नयाँ शक्तिको महाधिवेशन आयोजक समितिको बैठक शुरु

पुस १८, पोखरा । नयाँ शक्ति नेपालको महाधिवेशन आयोजक समितिको तीन दिने बैठक कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकाको ल्वाङघलेलमा आजबाट शुरु भएको छ । उक्त बैठकको पार्टी संयोजक डा. बाबुराम भट्टराईले उद्घाटन गरेका छन् ।

विकास र समृद्धिको नारा बोकेर मुलुककै ठूलो पार्टी बन्ने मनोकाँक्षाका साथ चुनावमा होमिएको नयाँ शक्ति पार्टीले चुनावमा पराजित हुनुकाकारणहरु बारे यस बैठकमा समीक्षा हुने बताइएको छ । बैठकले हालै सम्पन्न भएका तीनै चरणको चुनावमा पार्टी पराजयका कारणहरु खोजी गर्ने बताइएको छ।

त्यसैगरी यस बैठकले नयाँ शक्ति नेपाल पार्टीको प्रथम महाधिवेशनको मिति तय गर्ने र बैठक सकिए लगत्तै केन्द्रीय परिषद् बैठक बस्ने नयाँशक्ति कास्कीका संयोजक हेमबहादुर थापा आमोदले जानकारी दिए । उक्त केन्द्रीय परिषद् बैठकका एजेण्डाहरुलाई यही महाधिवेशन आयोजक समितिको बैठकले तय गर्ने छ।


बैठक सम्पन्न भएपश्चात् बैठकले गरेका निर्णयहरु बारे जानकारी दिन सो पार्टीले बैठकस्थल ल्वाङमा नै पत्रकार सम्मेलन गर्ने जानकारी दिएको छ। बैठकमा करीब दुईसय जना महाधिवेशन प्रतिनिधि एवं विभिन्न पदाधिकारीहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *