महानगरका ‘बेरोजगार’ कर्मचारी : बदाम छोडाउँदै, कुकुर जिस्काउँदै

पुष ९, काठमाडौं । दुर्गम भेगका स्थानीय निकाय कर्मचारी विहिन अवस्थामा छ । त्यहाँका सेवाग्राही कार्यकक्षमा कर्मचारी नभेटिँदा काम नबनेर फर्कनु पर्ने वाध्यतामा छन् । यता देशको राजधानी काठमाडौं र ललितपुर महानगरपालिकाका कर्मचारीहरु भने काम नपाएर चौरमा बस्दै कोही घाम ताप्न, कोही बदाम छोडाउन त कोही कुुकरसँग जिस्कनमा व्यस्त छन् ।
स्थानीय विकास मन्त्रालय स्रोतको अनुसार स्थानीय तह र त्यहाँका दूर्गम क्षेत्रमा ६० प्रतिशत वडा कार्यालय अहिले पनि कर्मचारी बिहिन अवस्थामा छन् । त्यहाँ कर्मचारी नहुँदा काम ठप्प छ ।

आइतबार दिउँसो मकालु खबरकर्मी काठमाडौं महानगरपालिका कार्यालय बागदरबार पुग्दा त्यहाँकी एक कर्मचारी गार्डेनभित्र कुकुरसँग जिस्कनमा व्यस्त थिईन् ।

यसरी महानगरपालिकाको कर्मचारी बेरोजगार हुनुको पछाडि कारण रहेछ ।

काठमाडौं महानगरपालिका यी कर्मचारी आवश्यक नै नभएपनि काजमा नियुक्त गर्नका लागि भन्दै शक्ति केन्द्रहरुको दबाब झेलिरहेको बताउँछ । सोही दबाबका कारण त्यहाँ झण्डै दुई दर्जन कर्मचारी बेरोजगार अबस्थामा छन् । उनीहरु कार्यालय त जान्छन्, तर न त बस्ने कार्यकक्ष नै छ न त कार्यविभाजन नै । त्यही कारण उनीहरु दिनभर महानगरपालिकाको चौरमा बदाम चपाउँदै, घाम ताप्दै दिन कटाइरहेको अवस्थामा भेट्न सकिन्छ ।

पछिल्लो समयमा महानगरपालिकामा दरबन्दी नै नभएको स्थानमा कर्मचारी राखिदिनुपर्र्यो भन्दै राजनीतिक नेतासहित मुख्य सचिव राजेन्द्र किशोर क्षेत्री देखि सचिवहरुसम्मको दबाब आउन थालेको छ । सोही कारण महानगरापकिलकामा बेरोजगार कर्मचारीहरुको संख्या थपिएको थपियै छ ।

शक्तिकेन्द्रहरुको दबाबमा काजमा महानगरपालिका पुगेका २४ कर्मचारीहरु दैनिकी अहिले बागदरबारमा घाम तापेर बित्ने गरेको छ । केन्द्रले जवर्जस्ती काजमा खटाएका ती कर्मचारीहरुले न त कुनै काम पाएका छन् न त बस्ने ठाउँ नै ।

महानगरका मेयर विद्या सुन्दर शाक्यलाई भेट्न आउने सञ्चाकर्मीदेखि सर्वसाधारणहरु भने रित्तो हात फर्कन बाध्य छन् । जेडीए कम्प्लेक्सको छ तल्लामाथि रहेको मेयरको कोठाबाहिर २ बजेपछि भेटघाट भनेर सूचना टाँस गरिएको छ ।

उस्तै हालत छ, ललितपुर महानगरपालिकाको पनि । आइतबार त्यहाँका एकजना कर्मचारीसँग कुराकानी गर्दा त्यहाँ २९ जना शाखा अधिकृत, १ जना कम्युटर अधिकृत, एक जना आईटी इन्जिनियर र १५ जना ओभरसियरको आवश्यकता परिरहेको छ । तर, केन्द्रले काजमा लेखा उपसचिव, खोप अधिकृत, सहायक कार्यकारी जस्ता अनावश्यक रुपमा पठाइदिएपछि ती कर्मचारीहरु समेत बेरोजगार बन्न पुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *