स्वास्थ्य बिमा गरेका बिरामीले वीर अस्पतालमा उपचार गराए

काठमाडौँ, १६ असार । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान, वीर अस्पतालबाट स्वास्थ्य बिमा गराएका ५८ बिरामीले सेवा लिएका छन् । सबैभन्दा पहिले स्वास्थ्य बिमा सुरु भएको कैलाली जिल्लाबाट उपचार गराउन आउने बिरामको सङ्ख्या उल्लेख्य भए पनि इलाम, पाल्पा, कास्की, बागलुङलगायतका जिल्लाबाट आएका बिरामीले पनि सेवा लिएका छन् । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले पहिलोपल्ट वीर अस्पतालसँग गत वर्ष असार १२ गते बिमा गराएका बिरामीका लागि उपचार गर्न सम्झौता गरेको थियो ।

एक वर्षको अवधिमा उपचार गराएका बिरामीको वीरले रु तीन लाख ४२ हजार १७९ समितिसँग शोधभर्ना माग गरेको छ । माग गरिएको रकममध्ये रु दुई लाख ७२ हजार ७६ अस्पतालले पाइसकेको छ । वीर अस्पतालका अधिकृत टीकाराम पनेरुका अनुसार सम्झौतापछि कैलालीका भीमबहादुर खड्काको पहिले उपचार गरिएको थियो । हर्निया, मिर्गौला, मधुमेह, थाइराइडलगायत रक्तचापको उपचारका लागि धेरै बिरामी आउने गरेको वीर अस्पतालले जनाएको छ ।

स्वास्थ्य बिमाका सदस्य बनेका बिरामीले आफ्नो पायक पर्ने नजिकका अस्पतालमा उपचार सम्भव नभए वा चिकित्सकको सल्लाहका आधारमा ठूला अस्पतालमा उपचार गर्न पाइने व्यवस्था छ तर चिकित्सकको सल्लाहबिना उक्त बिरामीको उपचार स्थानीय वा नजिकको स्वास्थ्य केन्द्रमा सम्भव हुँदाहुँदै केन्द्रका ठूला अस्पतालमा उपचार गराउन चाहेमा भने बिमा कार्यक्रमबाट ५० प्रतिशतमात्र सेवा लिन सकिनेछ ।

वीर अस्पतालबाहेक शिक्षण अस्पताल महाराजगञ्ज, गङ्गालाल, मानसिक रोग अस्पताल, मानवअङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर, निजामती अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, प्रसूति गृहलगायतमा पनि उपचार गराउन सकिनेछ । सरकारले स्वास्थ्यलाई सबै जनताको पहुँचमा पु¥याउन २०७२ चैत महिनादेखि कैलालीबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको थियो । हाल यो कार्यक्रम १२ जिल्लामा लागू भइसकेको छ ।

स्वास्थ्य बिमामा सहभागीले बिमा फाराम भर्दा नै कहाँ उपचार गराउने हो, त्यो स्वास्थ्य संस्थाको नाम उल्लेख गर्नुपर्छ । त्यसैअनुसार स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल, अञ्चल अस्पताल, क्षेत्रीय अस्पताल हुँदै केन्द्रीय अस्पतालसम्म उपचार गराउन पाउने व्यवस्था गरिएको छ । समितिका कार्यकारी निर्देशक डा गुणराज लोहनीले पहिलो बिन्दू प्राथमिक स्वास्थ्य केन्द्र तोकेको र त्यहाँबाट नहुने भएमा मात्रै त्यसमाथिका अस्पतालमा गई सेवा लिन पाउने बताउनुभयो । ‘‘एकैपटक माथिल्लोस्तरको अस्पतालमा गयो भने त्यसमा पाउने सहुलियतमा कटौती हुनेछ’’ – उहाँले भन्नुभयो ।

स्वास्थ्य बिमामा सहभागी हुने व्यक्तिले वार्षिक रु ५० हजारसम्मको उपचार गर्न पाउने व्यवस्था सरकारले गरेको छ । पाँचजना सदस्य भएका परिवारले बिमाका लागि फाराम भर्दा वार्षिक रु दुई हजार ५०० प्रिमियम तिर्नुपर्छ । पाँचभन्दा बढी परिवारका सदस्य छन् भने प्रतिसदस्य रु ४५० थप तिर्नुपर्छ र उसको परिवारले थप १० हजार बढी रकम बराबरको उपचार सहुलियत पाउँछ । यो रकम प्रायः सबैखाले रोगको उपचारमा प्रयोग हुन्छ । तर, सरकारले पहिले नै निःशुल्क गरेको रोगको उपचार भने यथावत् रहने बताइएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *