राष्ट्रपति, प्रधानमन्त्री र एमाले अध्यक्षद्धारा तमूल्होसार पर्वका अवसरमा शुभकामना

काठमाडौं, पुस १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले तमूल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली तमू गुरुङ समुदायमा सुख, शान्ति, समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।  तमूल्होसारका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले नेपालमा विभिन्न जातजातिले मनाउने विभिन्न चाडपर्वहरुले विश्वमा नेपालको छुट्टै पहिचान बनाएको बताउँदै तमू ल्होसार जस्ता राष्ट्रिय पर्वहरुले हिमाल, पहाड, तराइ र मधेसमा बस्ने सबै नेपालीबीच वन्धुत्व र एकताको भावना बढाउन मद्दत गरेका उल्लेख गर्नुभएको छ ।

तमू गुरुङ्ग समुदायको यस पर्वले सबैमा उत्साह र उमङ्ग कायम गरी नेपालीबीच आपसी सहिष्णुता कायम गर्दै आर्थिक र सामाजिक रुपले समृद्ध मुलुकको निर्माण गर्न सबैमा प्रेरणा मिलोस् भन्ने कामना गर्दै राष्ट्रपतिले यस्ता संस्कृति र चाडपर्वले नेपालको चिनारी विश्वसामु प्रस्तुत हुन मद्दत पुगेको बताउनुभएको छ ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले तमु ल्होसारका अवसरमा सम्पूर्ण गुरुङ समुदायप्रति शुभकामना व्यक्त गर्दै ल्होसार जस्ता चाडपर्वले सामाजिक एकता, सद्भाव र धार्मिक सहिष्णुता कामय राख्ने बताउनुभएको छ ।  आज दिनुभएको सन्देशमा उहाँले बुहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त हाम्रो देशमा यस्ता मौलिक पर्वको ठूलो महत्व रहेको बताउँदै यस्ता पर्वले नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली तमु गुरुङ समुदायमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

तमु ल्होसारका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री देउवाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त हाम्रो देशमा यस्ता मौलिक पर्वको ठूलो महत्व रहेको उल्लेख गर्नुभएको छ ।

साथै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुरुङ जातिको महान् पर्व तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण गुरुङ समुदायमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

“नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक देश हो, गुरुङ समुदायले तमु ल्होसारलाई नयाँ वर्ष आरम्भ दिनका रुपमा समेत मनाउने गरेका छन् । यस समुदायको मौलिक नयाँ वर्षका रुपमा समेत सम्पूर्ण गुरुङ समुदायको सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछु”–अध्यक्ष ओलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष ओलीले विज्ञप्तिमार्फत एक जातिको चाडपर्वमा अर्को जातिले पनि रमाइलो गर्नु, ती चाडपर्व आफूले अंगीकार गर्नु नेपालीको मौलिक विशेषता हो भन्नुभएको छ । अध्यक्ष ओलीले हालैको निर्वाचनमा जनताले वाम गठबन्धनलाई स्पष्ट बहुमत दिएर देशलाई स्थिरता र विकासमा अघि बढाउने जिम्मा दिएको र त्यो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *