सिरहामा पाँच प्रतिशत मात्र धान रोपाइँ

लहान, १६ असार । लामो समयदेखि वर्षा नभएपछि असार १५ वितिसक्दा पनि सिरहामा ९५ प्रतिशत जग्गामा अझै धान रोपाइँ हुनसकेको छैन् । लामो समयदेखि वर्षा रोकिएको तथा सिँचाइको सुविधासमेत नभएका कारण असार १५ सम्ममा करिब पाँच प्रतिशत मात्र रोपाइँ हुनसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यसवर्ष ढिलोगरी धानको बेर्ना तयार भएको र समयमा वर्षा पनि नभएकाले अत्यन्तै कम धान रोपाइँ हुनसकेको कार्यालयका प्रमुख रामचन्द्र यादवले जानकारी दिनुभयो ।

असारको १५ सम्ममा धान रोपाइँ सकेर किसान आराम गर्नुपर्नेमा अहिलेसम्म पाँच प्रतिशत मात्र रोपाइँ भएको उहाँले बताउनुभयो । वर्षा नभएपछि अहिले किसान पानी तान्ने मोटर तथा अन्य वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर रोपाइँ गरिरहेका छन् भने अधिकांश किसान अझै आकासे पानीको प्रतिक्षमा छन् । यस्तै मजदुरको आभावमा पनि बर्सेनि धानखेती प्रभावित हुदै आएको छ । एकातिर सिँचाइको अभाव अर्कोतिर आवश्यकता अनुसार कृषि मजदुर नपाइने गरेकाले धान रोपाइँमा समस्या हुनेगरेको किसानको गुनासो छ । यहाँ भदैया, चैते र वर्षे गरी तीन किसिमका धान उत्पादन हुँदै आएको छ ।

जिल्लामा कुल कृषियोग्य क्षेत्रफल ७३ हजार ९१३ हेक्टर क्षेत्रफलमध्ये ६० हजार ७५७ हेक्टर जमिनमा धानखेती हुँदै आएको उक्त कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *