सात वर्षदेखि बेपत्ता युवक खोजिदिन आग्रह

राजविराज, १७ असार । सप्तरी जिल्लाको पूर्वी भेगमा पर्ने साबिक जोगिनियाँ गाविस हाल हनुमानगर कङ्कालनी नगरपालिकाका एक युवक सात वर्षदेखि बेपत्ता भएका छन् । आफ्नै बुबासँग सामान्य विवाद भएपछि सात वर्ष अगाडि घरबाट निस्केका हनुमानगर कङ्कालनी– २ सकरदही निवासी लक्ष्मण मैरता यादवका १९ वर्षीय जेठो छोरा सञ्जय हालसम्म घर नफर्किँदा परिवारका सदस्य चिन्तित भएका छन् । आफ्नो छोराको अहिलेसम्म कुनै अत्तोपत्तो नलागेकाले मनमा विभिन्न किसिमको शङ्का उत्पन हुने भएको र परिवारजनमा चिन्ता लागेको लक्ष्मणले बताउनुभयो ।

सामान्य विवादपछि घरबाट निस्केका सञ्जयले छ महिनापछि एउटा सानो कागजमा लेखेको चिठी प्राप्त भएको थियो, जसमा लेखिएको छ “म विराटनगर उपमहानगरपालिका–१४ मा बस्दै आएको छुु, तपार्इँहरुले मेरो कुनै चिन्ता लिनु पर्दैन, म यहाँ सञ्चै छु । ” चिठी प्राप्त भएपछि उनको परिवारका सदस्यसहितले उक्त ठाउँमा खोजतलास गर्दा पनि सञ्जयको अत्तोपत्तो नभएको परिवारजनले बताएका छन् । सो विषयमा स्थानीय प्रहरीलाई जानकारीसमेत गराइए पनि हालसम्म पत्ता लागेको छैन ।

दुई बालिका हराए

हनुमाननगर कङ्कालनी–१ बाट डेढ महिनाअगाडि घरबाट निस्केका दुई बालिका हालसम्म घर फर्किएका छैनन् । सोही नगरपालिका–१ भारदह निवासी दुःखी खड्गाकी १३ वर्षीया छोरी पारो र सात वर्षीया छोरी सरोकुमारी घरमा सामान्य विवाद हँुदा आवेशमा आएर घरबाट निस्केको तर अहिलेसम्म घर नफर्केकाले परिवारजनमा चिन्ता छाएको छ ।

स्थानीय विद्यालयमा कक्षा ९ मा अध्ययन गर्दै आएकी पारो वार्षिक परीक्षामा अनुत्तीर्ण भएको र घरका सदस्यले ‘किन फेल भइस्’ भनेपछि सामान्य विवादका कारण घरबाट निस्केका ती दुवै बालिकालाई एक महिनादेखि जति खोजे पनि भेट्न नसकिएको उनका बुबा खड्गाले बताउनुभयो । बेपत्ता भएका आफ्ना छोरा तथा बालिकाकोे खोजतलास गरिदिनका लागि यादव र खड्गाले मानवअधिकारकर्मी, सञ्चारकर्मी, नागरिक समाज, सम्बन्धित निकायलगायत प्रहरी प्रशासनलाई आग्रह गरेका छन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *