पानी बग्ने नाला घडेरीको रुपमा लाखौंमा किनबेच

धनगढी, पुष १२ । कैलालीको घोडाघोडी नगरपालिका भित्रका सार्वजनिक खोलानाला, तथा सार्वजनिक जग्गा अतिक्रमण पछिल्ला दिनमा चर्को हुँदै गएको छ । नगरपालिकाको वडा नम्बर ६, वछुरिया लगायतका ठाउँमा सार्वजनिक जग्गा अतिक्रमण निकै बढेको स्थानीयले बताएका छन् ।

सुखड बजारको छेउमा रहेको नाला अतिक्रमण गरेर प्रतिकठ्ठा २१ लाखदेखि ५५ लाख रुपैयाँ मूल्यमा बिक्री भइरहेको छ । त्यस्तै, खोलानालाको किनारमा पर्खाल निर्माण गर्ने, नाला अवरुद्ध गर्ने तथा पक्की घर निर्माण समेत हुने गरेका छन् ।

नगरभित्रका खोलानालाहरू अतिक्रमण गरेर सडक निर्माण समेत हुने गरेको छ । खोलानाला अतिक्रमणका कारण डुबानको समस्या बृद्धि भएको छ । स्थानीयले अतिक्रमण नियन्त्रण गर्न सरोकारवाला निकायसँग बारम्बार आग्रह गर्दा कुनै सुनुवाई नभएको गुनासो गरेका छन् । पानी बग्ने नाला अतिक्रमण हुँदा बर्सेनि डुबानको समस्या भोग्नु परेको भन्दै स्थानीय बासिन्दा तथा व्यावसायीहरूले घोडाघोडी नगरपालिकासँग माग गरेका छन् ।

घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीले नगरपालिका क्षेत्रमा रहेको सबै जग्गाको लगत लिएर अतिक्रमित जग्गा व्यवस्थित गर्ने बताए । ‘कुन स्थानमा कस्तो प्रकृतिको जग्गा रहेको छ र के–कति जग्गा अतिक्रमण भएको छ भन्ने तथ्यांक लिएर अतिक्रमण हटाउने तथा व्यवस्थित पार्ने काम शुरु भएको छ’ नगर प्रमुख चौधरीले भने– ‘केही दिनभित्रै नगरपालिका क्षेत्रमा रहेका जग्गाको लगत दिने काम अघि बढाइनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *