कांग्रेस सात, माओवादी केन्द्र १२ र एमाले एक वडामा विजयी

रोल्पा, १६ असार । रोल्पामा हालसम्म २० वटा वडाको मतपरिणाम सार्वजनिक गरिएको छ । मतपरिणाम सार्वजनिक गरिएका वडामा नेकपा माओवादीले अग्रता लिएको छ । भने, नेपाली काँग्रेसले माओवादी केन्द्रलाई पछ्याउँदै गएको छ । यसैगरी नेकपा एमाले तेस्रो स्थानमा देखिएको छ । परिणाम घोषित वडामध्ये नेपाली कांग्रसले सातवटा वडा र नेकपा माओवादी केन्द्रले १२ वटा वडामा विजयी हासिल गरेको छन् । नेकपा एमाले भने एक वडामा सीमित रहेको छ । जसअनुसार नेपाली कांग्रसले सुकीदह गाउँपालिका–१, रुन्टी गढी गाउँपालिका–२, ३ र ४, सुवर्णावती गाउँपालिका–१, लुङ्ग्री गाउँपालिका–१ र रोल्पा नगरपालिका–१० मा विजय हासिल गरेको छ ।

रोल्पा नगरपालिका–१० मा दुई मत हराएको भन्दै नेकपा माओवादी केन्द्रले पुनः मतदानको माग गरेको कारण परिणाम घोषणा गरिएको छैन । सो वडामा नेपाली कांग्रेसका उम्मेदवार मानबहादुर खत्रीले ७०८ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका मतिलाल डाँगीले ६२२ मत प्राप्त गरेका छन् । यसैगरी, नेकपा माओवादी केन्द्र विजयी भएका वडामा थवाङ गाउँपालिका–४ र ५, दुईखोली गाउँपालिका–१ र २, माडी गाउँपालिका–१ र २, रुन्टीगढी गाउँपालिका–१, सुकीदह गाउँपालिका–२, सुनछहरी गाउँपालिका–१, रोल्पा नगरपालिका–१, त्रिवेणी गाउँपालिका–१ र लुङ्ग्री गाउँपालिका–७ रहेका छन् । नेकपा एमालेले त्रिवेणी गाउँपालिका–२ मा विजय हासिल गरेको छ । परिणाम घोषणा गरिएका सम्पूर्ण वडामा एकल प्यानल विजयी भएको बताइएको छ ।

एक नगरपालिका र नौ गाउँपालिका रहेको रोल्पामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बीच नै तीव्र प्रतिस्पर्धा रहेको छ । नेकपा एमाले जिल्लामा तेस्रो स्थानमा देखिएको छ । हाल सुवर्णावती, रुन्टीगढी र लुङ्ग्री गाउँपालिकामा नेका अगाडि छ भने रोल्पा नगरपालिका, थवाङ गाउँपालिका, सुनछहरी गाउँपालिका, दुईखोली गाउँपालिका र माडी गाउँपालिकामा नेकपा माओवादी केन्द्र अगाडि रहेको छ ।

नेकपा एमालेले सुकीदह गाउँपालिका र त्रिवेणी गाउँपालिकामा अग्रता लिएको छ । थवाङ गाउँपालिकामा नेका र स्वतन्त्र उम्मेदवारले तालमेल गरेका थिए भने माडी गाउँपालिकामा नेका र नेकपा एमालेले तालमेल गरेको भएपनि दुवै गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको बताइएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *