नगर सभाको तयारीमा जुट्यो भरतपुर महानगर


“
भरतपुर, पुस १३ । भरतपुर महानगरपालिका नगर सभाको तीव्र तयारीमा जुटेको छ । यसअघि नै गर्ने भनिएको नगरसभा प्रतिनिधि तथा प्रदेशसभाको चुनावका कारण पर धकेलिएको हो ।
महानगरपालिका यही पुस २१ गते २३ गतेसम्म नगर सभाको तयारीमा जुटेको छ । महानगरपालिकाले ३ अर्बभन्दा बढीको बजेट ल्याउने योजनालाई अघि बढाएको छ । दीर्घकालीन नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ । महानगरपालिका बजेट, नीति तथा कार्यक्रमको सुझाव संकलन कार्यमा जुटेको छ । महानगरपालिकाले २९ वडाको वस्तुगत अवस्था सबै संकलन गरेको छ । महानगरपालिकाले यसअघि नै वडाहरुमा सुझाव संकलन गर्नको लागि छलफल कार्यक्रम चलाइसकेको छ ।
भरतपुर महानगरपालिकाले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीबाट सुझाव लिएको छ । यसअघि विज्ञहरु तथा चितवनका सांसदहरुबाट महानगरपालिकाले नगर सभाको लागि सुझाव संकलन गरेको थियो । महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिका वृहत गुरु योजनासहित तीव्र विकासको गतिका साथ सम्मृद्धिको यात्रामा अगाडि बढ्ने महत्वाकांक्षी योजना लिएको हुँदा सहयोग र सुझाव संकलन कार्यलाई तीव्रता दिएको बताइन् ।
भरतपुर महानगरलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दीर्घकालीन योजना बनाएर अघि बढ्न सुझाव दिएका छन् । प्रचण्डले भरतपुर महानगर धेरै सम्भावना बोकेको नगर भएकाले योजना बनाउँदा शुक्ष्म कुराहरुलाई केलाउँदै दीर्घकालीन योजना बनाउन अनुरोध गरेका थिए ।
भरतपुर महानगरपालिका सम्भावनाले भरिएको हुनाले यसको दिगो र आत्मनिर्भर विकासका वृहत् गुरुयोजना निर्माण गर्न उनले सुझाव दिए । दाहालले भने, ‘योजना बनाउनुहोस् सरकारलाई झकझक्याउने काम म गर्छु ।’ महानगरले योजना बनाउँदा रिङ्रोड र लिङ्करोड निर्माण र सडक विस्तारसँगै कालोपत्रेलाई समेत ध्यान दिन आवश्यक रहेको उनको सुझाव थियो । महानगरको अधिकांश क्षेत्र आफ्नो निर्वाचन क्षेत्रमा पर्ने बताउँदै अध्यक्ष दाहालले नारायणी नदीमा ती स्थानमा पुल निर्माण गर्ने र यसले जिल्लाको सम्पर्कसँगै विकासमा कायपलट गर्ने बताए ।
दाहालले सडक कालोपत्रे, आमजनताको माग रहेकाले यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्न महानगरलाई सुझाव दिएका थिए । नारायणी र राप्ती नदीको तटबन्धनसहित जंगली जनावर र मानवबीचको द्वन्द्व रोक्न बालसहितको मेस जालीको व्यवस्थासहितको योजना निर्माण गर्न महानगरलाई आग्रह गरेका थिए ।
राष्ट्रियस्तरको रंगशाला, पर्यटनको तीव्र विकास, औद्योगिक क्षेत्रको स्थापना गरी रोजगारी कृषिको आधुनिकीकरण गर्ने ठोस योजना तर्जुमा गरी अघि बढ्न सुझाव दिए । योजना आयोगका पूर्वउपाध्यक्ष प्राडा पीताम्बर शर्माले भरतपुर महानगरलाई ठोस योजनाहरु बनाउन सुझाव दिएका थिए । पर्यटकीय पूर्वाधारलाई अघि बढाउन उनले सुझाव दिए । डा. शर्माले इच्छाशक्ति भए असम्भव भन्ने कुनै चिज नरहेको भन्दै दिगो र सन्तुलित विकास सम्मृद्धिमा अघि बढ्न महानगरलाई सुझाव दिएका थिए ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलिया, भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालयका सचिव देवेन्द्र कार्की, कृषि मन्त्रालयका सचिव डा सुरोज पोख्रेल, शहरी विकास मन्त्रालयका सचिव शिवहरि शर्माले महानगरलाई विकासमा अघि बढ्न सुझाव दिएका थिए । पूर्वाधार विज्ञहरु शिक्षा, सहरी विकास, यातयात, वातावरण, सामाजिक सुरक्षालगायतका क्षेत्रका विज्ञहरुले सुझाव दिएका थिए । भरतपुर महानगरले मंगलबारदेखि सुझाव संकलन कार्यलाई तीव्रता दिएको छ ।
“
