कालोपत्रे देखि हाइड्रोपावर, चेन रिसोर्टदेखि ‘फ्रि वाईफाई’

धेरैले भनेका थिए, काँग्रेसका ओखलढुङ्गेली उम्मेदवार रामहरि खतिवडाका अगाडि नेकपा एमालेका यज्ञराज सुनुवार ‘फुच्चे’ हुन् । तिनै फुच्चेले ओलखढुङ्गा क्षेत्र नं. १ मा ‘हाइफ्रोफाइल’ भनिएका खतिवडालाई पाँच हजार दुई सय ५३ मतले पराजित गर्दै लालकिल्ला जोगाउन सफल भए ।

मकालु खबरले नव निर्वाचित सांसद सुनुवारसँग गृह–जिल्लालाई समृद्ध पार्ने योजनाहरू प्रस्तुत गर्ने हेतुले सम्पर्क गर्‍यो । एमाले संसदीय दलको कार्यालयमा भेटिएका सुनुवारले संवृद्ध ओखलढुङ्गाका लागि दुई दर्जन बढी योजना सुनाए ।

आफ्ना दर्जनौँ योजनाहरू प्रस्तुत गर्नुपूर्व ‘ओखलढुङ्गा’ आफैँमा रमणीय र ऐतिहासिक क्षेत्र भएको भन्दै उनले कवि सिद्धिचरण श्रेष्ठ र बलबहादुर राई जस्ता राजनीतिक हस्तीहरुको जन्मभूमि भएकाले पनि ओखलढुङ्गाको विकासमा आफू अहोरात्र खटिने प्रण गरे ।

‘घुस लिन्या र दिन्या दुवै अपराधी हुन् । भ्रष्टचार गर्ने ठेकेदार, प्रशासन र तलदेखि माथिका आसेपासे सबैलाई ठेगान लगाइनेछ ।’ त्यसपछि उनले पाँच वर्षे कार्यकालमा सम्पन्न गरिछाड्ने दर्जनौँ योजनाहरू सुनाउन थाले :

१.सडक

सडकको स्तरोन्नत्ति गर्दै सडक कालोपत्रेको कार्य तीव्र गतिमा अघि बढी रहेको छ ।

रामेछापको साँघुटार हुँदै ओखलढुंगाको घोडाखरी, सिलौरीघाटको सडक कालोपत्रे विस्तार गरिनेछ ।

ओखलढुङ्गा देखि रामपुर हुँदै लप्सीखोलाको मोटरबाटो कालोपत्रे सम्पन्न गरिनेछ ।

ढाडे, खिजिफलाँटे र रावादोलुको सडक कालोपत्रेको काम तीव्र गतिमा अघि बढेको छ ।

मधेस–पहाड जोड्ने सडक रामपुरटार, खिजिफलाटे, सिरिसे, पोखरी डाँडा, सिरिसेको मोटरबाटो जोडिनेछ ।

गाम्नाङटार, टारकेराबारी, पोकली र रगनीका जनताहरू तीन जिल्ला (रामेछाप, सिन्धुली र उदयपुर) घुमेर सदरमुकाम जानुपर्ने सास्तीको अन्त्य हुनेछ ।

घोराखरीको सडक बाटो भने तत्काल सञ्चालनमा ल्याइने भएको छ ।

नवलपुर, ककनी, यसमका सडक बाटोहरु पनि यहीँ बिचमा सम्पन्न गरिनेछ । भने, जिल्ला भित्रका सबै सडक खण्डहरुको विस्तारको कामहरुलाई तीव्र गतिमा अघि बढाइनेछ ।

धार्मिक सडकको रूपमा प्राप्चा देउराली हुँदै ककनीको थुम्कासम्म सडक निर्माण गरिनेछ । भने, चम्पादेवी मन्दिरसम्म पुग्ने बाटोको पनि स्तरोन्नत्ति गरिनेछ ।

२.बिजुली

ढिलोमा तीन वर्षभित्र नत्र दुई वर्षभित्रमा ओखलढुङ्गालाई लोडसेडिङ मुक्त गरिनेछ ।

मोलुङ, दूधकोशी, लिखुबाट हाइड्रोपावर निर्माणको प्राथमिकता अघि बढाएका छौँ ।

हिउँदमा तीन किलोवाट र वर्षामा सात किलोवाट विद्युत् उत्पादन थालनी गरिनेछ । खुसीको कुरा त के रह्यो भने हामी निर्वाचित भएको ४८ घण्टाभित्रै मोलुङ हाइड्रोपावरको ‘पावर टेष्ट’ गर्ने अवसर पाएका छौँ ।

लिखु खोलाबाट ५२ मेगावाटको शुभारम्भ गत मङ्सिर १३ गते गरिसकेका छौँ ।

३.पर्यटन

पर्यटनको दृष्टिले ऐतिहासिक संरचनाहरुको धनी भए पनि त्यसको प्रचार प्रसार र संरक्षण हुँदा पछि परेको महसुस हुन थालेको छ । यसकारण पर्यटकीय क्षेत्रका लागि धार्मिक तथा सांस्कृतिक महोत्सव आयोजना गरिनेछ ।

किरातीहरुको लिब्जु–भुम्जु धार्मिक महोत्सवलाई प्राथमिकता दिइनेछ ।

पूर्वको महत्त्वपूर्ण मानिने कोणगरि महोत्सव पनि प्राथमिकतामा राखिनेछ । जिल्लाकै अग्लो र ठुलो छाँगा सेब्ली छाँगा महोत्सव पनि गरिनेछ ।

नरवेदेश्वर महादेवमा धार्मिक पर्यटन प्रवर्द्नन कार्य अघि बढाइनेछ ।

यता हामीले विगतदेखि नै पोकली झर्ना महोत्सव त गरिरहेका छौँ । यसका लागि पनि व्यवस्थित र आधुनिक खालका संरचनाहरू जुटाएर थप प्रवद्र्धन र विकास गरिनेछ ।

नेपालकै सातवटा औद्योगिक डाँडामध्येको अग्लो डाँडा थले देम्बा महोत्सव पनि गरिनेछ । यो अभियानका बिचमा पूर्वाञ्चल र १ नं. प्रदेश स्थित रुम्जाटारमा रहेको महत्त्वपूर्ण गुम्बाको निर्माण धमाधम भइरहेको छ ।

४. कृषि

कृषिको व्यवसायीकरण गर्दै किसानलाई अधिकतम सहुलियत दिलाउँदै आर्थिक उन्नत्तिमा जोड दिइनेछ ।

आलु, कोदो, मकै, जौ, फापर र गहुँ लगायतका अन्नबाली, नगदेबालीमा बेसार, अदुवा, अलैचीँ खेतीको अनुसन्धान गरेर कृषिलाई व्यवसायीकरण गरिनेछ ।

विगतमा भएका गल्तिहरुलाई भावी दिनमा नदोरियोस् भन्ने खातिर यसको प्रगति गर्ने जिम्मा लिनेछौँ ।

मासुको सन्दर्भमा ओखलढुङगा आत्मनिर्भर भइसकेको छ । तर, त्यस्तो खालको पशुपालनको व्यवस्थापन भइसकेको छैन । यसका व्यवस्थापनतर्फ ध्यान दिँदै भूगोल र हावापानीको आधारमा क्षेत्र निर्धारण गर्नेछौँ ।

५. उद्योग

उद्योग र होटलहरुका लागि आवश्यक अनुसन्धान गरेर ‘चेन रिसोर्ट’ सञ्चालनमा ल्याइनेछ ।

बेरोजगार युवाहरुका लागि उद्योग तथा कलकारखाना विस्तारमा सरकारसँग सहयोग मागेर घरेलु उद्योगहरुको विकास गरिनेछ ।

वृद्धा आश्रम निर्माण कार्यलाई विशेष ध्यान दिइनेछ । हालसम्म यसको कुनै पहलकदमी भएको छैन । पाँच वर्षभित्र अगावै बृद्धाश्रम निर्माण गरिनेछ ।

६.खेलकुद

जिल्लामै एउटा खेलकुद मैदान ‘स्टेडियम’ र खेलकुद प्रशिक्षणका लागि विशेष मैदानको व्यवस्थापन गरिनेछ । यसका लागि हामीले सूक्ष्म रूपमा अनुसन्धानको कार्य पनि थालनी गरिसकेका छौँ ।

७.शिक्षा

गुणस्तरीय शिक्षामा विशेष ध्यान दिइनेछ ।

ओखलढुङगाका सामुदायिक विद्यालयहरुको सुधार गर्दै त्यहाँका विद्यार्थीहरूलाई निजीभन्दा पनि क्षमतावान् बनाइनेछ ।

हाल जिल्लामा रहेका छ वटा क्याम्पसहरुका भौतिक र शैक्षिक विकासमा विशेष जोड दिइनेछ ।

सिटीइभीटी वा विभिन्न विश्वविद्यायमार्फत सामाग्रीहरू जुटाएर प्राविधिक शिक्षाको पठन पाठन अघि बढाइनेछ ।

अब, सैद्धान्तिक भन्दा व्यवहारिक शिक्षा पद्धतिलाई प्राथमिकता दिइन्छ ।

८.स्वास्थ्य

जिल्लामा रहेको एक मात्र ओखलढुंगा मिसन अस्पतालमा सय भन्दा बढी शैयाहरु छैनन् । यसकाे विकास र विस्तारमा याेजना बनाउँनेछाैं ।

जिल्लामा नर्सिङ होम पनि सञ्चालन गरिनेछ ।

पूर्ण खोपयुक्त, दिशामुक्त र स्वास्थ्यमा भ्रष्टचारमुक्त क्षेत्र बनाउँनेछौं ।

९.प्रविधि र सञ्चार

सञ्चार प्रविधितर्फ विशेष ध्यान दिइनेछ । प्रविधि शिक्षामा ‘अर्जेन्ट’ देखिएको हुँनाले सबै विद्यालयमा कम्प्युटर जडान गर्दै ‘फ्रि वाइफाई’ सेवा उपलब्ध गरिनेछ । यसका लागि योजनाहरू अघि बढाइसकेका छौँ ।

सोलारबाट विद्युतको भार कम उत्पादन हुने भएकाले सोलार विद्युतिकरणलाई प्राथमिकता दिँदै व्यवस्थापन गर्नेछौँ ।

पायक पर्ने ठाउँहरूमा केन्द्रीय विद्युत् प्रसारण लाइन जडान गर्दै टेलिफोन टावर निर्माण गरिनेछ । मुख्यगरि सबै गाउँपालिकाहरुमा यो सेवा पुग्नेछ ।

अन्त्यमा…

पाँच वर्षभित्र यी काम सम्पन्न गर्न सजिलो छ र ! एकापट्टी निर्वाचन पश्चात् देखिएको पार्टीको किचलो त छँदैछ । त्यसमाथि यी कामहरू सम्पन्न गर्न कम चुनौती र समस्या छैनन् ?

यो प्रश्न झर्न नपाउँदै निक्कै आत्म विश्वासका साथ सुनुवारले भने ,‘सँधैभरी चुप लागेर बस्ने कि अघि सर्ने ? हिँड्दै जाँदा थाकिन्छ तर, के साँच्चिकै थकानै मारेर बस्ने त ? त्यसैले कुरा भन्दापनि काम गरेर देश विकास गर्ने समय आएको छ । पिर मानेर बस्नु त भएन नि ! समस्या समाधान हुन्छ नै ।’

अन्तमा कुराकानीको विट मार्दै उनले भने, ‘सकारात्मक विचार लिएर देश निर्माणमा अघि बढौँ । देश निर्माणमा सबैले हातेमालो गरेर अघि बढ्न जरुरी छ । अब तँ उताको म यताको भनेर हुँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *