आखिर यस्तो दुर्व्यवहार कहिलेसम्म ?

एकाबिहानै अस्पताल जानुपर्ने थियो । सीमाक्षेत्रका बासिन्दाका लागि औषधि उपचार गर्न भारतीय अस्पतालमा भर पर्नुपर्ने बाध्यता छ । सोही सिलसिलामा भारतको पलिया कला खिरी तर्फ लागेको थिए ।

भारतका विभिन्न सहरबाट मजदुरी गरेर फर्केका मजदुर नेपालीहरूका नेपाल भारत सिमाबर्ती क्षेत्रमा लामो लर्को थियो । भारतीय प्रहरीले प्रत्येक नेपाली मजदुरबाट भारु २० देखि १००० रुपैयाँ सम्म असुल गरिरहेका थिए । कोहीसँग सामान धेरै थियोे भने कसैसँग एउटा काने झोला मात्रै थियो ।

सामान होस् या नहोस् त्यहाँ प्रत्येक व्यक्तिले भारतीय प्रहरीलाई लाई घुस दिनै पर्छ, नदिए उनीहरूको यातना खेप्न तयार हुनु पर्छ । उनीहरू पैसा नदिए उल्टै थुनि दिने धम्की पनि दिँदा रहेछन् ।

यता वारि पट्टि बसेका नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु भने चिया पिउदै गफिंदै थिए । कोही हातमा पत्रिका लिएर पढ्दै थिए । उनीहरू पारिपट्टि घुस लिइरहेको पनि देखि रहेका थिए । आफ्नै आँखा अगाडी नेपाली माथि ज्यादती भैरहँदा पनि उनीहरू चुप लागेर टुलुटुलु हेर्दैथिए । यो उनीहरूको नियमित प्रक्रिया रहेछ । भारतीय सीमा अधिकारीहरूले अनावश्यक रकम असुल गरिरहेको अवस्थामा नेपाली प्रशासनले त्यसलाई रोक्न कुनै सक्रियता देखाएको छैन । यस्तो अवस्थाका कारण भारतीय प्रहरीलाई झन् प्रोत्साहन मिल्ने गरेको छ ।

वर्षभरि कमाएको सानो रकम ल्याएर वर्षको एक चाडबाड मनानउन घर फर्कने नेपालीहरुबाट भारतीय सुरक्षाकर्मीहरुले कम्तीमा पनि २० भारु देखि एक हजार रुपैयासम्म रकम लिने गर्दछन् । भारतीय कष्टमकर्मीहरुका लागि नेपालीले घर फर्किने दसैँ दीपावली बिशु र माघे सक्रान्ति वर्षभरीको राम्रो कमाई गर्ने अवसर रहेछ । भारतका विभिन्न सहरहरूमा मजदुरी गरी कमाएको रकमको धेरै हिस्सा सीमा क्षेत्रमा बसेका र भारतका सुरक्षाकर्मीहरुलाई वुझाउनुपर्ने बाध्यता वर्षाैंदेखि चलिरहेछ । तर, सम्बन्धित सरोकारवाला भने कानमा तेल हालेर बसेका छन् ।

सीमा क्षेत्रमा भारतीय कष्टकर्मीहरुले असुल गर्दै आएपनि नेपाल प्रहरीले त्यसलाई रोक्नुको सट्टा तमशा हेर्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) अर्जुन चन्द भने सीमा नाकामा हरेक दिन पुगेर त्यहाँका प्रहरीलाई नेपाली लुटिन नदिन कडा निर्देशन दिने गरेको दाबी गर्छन् ।

यस्तो रकम असुली हरेक चाडपर्वका बेलहुने गरेकाले भारतीय सुरक्षाकर्मीलाई कारबाही गर्न नसकिएपनि नेपाली सुरक्षाकर्मीलाई भने कुनै यस्ता गतिविधि गरे नछोडिने कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । सीमा क्षेत्रको ज्यादती र असुली वर्षौदेखि चल्दै आएको छ । दुवै देशका अधिकारीहरू बिचमा सीमा बैठकमा यो मुद्दा उठ्ने गरे पनि, भारतीय कष्टमकर्मीले यसलाई कहिल्यै पनि पालना गरेका छैनन् । प्रशासनले आफ्ना नागरिक लुटिन नदिन कडाई गर्ने, सञ्चारमाध्यमले नियमित अनुगमन गर्ने अनि स्थानीय जनताले पनि दबाब दिने र स्वयम् भारतबाट फर्कने नेपाली मजदुरहरू पनि सचेत भइदिए यस्तो लुटपाट कम हुन्थ्यो की ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *