत्ती जडान गर्दा म संयोजक भएर काम गरेको थिएँ ।

वस्तुगत सङ्घ र उवासंघको सम्बन्धलाई सुमधुर बनाएको थिएँ । सुन्दर बजार बनाउन मैले भूमिका निभाएको थिएँ ।’ उनले आफ्नो लामो अनुभव नेतृत्वमा पुगेर देखाउन नपाएको हुँदा व्यवसायीहरुले नेतृत्वमा पु¥याउने दाबी गरे ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *