दुई जोइका चकलेटी गीतकार पोइ !

घरकी मुर्गी गीतकारका लागि जब बन्यो दाल बराबर ! एउटै गीत लेखनबाट चर्चामा आएका पूर्वतिरका राई थरका गीतकार ब्रोइलर पिरतीमा फसे । जब, श्रीमतीले रंगेहात फेला पारिन्,आफ्नो श्रीमानको अँगालोमा कुनै अपरिचित स्त्री बाधिएको ।

एउटा महिलाले कसरी सहन सक्छ आफ्नो ‘सुहाग’ अरुबाट खोसिएको ? हो,ढटुवा गीतकार चालाले उग्र रुप लियो र अन्तत यो केश सामसुम पारियो असी हजारमा ।

को हुन् यस्ता स्त्रीलम्पट गीतकार ? आज यीनै गीतकारका अदृश्य धन्दा पाठकमाझ पस्कन गइरहेको छु ।

उनी हालका चर्चित गीतकार,मोडेल र कुनै बेलाका नायक पनि हुन् । केही समयअघि चर्चित गायिकालाई आफ्नो गीतको ‘भोकल टेष्ट’ गरेपश्चात् चर्चामा आएका हुन्, उनी । दुइ महिनाभन्दा लामो समय उनको गीतले बजारमा तहल्का पिट्यो । परदेशमा श्रीमान् छँदा श्रीमती अर्कैसँग सल्किएको र पछि श्रीमान् खाडीबाट स्वदेश फर्कंदा घर न घाटको भएको विषयवस्तुलाई केन्द्रविन्दुमा राखेर लेखिएको उक्त गीत अहिले पनि गाउँ–सहरमा घन्किइनै रहेको सुनिन्छ । उसो त गीतकार राई झट्ट हेर्दा निक्कै मिलनसार, दयालु र खुल्ला हृदयको देखिन्छन् तर उनको रामकहानी सुन्दा उनी कृष्णका अवतार पो हुन् कि जस्तो लाग्छ । कृष्णकै रुपमा राई समुदयामा हाल उनी चिर परिचित छन् । स्रोता/दर्शकले त उनको उपनाम समेत राखि दिएका छन् । गोरो अनुहार, खाइलाग्दो जीउँडाल देखिने उनलाई ‘लभ अफेयर’को प्रस्ताव त दिनमा सयौँ चोटी आउने बताउँछन् । तर, उनले त्यो प्रस्तावलाई सामान्य लिएर ‘धन्यवाद’ दिन्छन् रे ! हो, हाल काठमाडौंमै स्थायी बसोबास गर्ने उनै गीतकार तथा मोडेलको कथा लेख्न गइरहेको छु ।

उनी निकै चकलेटी छन् । हत्तपत्त कसैसँग चिनजान र घुलमिल गर्न नचाहने उनलाई कुकुर भनेपछि औधी मनपर्छ । घरमा ‘पप्पी’ पनि पालेका छन् । जसको नाम रादिएका छन्,‘हिरो’ । अनामनगर बस्ने उनी सम्पन्न परिवारमै हुर्किए । आफूले जान चाहेको ठाउँमा ‘फिल्मको नायक’झै पुगेर घुमे । अध्ययनचाहीँ स्नातक भन्दा माथि लम्ब्याउन चाहेनन् भनौं वा सकेनन् ।  अब, अध्ययनलाई ‘ब्रेक मारेको’ बताउँछन्,उनी । यसरी घुम्ने क्रममा विभिन्न ठाउँमा पुगे । तर, उनले सायदै सोचेका थिए, घुम्ने क्रममा नै त्यस्तो पिरती गासिन्छ भनेर । हो, डुल्ने क्रममै पुगे, फुपुको पहाडी गाऊँ भोजपुर । पर्यटक हिँड्ने बाटो । आहा ! कस्तो रमणीय ठाउँ, ट्याम्के डाँडाँ र पिखुवा खोला । त्यसपछि उनले यो सुइँको पाउँनासाथ केही दिनका लागि निस्किए उतैतिर । कुरा ०६८ सालको हो । फुपुको घरमा झण्डै दुई हप्ता बेसी बिताए । ट्याम्के, पिखुवा र त्यहाँको गाउँ टोल सबै डुले । काठमाडौँबाट पहाड घुम्न आएको थाहा पाएपछि गाउँका छिमेकीबाट उत्तिकै मानसम्मान पाए । उनी फुपुको गाउँमा रहँदा उनको नजर गाउँकी एक युवतीमाथि पर्यो । नभन्दै,ति युवती उनको मायाजालमा फसिहाले ।

नाम,रमिला (परिवर्तन) । परिवारमा कान्छी छोरी । सुन्दरताले धपक्कै ढाकिएकी । निक्कै चञ्चल र उत्ताउली । प्रवेशिका परीक्षा उत्तीर्ण गरेर मन ढुलमुल गरिरहेकी थिइन् । परीक्षा लगत्तै काठमाडौँ हुइकिन्छु भनेर उनले परिवारसँग पटक–पटक अड्डी नकसेकी होइनन् । तर, आफूले सोचेजस्तो कहाँ भइदिन्छ जीवन । साथीहरुको पो त्यता दाई, दिदी र नातेदार थियो तर उनको कोही थिएन । यसकारण पनि परिवारले उनको प्रस्तावलाई सहर्ष स्वीकार गर्न सकेन । अर्कातिर, सदरमुकाम भन्दा एक पाहिला अघि नै निस्केकी थिइन् । सदरमुकाम र राजधानीबिच त आकाश पतालको  फरक छ । त्यसमाथि राजधानीको त्यो भीडमा उनले कसरी सास फेर्न सक्छिन् । यही कारण पनि परिवारले उनलाई राजधानी छिर्न दिइरहेको थिएन । जेठो दाजु रमेश रोजगारका निम्ति कतारमा थिए । छोरीले काठमाडौ पढ्न जान्छु भनेर अति नै गर्न थालेपछि परिवारले पनि छोरासँग यसबारे कुरा अघि बढाइरहेका थिए । उता, दाईले पनि कान्छी बहिनी भएपछि जहाँ भन्छे त्यहीँ पढाइदिउँला भन्दै परीक्षाको नतिजा सम्म घरमै बस्न सुल्झाएका थिए । तर, रमिलाले जिद्धी गर्न कहाँ छाडिन् र ! जसरी हुन्छ, परीक्षा अगावै काठमाडौं जाने धम्कि दिन थालिन् । नभन्दै उनले भनेजस्तो भइदियो ।

अमन राई (नाम परिवर्तन) । झट्ट सुन्दा नामै काफी छ, जति केटी देखेपनि अमन हुने उनी साँच्चै त्यस्तै सावित भए । कुनैबेलाका जल्दाबल्दा आर्यन सिग्देलको चलचित्र ‘किस्मत’ कै झल्को दिनेगरी गाउँमा फुपुको गाउँमा डुल्ने क्रममा उनको नजर रमिलामाथि परेछ ! गाउँ डुल्ने क्रममै रमिलाको घरमा फुपुसँग उनी पुगेछन् । यौवनले भरिएकी, प्यास मेटाउन खोला धाउनु नपर्ने,जीउँडालमा भर्खर बसन्त छाएकी उनलाई देखेपछि कसको मन नपग्लिदो होला र खै ! शायद म पनि उनको ठाउँमा हुँदो हो त त्यस्तै हुन्थ्यो होला । यसरी फुपुुसँग गाऊँ चहार्दै जाँदा रमिला फेला परेकी थिइन् । रमिला फुपुको छिमेकीको छोरी थिइन् । हो, त्यति नै खेर दुइबीचमा आँखा हेराहेरको अवस्था सिर्जना भएको रहेछ । फुपुको घर पुगेको केही दिन पछि को बसाइपछि त अमनको रातदिन उतै बित्न थाल्यो । बुवा–आमा खेतमा उनीहरु दुई जना घरको चुल्होमा । त्यसपछि इल्किने र जिस्किने नहुने त कुरै भएन ।

अमन र रमिलाको यस्तो चर्तिकला फुपु, आमा र आमाबुवाले थाहा नपाएको भने होइन । तर, फुपुले अमन त्यस्तो फटाहा केटा नभएको भन्दै रमिलाका आमा बुवालाई सम्झाइ बुझाइ गर्दै भनेका थिए रे ‘केही दिन त हो त्यसपछि त ऊ (अमन) आफ्नै संसारमा फर्किइहाल्छ नि !’ तर, फुपुको त्यो बोली गोली भएर बाहिर निस्क्यो । दुइबीचमा यसरी नै जिस्किइरहने क्रममा कतिखेर यौनमा बाधिए । पत्तै भएन ।  नभन्दै रमिलाको ज्यानमा अर्काे ज्यान थपिएछ । तर, रमिला बाहेक कसैलाई थाहा थिएन । रमिलासँग केही दिनको रमाइलो पछि अमनको यात्रा काठमाडौं मोडियो । तर, रमिला आउन पाइनन् । अमनसँगको विताएका दिनहरु सम्झिदै धरधरी रोइन् । अमन फर्केपछि उनलाई गाऊँ विरानो लाग्यो तर अमनले केही समयपछि सिन्दुर र पोते लिएर आउछु भनेको बचन सम्झेर पर्खिइरहिन् । अमन काठमाडौं फर्किएको करिब एक महिनापछि फोन सम्पर्कका क्रममा रमिलाले आफ्नो अवस्थाबारे मुख खोल्न बाध्य भइन् ।

रमिलाको कुरा सुनेपछि छाँगाबाट खसेझै भएका अमन के गरु ? कसो गरु ? को अवस्थामा गुज्रिए । यता, अमनको अर्कैसँग पहिलादेखि नै चक्कर चलिरहेको थियो । रमिलाभन्दा पहिला नै उनी अमनको ओछ्यानमा पल्टिएकी थिइन् । उनी हाल नर्सिङ पढिरहेकी छिन् । तर, उनी अमनलाई एक सेकेण्ड छोडेर अन्यत्र जाँदैनन् । रमिला र अमनको सम्बन्धबारे भने उनीलाई सबै थाहा थियो । सहर बजारमा हुर्केकी उनले त्यस्ता कुरा एक कानले सुनेर अर्काे कानले उडाउथिन् र अमनको अँगालोमा बाधिन्थिन । तर,यता बीचमा चेप्टिन पुगेका अमनले भने केही सोच्नै सकेनन् । त्यसपछि उनले अन्त्यमा एउटा उपाय निकाले । रमिला पनि काठमाडौँ पढ्न आउने भएपछि त्यहाँ गएर आफूसँगै लिएर आउने । नभन्दै उनले रमिलालाई आफूले साथमा काठमाडौँ लिएर आउने बताए । साउनको महिना भएकाले परीक्षाको नजिता पनि आइसकेको थियो । रमिला दोस्रो श्रेणीमा उत्तीर्ण भएछिन् । तर,उनी परीक्षाभन्दा पनि आफ्नो स्वास्थ्यबारेमा चिन्तित थिइन् तर परिवार भने उनी उत्तीर्ण भएको अवसरमा खुसीयाली मनायो । रमिलाले दाईसँग गाउँको फुपुको छोराको घरमा गएर केही समय बस्ने तर पछि आफ्नै डेरामा बसेर पढ्ने बताएपछि दाईले पनि प्रतिरोध गर्न सकेनन् । सहर्ष स्वीकार गरे । पहिलेको सर्तअनुसार सदरमुकामसम्म अमन लिन आए । र, दुवै काठमाडौँका लागि बस चढे ।

यात्राभर पहिलेजस्ता बिल्कुलै अमन देखिएनन् । त्यसपछि रमिलालाई कता कता चिसो पस्यो । तर, उनले मनका कुरा भन्न सकेनन् । गाडी आफ्नै गतिमा हुँइकिरह्यो । बीच बाटो आइसकेपछि दुवैले खाना खाए । हो, त्यति नै बेला अमन अलि खुसी जस्तो देखिए र भने,‘म अघि देखि हाम्रोबारेमा सोचिरहेको थिए । परिवारलाई कसरी सम्झाऊ ? त्यसैले तिमीले मलाई एउटा साथ दिनुपर्छ है ?’ रमिलाले उनको विरोध गर्न सक्ने आँट नै कहाँ थियो र ! उनले तत्काल हुन्छ भन्ने जवाफ फर्काइन् ।

परिवारमाझमा केही समयसम्म रमिलाले आफू साथीको नाटक गर्नुपर्ने । र, पछि आफूले उपयुक्त समय आएपछि रमिलालाई घरकी बुहारी बनाएर भित्र्याउने अमनले बाचा खुवाए । रमिलाले पनि त्यो बाचा सजिलै स्वीकारिन् । नभन्दै रमिलाले त्यो नाटक रचिन् । तर, पेटमा नासो झन् झन् हुर्किइदै गइरहेको थियो । अमनको घरमा साथी बनेर भित्रिएको दुई महिना बित्यो तर अमन आफ्नै तालमा हुन्थे । अमनको पूर्व प्रेमिका अमनसँगै कोठामा रात बिताउछिन् भन्ने न रमिलाले कहिल्यै सोचेकी थिइन् तर त्यो हविगत एक दिन बिहान देखिइछाडिन् । त्यसपछि रमिलाले साउने भारी वर्षाझै चिच्याउन गाली गर्न थालिन् । धन्न त्यस दिन बुवा आमा अन्यत्र कतै गएकाले अमन बचे । निक्कै बेरको रुवाबासीपछि रमिलाले आफ्नो पेटमा हुर्किदै गरेको नासोतिर हात देखाउँदै भनिन्,‘यसलाई के गर्ने ?’

त्यसपछि अमनले एकै सासमा फ्याट्टै उत्तर दिए,‘अप्रेसन गर्ने ।’ विगतका दिनहरुलाई एक झोकामा बिर्सिदिएर रमिलाले आफ्नो परिवारको इज्जतका लागि भएपनि त्यो काम गर्न तयार रहिन् । र, त्यसै गरिन् । यो घटना घर÷परिवार र छिमेकबाहेक अन्यत्र सार्वजनिक भइएको छैन । घटना घटेको छ वर्ष भइसक्यो । हाल रमिलाले राम्रो वर पाइसकेर एउटा छोरो जन्माएकी छिन् भने उता गीतकार भनेर चिनिने अमनचाहीँ पूर्व प्रेमिकासँग लगनगाठो कस्ने सुरसारमा रहेको बताइन्छ ।

अब यी विद्धान गीतकार को हुन भनेर ठम्याउने जिम्मा चाहिँ पाठकहरुलाई नै ।

                                                        दुर्गा राई,भोजपुर, हाल कपन

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *