“””एकथोक बिरामी भएर अस्पताल आयो अर्कैथरी रोग”””

झापा, १६ असार । जिल्लामा सञ्चालित विभिन्न अस्पतालले उपचार गर्ने बहानामा प्रयोगात्मक परीक्षण गर्ने गरेको बिरामी र उनीहरुका आफन्तले आरोप लगाएका छन् । ‘एकथोक बिरामी भएर अस्पताल आयो अर्कैथरी रोग’ देखाएर अनावश्यक चेक जाँचका नाममा चिकित्सकले ब्रम्हलुट मच्चाएको उनीहरुको आरोप छ । बिरामी र तिनका आफन्तले बिर्तामोडमा पत्रकार सम्मेलन गरी सामान्य रोगको लक्षण देखिएर अस्पतालमा उपचारका लागि आए परीक्षणका नाममा हुँदै नभएका उपकरणबाट रोग परीक्षणका लागि भन्दै बिल काट्न लगाउने र अनावश्यक चेकजाँच गर्ने गरेको आरोप लगाएका छन् ।

मोरङको भौंडाहाका ३० वर्षीय जयराम सरदारले आफ्ना ससुरा ५० वर्षीय फुलेन सरदारलाई बिर्तामोडको एक अस्पतालमा भर्ना गर्दा चेकजाँचका नाममा अनेकथरी जाँच गर्न लगाएको र एक थोक रोग हुँदाहुँदै अर्कै थोक रोगको उपचार गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो–“मेरा ससुरा फुलेनको दाहिने हातको चारवटा औंला काटिएकोमा अहिले उपचारार्थ विराटनगरको नोबेल अस्पतालबाट झापा ल्याए । उपकरण नभएपछि नोबेलकै सल्लाहमा अहिले उहाँको बिएन्डसीमा राखेर उपचार गर्दैछु ।”

बिर्तामोडका कनकाई, मनमोहन, बिर्तासिटी, कञ्चनजङ्घा अस्पतालले अनावश्यक चेकजाँचका नाममा शुल्क लिने गरेको बिरामीको आरोप छ । इलामको नयाँ बजारका ५९ वर्षीय लीलाबहादुर निरौलालाई बिर्ता सिटी अस्पतालले नशा सुकेको भनी औषधि खान दिएको आफन्तको आरोप छ । “पटक पटक अस्पताल धाउँदा पनि सुधार भएन,” निरौलाकी छोरी सीताले भन्नुभयो । “सिटी स्क्यान, एमआरआईलगायत परीक्षण गर्दा पनि रोग पत्ता नलागेपछि बिर्तामोडको बिएन्डसीमा आएर परीक्षण गराउँदा उहाँलाई ट्युमर भएको पाइयो,” उहाँले भन्नुभयो ।

बिर्तामोडको बिएन्डसी अस्पतालमा अत्याधुनिक प्रविधिसहितको ७२ जना दक्ष चिकित्सकले सेवा प्रदान गरिरहेका छन् । बिरामीको अत्याधिक चाप रहेको सो अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंले बताउनुभयो । आफ्नै वरिपरीका अस्पतालले यहाँको उच्च प्रविधिको उपयोग गरी बिरामीलाई उपचार गर्नुपर्नेमा बिराटनगर, धरान, भारतको सिलगुडीलगायत ठाउँमा पठाउने गरेका उहाँको भनाइ छ ।

पछिल्लो समय बिएन्डसी मेडिकल कलेज, टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर पूर्वकै रिफरल अस्पतालको रुपमा विकसित हुँदै गएको छ । पूर्वका अन्य निजी अस्पतालभन्दा प्राविधिक तथा जनशक्तिका हिसाबले उच्च क्षमतायुक्त सो अस्पतालमा विराटनगरको मोडल, न्यूरो अस्पताल तथा धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट समेत बिरामी पठाइने गरेको पाइएको छ । बिर्तामोडकै अन्य अस्पतालमा उपचारार्थ भर्ना भएका बिरामीलाई स्थानीय अस्पतालले सेवा सुविधाबारे जानकारी हुँदाहुँदै पनि धरान, विराटनगर तथा भारतको विभिन्न ठाउँका अस्पतालमा पठाएर बिरामीलाई सास्ती दिने गरेको पाइएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *