फिलिपिन्समा ‘टेम्बिन’ आँधीका कारण सयभन्दा बढीको मृत्यु

पुस ८, काठमाडौं । दक्षिणी फिलिपिन्समा आँधीका कारण १०० जना भन्दा बढीको ज्यान गएको छ। आँधीपछि आएको बाढी र पहिरोमा दर्जनौं हराइरहेको अधिकारीहरुले बताएका छन्। टेम्बिन नामक आँधीले मिन्डनाओ टापुका कैयौँ भागमा बाढी तथा पहिरो निम्त्याएको छ।

टुबोड र पिआगापो शहर सबभन्दा बढी प्रभावित भएका छन्। सयौं घरहरु ढुंगाले पुरिएका बिबिसीले जनाएको छ।

‘पुरिएका ठाउँबारेको यकिन अवस्था हामीले अझै बुझिसकेका छैनौं। यसबारे निश्चित गर्न हामी काम गरिरहेका छौं,’ टुबोडका अधिकारी र्‍यान काबुसको भनाइ उद्धृत गर्दै ‘दी गार्डियन’ अखबारले लेखेको छ।

आँधीका कारण ५० हजारभन्दा बढी विस्थापित भएका छन्। घटनास्थलमा उद्धारकर्मी खटिएका छन्। उनीहरुले केही शव बाहिर निकालेका छन् भने, महिला, बालबालिकालगायतका घाइतेलाई उद्धार गरिरहेको छ ।

टेम्बिन आँधी पश्चिमतर्फ अघि बढ्नुअघि प्रतिघण्टा ८० किलोमिटर वेगको थियो। आँधी अहिले मिन्डनाओ टापु पार गर्दै दक्षिणी पालावनतर्फ बढिरहेको छ।

फिलिपिन्समा हरेक वर्ष झण्डै २० वटा आँधी आउने भए पनि मिन्डनाओ क्षेत्र खासै प्रभावित हुनेमा नपर्ने गरेको पनि अधिकारीहरुले बताएका छन्। यसपटकको आँधीमा भने यहाँ ठूलो क्षति भएको हो।

विभिन्न ठाउँमा गरी करिब १०० जनाभन्दा बढीको ज्यान गइसकेको त्यहाँका प्रहरीले जनाएका छन्। नदीमा पानीको वहाव बढेपछि सिंगै गाउँ बगाएको छ।

एक हप्ताअघि मात्रै काइ टाक नामक आँधीका कारण मध्य फिलिपिन्समा दर्जनौं मानिसको ज्यान गएको थियो।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =