राजपाले समानुपातिक स्थान बाँडफाँट टुङ्गो लगाउँदै

“
काठमाडौं, पुस ११ । राजपा नेपालले प्रदेशसभाअन्तर्गत समानुपातिक स्थान बाँडफाँट टुङ्गो लगाउँदैछ । नेतृत्वले पार्टीमा योगदान गरेका भन्दा पनि आफन्त र नजिककालाई सांसद् बनाउन लागेकामा विवाद बढेको बताइएको छ ।
समानुपातिक स्थान बाँड्न विवाद देखिएपछि राजपा अध्यक्षमण्डलको बैठक आज बस्दैछ । हिजो बस्ने भनिएको बैठक बस्न नसकेपछि आज बस्ने नेताहरुले बताएका छन् । अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र सदस्य शरत्सिंह भण्डारीबाहेक अरु नेता उपस्थित हुन नसकेपछि बैठक स्थगन भएको हो ।
राजपाका महासचिव केशव झाले बैठक आज बस्ने र समानुपातिक स्थान बाँडफाँटको टुंगो लगाउने जानकारी दिनुभयो । राजपाले प्रदेशसभा समानुपातिकमा १२ स्थान जितेको छ । सोअनुरुप प्रदेश नं २ मा १० तथा प्रदेश नं ५ र ७ मा एक एक स्थान पाएको छ । राजपाले प्रतिनिधिसभातर्फ प्रदेश नं. २ मा १० र प्रदेश नं ७ मा एक गरी ११ स्थान जितेको छ ।
“








