आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस

काठमाडौँ, पुस १७ । सन् २०१८ काे पहिलाे दिन अर्थात जनवरी १ तारिख। पाँचौ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्य रुपमा मनाइँदैछ। विगतका वर्षहरुमा जस्तै यो वर्षपनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अंग्रेजी नयाँ वर्षलाई अझै विशेष बनाउने तयारी भइरहेका छ।

अन्तर्राष्ट्रिय रुपमा नेपालीपनको प्रवर्द्धन गर्ने र देशभित्र पनि आफ्नो संस्कृतिको प्रवर्द्धन र प्रसार गर्न मद्दत पुर्याउने उद्देश्यले टाेपी दिवस मनाउन लागेकाे कार्यक्रमका संयोजकद्वय डा. लेखनाथ काफ्ले र शंकर बञ्जाडेले जानकारी दिएका छन्।

नेपाली टोपी नेपाली र नेपालीमूलका नागरिक भएका सबै देशहरुमा समग्र नेपालीहरुको साझा र मौलिक पहिचानको चिन्हका रुपमा स्थापित छ। शताब्दीऔंदेखि प्रयोग भइरहेका विभिन्न प्रकारका नेपाली टोपीहरुको प्रयोगलाई अझै व्यापक र विश्वमय बनाउने उद्देश्यले सन् २०१४ काे जनवरी १ बाट संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएकाे डा. काफ्ले बताउँछन्।

नेपालमा धेरै प्रकारका टोपी प्रयोग भएपनि भादगाउँले, ढाका र परम्परागत नेपाली टोपी मुख्य हुन्। त्यसबाहेक विभिन्न जातजातिको आफ्नै टोपी पनि छन्। अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसमा आफ्नो–आफ्नो क्षेत्र, जाति–जनजातिले आफ्नै टोपी वा टाउकोमा लगाउने आ–आफ्ना मौलिक पोशाक लगाएर मनाउन सकिने छ।

‘१ जनवरीका दिन आ–आफ्नो स्थान र अवस्थाअनुसार नेपाली टोपी लगाऔं, फोटो खिचौं अनि नेपाली टोपी दिवसको फेसबुकमा अपलोड गराैं’ – संयाेजकद्वय काफ्ले र बञ्जाडेले अाग्रह गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *