प्रहरी महानिरीक्षक प्रकाश अर्यालबाट नेपाल प्रहरी अस्पताललाई थैली हस्तान्तरण

काठमाडौं, १७ असार । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाबाट नेपाल प्रहरी अस्पताल महाराजगंजलाई उपलब्ध १ करोड २५ लाख रुपैयाँको थैली शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच उक्त अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेललाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक अर्यालले अवकाश प्राप्त प्रहरी कर्मचारी र तिनका परिवारको संख्या तथा औषधी उपचारको मुल्य प्रत्येक वर्ष बढ्दै गएको अवस्थामा प्रहरी कल्याण कोषबाट प्रदान गरिने रकममा समेत उचित बृद्धि गरिएको बताउनुभयो । स्वास्थ्य उपचारको सन्दर्भमा पैसा भन्दा पनि कति गुणस्तरीय सेवा दिन सकियो, तल्लो तहका कर्मचारीलाई कति सन्तुष्टी दिन सकियो भन्नेमा अस्पतालले विशेष ध्यान दिई अझै गुणस्तरीय सेवा प्रदान गर्न अस्पताल प्रशासनलाई उहाँले निर्देशन समेत दिनुभयो ।

नेपाल सरकार र प्रहरी संगठनले अस्पतालको सेवा, साधनस्रोतमा गरेको खर्चतर्फ ध्यान दिई सोही अनुरुपको प्रतिफल आउनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक अर्यालले राष्ट्र र जनताको सेवामा अहोरात्र खटिने प्रहरी कर्मचारीको स्वास्थ्य जस्तो संवेदनशील सेवामा खटिने अस्पतालका स्वास्थ्यकर्मीहरुले समपर्णभाव र कर्तव्यनिष्ठ भई सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । अस्पतालको बिकास र सुधारका लागि आफू निरन्तर प्रयासरत रहिरहने समेत उहाँले उल्लेख गर्नुभयो । उक्त अवसरमा अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेलले नेपाल सरकारबाट अस्पताललाई प्राप्त रकम प्रहरी कर्मचारीको नियमित स्वास्थ्य उपचारमा खर्च गरिने तथा कल्याण कोषबाट प्राप्त रकम अस्पतालको कल्याण कोेषमा जम्मा गरी पूर्व प्रहरी कर्मचारी तथा तिनका परिवारको सेवामा खर्च गरिने जानकारी दिनुभयो ।

प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाले उक्त अस्पताललाई प्रत्येक वर्ष निश्चित रकम उपलब्ध गराउँदै आएकोमा यस वर्ष २५ लाख रुपैयाँ थप गरिएको सो अवसरमा जानकारी गराइयो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक सर्बेन्द्र खनालले धन्यबाद ज्ञापन गर्नुभएको सो समारोहमा प्रहरी नायव महारिनिरीक्षकहरु लगायत बरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *