‘तीन तलाक’ प्रथाविरुद्धको विधेयक भारतीय संसदबाट पारित

नयाँ दिल्ली, पुस १४ । भारतको संसदले मुस्लिम समुदायमा रहेको ‘तीन तलाक’ भन्नेबित्तिकै पति–पत्नीबीच सम्बन्ध विच्छेद हुने प्रथाविरुद्धको विधेयक पारित गरेको छ ।

मुस्लिम महिला विवाह अधिकार संरक्षण नामक विधेयक निकै लामो बहसपछि संसदको तलो सदन प्रतिनिधिसभाले पारित गरेको हो । सरकारले पेश गरेको विधेयकविरुद्ध परेका सबै संशोधन संसदले अस्वीकृत गरेको थियो ।

अब यो विधेयक माथिल्लो सदन राज्य सभामा पेश गरिने छ । राज्य सभाले पनि विधेयक पारित गरेपछि कसैले कानून पालना नगरी तलाक दिएमा तीन वर्षको जेल सजायँ हुने व्यवस्था गरिएको छ ।

यसअघि भारतीय सर्वोच्च अदालतले यो प्रथा असंवैधानिक रहेको भन्दै नयाँ कानून बनाउन सरकारलाई निर्देशन दिएको थियो । मुस्लिम समुदायमा पतिले ‘तलाक, तलाक, तलाक’ भनेमा सम्बन्ध विच्छेद हुने प्रथा रहेको र यसले आम मुस्लिम महिला पीडित हुने गरेको भन्दै कानून बनाउन अदालतले निर्देशन दिएको थियो ।

यो कानूनले भारतीय उपमहाद्वीपमा रहेका सबै मुस्लिम समुदायमासमेत प्रभाव पर्ने आंकलन गरिएको छ । (एजेन्सी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *