मेस्सीको विवाहमा रियलका एक खेलाडी सहित क-कसले पाए निम्तो

एजेन्सी – अर्जेन्टिनाका कप्तान एवं बार्सिलोनाका स्टार खेलाडी लियोनेल मेस्सीले आफ्नी प्रेमिका एन्टोनेल्ला रोक्कुज्जोसँग अर्जेन्टिना स्थित रोजरिओ सहरमा विवाह गर्दैछन् । ५ वर्षको उमेरदेखि चिनजान रहेको मेस्सी र रोक्क्कुज्जो एउटै सहरमा हुर्केका थिए ।

मेस्सी र रोक्कुज्जो प्रेम सम्बन्धमा रहेदेखि बार्सिलोनामा बस्दै आएपनि विवाहका लागि भने जन्मथलो नै फर्किएका हुन् । उनीहरुको दुर्इ सन्तान छन् । थियागो ४ वर्षका छन् भने दोश्रो सन्तान माटेयो १ वर्ष पुगेका छन् । शुक्रबार हुने विवाह कार्यक्रममा मेस्सीले बार्सिलोनाका सम्पूर्ण खेलाडीलाई बोलाएका छन् ।

लुइस सुआरेज र नेयमार विवाहको अघिल्लो दिन अर्जेन्टिना पुग्ने कार्यक्रम रहेको छ भने पुर्व खेलाडी जाभी र फाब्रिगास पनि विवाहमा सरिक हुनेछन् । स्पेनिस मिडियाका अनुसार पुर्वप्रशिक्षक लुइस एन्रिकेलाई भने मेस्सीले निम्तो पठाएका छैनन् । यसैगरि बार्सिलोनाका डिफेन्डर जेरार्ड पिके उनकी श्रीमती शाकिरा र मेस्सीको प्रेमिका रोक्कुज्जोबिचको चिसो सम्बन्धका कारण विवाहमा सहभागी नहुने भएका छन् । आन्द्रेस इनिएस्टा पनि विशेष कारणले उपस्थित नहुने जानकारी प्राप्त भएको छ ।

मेस्सीले आफ्नो विवाहमा एक रियल म्याड्रिडका पूर्वखेलाडीलाई पनि निम्तो दिएका छन् । अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट सँगै खेल्दै आएका यी दुई खेलाडी मिल्ने साथी हुन् । हाल पेरिस सेन्ट जर्मनबाट व्यवसायिक फुटबल खेलिरहेका विंगर एन्जल डी मारिया रोजारियो पुगिसकेका छन् ।

विवाहमा करिब २ सय भन्दा बढी सेक्युरिटी गार्ड परिचालन गरिनेछ भने समर्थकहरुको लागि विवाह कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्न विवाह स्थल बाहिर ठुलो स्क्रिन खडा गरिएको छ । रोजारियोमा हिंसात्मक गतिविधि बढ्दै गएकाले प्रहरीले पनि केहि दिनयता सुरक्षा व्यवस्थामा थप कडाइ गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *