मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

दाङको दुई उपमहानगरमा एमालेको अग्रता कायम

लोकेन्द्र थापा, दाङ । सुरुवाती चरणबाटै अग्रता कायम गरेको नेकपा एमालेले दाङका दुई उपमहानगरपालिकामा मतान्तर फराकिलो पार्दै लगेको छ । घोराही उपमहानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीले २ हजार ५४ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका कांग्रेसका भुपबहादुर डाँगीको मत १ हजार १ सय ८६ छ । माओवादीका जीवन गौतम ५ सय ३५ मतका साथ तेस्रो स्थानमा छन् । यस्तै,  उपमेयरमा एमालेका सीता न्यौपानेले १ हजार ९ सय ८२ मतका साथ अग्रता कायम राखेकी छन् भने कांग्रेसकी पुष्पा श्रेष्ठ १ हजार २ सय ३३ मतका साथ दोस्रो र माओवादी केन्द्रकी सीता चौधरी ५ सय ५५ मतका साथ तेस्रो स्थानमा छिन्।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिकामा पनि एमालेकै घनश्याम पाण्डेले एक हजार ८४ मत साथ अग्रता कायमै राखेका छन् । ७ सय ८८ मतका साथ कांग्रेसका गेहेन्द्र गिरी दोस्रो स्थानमा छन् भने माओवादीका शेषुराम भण्डारीले ८० मत ल्याएका छन् । यस्तै, उपमेयरमा एमालेकी मायाँ आचार्यले १ हजार ४२ मत प्राप्त गर्दै अग्रता कायम राखेकी छन् भने कांग्रेसका देबकी नेपालीले ८ सय २९ र  माओवादीकी सीता ओलीले १२० मत प्राप्त गरेकी छन् ।

उता लमही नगरपालिकामा भने कांग्रेसले अग्रता लिएको छ । मेयरमा कांग्रेसका मेयर उम्मेदवार जोगराज चौधरीले ३ सय ९८ मतका साथ अग्रता कायम राखेका छन् भने एमालेका मेयर उम्मेदवार कुलवहादुर केसी ३ सय १२ मतका साथ दोस्रो स्थानमा छन् । माओवादी केन्द्रका द्रोपदा पौडेलले २ सय ९ मत ल्याएकी छन् । यस्तै, उपमेयरमा कांग्रेसकी देबका बेलबासेले ४ सय २ मतका साथ अग्रता लिएकी छन् भने उपमेयरमा मिना गुरुङ २ सय ९१ मतका साथ दोस्रो स्थानमा र  माओवादीका कालुराम चौधरीले २ सय २० मत पाएका छन्।

अहिले मतगणना भैरहेका ६ गाउँपालिका मध्य ३ मा माओवादीले अग्रता लिएको छ भने कांग्रेस र एमालेले एक/एक गाउँपालिकामा अग्रता लिएका छन् । माओवादीले राजपुर, बंगलाचुली र शान्तिनगर गाउँपालिकामा अग्रता लिएको छ भने कांग्रेसले राप्ती गाउँपालिकामा र एमालेले दंगिशरण र गढवा गाउँपालिकामा अग्रता लिएको छ । दाङको बबई गाउँपालिकामा भने फर्जी मतको बिषयमा बिबाद हुँदा गणना सुरु हुन सकेको छैन ।

प्रतिकृयाहरु
Loading...