घडियाल प्रजनन्का लागि बर्दियाको भाले गोही चितवन ल्याइने

पुस ८, भरतपुर । चितवन राष्ट्रिय निकुञ्जको टोलीले बर्दियाबाट घडियाल गोही ल्याउने भएको छ । घडियाल गोहीको संख्या बढाउन निकुञ्जको टोली भाले घडियाल गोही लिन बर्दिया गएको थियो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बर्दियामा घडियाल भाले गोही समाइएको बताए ।

राप्ती र नारायणीमा भाले घडियाल गोही नभएपछि निकुञ्जको टोली बर्दिया गएको थियो । निकुञ्जको टोलीले बर्दियाको बबई नदीमा भाले घडियाल गोही फेला पारेको थियो । समातिएको गोही ३५ वर्ष भएको अनुमान गरिएको छ । ‘झण्डै आठ सय किलोको घडियाल गोहीलाई चितवन ल्याउने तयारी गरिएको छ’ प्रमुख कँडेलले भने ।

गोहीलाई निकुञ्जको राप्ती र नारायणी नदीको घाटमा छोड्ने तयारी गरिएको छ । घडियाल गोही नेपालमा दुर्लभ छ । यो पानी र जमिन दुबै ठाउँमा बस्न सक्छ । गोहीलाई उभयचर प्राणी भनिन्छ । सफा नदीमा र खोलामा मात्रै बस्ने घडियाल गोही ताजा पानीमा हुने माछा खान्छ ।

नेपालमा घडियालको संख्या दिन प्रतिदिन घट्दो छ । वर्ष दिनअघि चितवनको राप्ती र नारायणी नदी क्षेत्रमा भएको गोही गणनामा १६६ वटा घडियाल भेटिएका थिए । देशभरका नदीमा घडियाल गोहीको कूल संख्या १९८ रहेकोे छ । राप्ती र नारायणी नदीमा भाले घडियाल गोही नै नभएपछि गोही लिन बर्दिया जानुपरेको निकुञ्जले जनाएको छ । गोही संख्या बढाउन भाले गोही लिन गइएको निकुञ्जको भनाइ छ ।

राप्ती र नारायणी नदीमा रहेका घडियाल गोहीमध्ये प्रजनन्का लागि सक्षम एउटामात्रै भाले गोही पनि गएको जेठमा मरेको थियो ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *