बायडाँडामा दृश्यावलोकन स्तम्भ निर्मित

वालिङ, १७ असार । चापाकोट नगरपालिका–१० बायडाँडामा दृश्यावलोकनका लागि स्तम्भ निर्माण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत क्षेत्रीय कार्यालय पोखराको क्रमागत योजनामा स्तम्भ निर्माण भइरहेको छ । “स्थानीयले एक रोपनी १३ आना जग्गा चापाकोट नगरपालिकाको नाममा निःशुल्क जग्गा उपलब्ध गराएपछि निर्माण थालिएको हो” धनसा पर्यटकीयस्थल निर्माण समितिका सचिव गोपी भट्टराईले भन्नुभयो, “हालसम्म रु ४१ लाख खर्चमा उक्त भ्यू टावरको भित्री काम सकिएको छ ।”

चार तला अग्लो रहेको उक्त स्तम्भको टुप्पामा पुग्न तीन सय ६५ सिँढी निर्माण गरिएको छ । “निर्माण कार्य अन्तिम चरणमा छ, अब रङरोगन र स्टिलको रेलिङ लगाउने काम भइरहेको छ” समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले भन्नुभयो, “यस क्षेत्रलाई तारबार गर्दै वनभोजस्थल र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने गरी पूर्वाधार निर्माण गर्ने तयारीमा छौँ ।”

स्तम्भ निर्माणका लागि क्षेत्रीय पर्यटन कार्यालय पोखराबाट पहिलो किस्ता रु २० लाख प्राप्त भएकामा काम पूरा हुन नसकी रु चार लाख फ्रिज गएको थियो । दोस्रो किस्ता रु २५ लाख गरी कुल रु ४१ लाखको लागतमा निर्माण जारी छ । स्तम्भबाट चापाकोट नगर तथा पाल्पाको रामपुर नगरपालिकाका सबै भूभागसहित नवलपरासी, तनहुँ, गुल्मी र पर्वतका केही भेगको दृश्यावलोकन गर्न सकिन्छ । चापाकोट नगरपालिकाले सो पर्यटकीयस्थलसम्म पुग्नका लागि पदमार्ग निर्माणमा रु तीन लाख लगानी गरेको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *