भ्रष्टाचारमा फसेका उपकुलपतिको सिनेट भाड्ने दाउ

पुस ६, काठमाडौँ । उपकूलपति हुनकै लागि विभिन्न शक्ति केन्द्रलाई १४ करोड बढी रकम बुझाएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति अहिले प्रतिष्ठानको सिनेट नै भाँड्ने प्रपञ्चमा लागेका छन् । स्वास्थ्यमन्त्री दीपक बोहराले ४० औँ सिनेटमा उठेका अनियमितताका विषयमा पुनः छलफल गर्न डाकेको सिनेटमा नगई बसेका प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियार पुनः डाकिएको सिनेट असफल बनाउन लागेका छन् ।

मन्त्री बोहराले कार्तिक ३० गतेको ४० औँ सिनेटको निरन्तरताका लागि आउँदो पुस १२ गते पुनः सिनेट बोलाएकोमा डा. रौनियारले प्रतिष्ठानमा भएका भ्रष्टाचारका विषयमा आफूले प्रष्टिकरण दिनुपर्ने तथा कारबाही नै भोग्नुपर्ने अवस्था सिनेटमा आउने भएकोले १२ गतेको सिनेट रोक्न अहिले डा. रौनियार राजधानीमा बसेर विभिन्न शक्ति केन्द्र धाउन थालेका छन् ।

प्रतिष्ठानमा पुस ४ गतेसम्मका लागि घरविदा लिएर बसेका डा. रौनियार अहिले राजधानीको होटेल मनासलुमा बस्दै विभिन्न शक्ति केन्द्रमा धाउँदै सिनेट सार्न लागि परेको स्रोतको दाबी छ । स्रोतका अनुसार डा. रौनियारले अहिलेको मन्त्रीबाट सिनेट रोकेर नयाँ स्वास्थ्य मन्त्रीबाट पुनः सिनेट गराउने योजना बनाएका छन् । यसका लागि डा. रौनियारले प्रतिष्ठानमा औषधी उपकरण सप्लाई गर्ने वेणु कोइरालालाई हिजो (बुधवार) राजधानी बोलाएका छन् । बेणु कोइराला प्रतिष्ठानमा औषधी उपकरण सप्लाई गर्ने ठेकेदार हुन् । उनले डा. रौनियारलाई उपकूलपति बनाउनका लागि करोडौं लगानी गरेका थिए ।

वीपीको एकाउण्टेन्टलाई थाहा छैन हिसाब

रजत फर्माले तिर्नुपर्ने पैसा मिलेमतोमा गायब !

वीपी प्रतिष्ठानका पदाधिकारीले प्रतिष्ठानमा आर्थिक अनियमितता हुनै नसक्ने भनेर पटकपटक भन्दै आएका छन् । तर, अत्याधुनिक कम्प्युट्राइज्ड सिस्टम भएको खाता डामाडोल छ ।
प्रतिष्ठानले हाताभित्र र बाहिर विभिन्न संस्था र ब्पापारीलाई कोठा बहालमा लगाउँदै आएको छ । मासिक लाखौँ रुपैंयामा भाडामा लगाईने त्यस्ता वहालवालाले प्रतिष्ठानलाई नियमित रूपमा भाडा तिर्छन् की तिर्दैनन् लेखा शाखालाई थाहै छैन ।
प्रतिष्ठानमा करिब १० वर्षअघि सञ्चालित रजत फर्माले प्रतिष्ठानलाई ५६ लाख बढी भाडा अहिलेसम्म नतिरी भागेको बुझिएको छ ।

विराटनगरका लाईफ गार्ड अस्पतालका डाइरेक्टर रंजीत अग्रवालले प्रतिष्ठान हाताभित्र सञ्चालन गरेको उक्त फर्माले भाडा बापत प्रतिष्ठानलाई बुझाउनु पर्ने रकम नबुझाई भागेको भए पनि प्रतिष्ठानले ताकेता गर्न सकेको छैन । मासिक ४ देखि ५ लाख रुपैंया भाडामा प्रतिष्ठानको ओपीडी, इमरजेन्सी, गाईनोवार्ड लगायतमा मेडिकल सञ्चालन गरेको रजत फर्माले करिब ७६–७७ लाख रुपैंया प्रतिष्ठानलाई बुझाउन देखिएपनि भाडा सम्झौता अवधि सकिएपछि बाँकी बक्यौता चुक्ता नगरिकन भागेको थियो ।

त्यसपछि प्रतिष्ठान व्यवस्थापनले भाडा बुझाउन फर्माका सञ्चालक रंजीत अग्रवाल र व्यवस्थापन हेर्दै आएका धरानका मचेन लिम्बुलाई बारम्बार ताकेता गर्दा पनि भाडा बापतको बाँकी रकम उठाउन सकेको थिएन । रजत फर्माले भाडा नतिर्ने छाँटकाँट देखाएपछि तत्कालीन अवस्थामा प्रतिष्ठानले भाडा कवोल गर्दा फर्माले कृषि विकास बैङ्कमा धरौटी राखेको करिब १६ लाख रुपैंया जफथ गरेको स्रोतको दाबी छ । त्यत्ति रकमले पनि प्रतिष्ठानले असुल गर्नुपर्ने रकम भुक्तानी भएको थिएन ।

त्यसपछि पुनः फर्माका ब्यवस्थापक(सञ्चालक)मचेन सुब्बालाई ताकेता गर्दा उनले आफ्नी श्रीमती धनकुमारी लिम्बुको नामबाट रु ४ लाख प्रतिष्ठानमा बुझाएको स्रोतको दाबी छ । ७६–७७ लाख रकममा २० लाख बुझाएपछि बाँकी रकम ५६–५७ लाख तिर्नुपर्नेमा फर्माले अहिलेसम्म एक पैसा भुक्तान नगरेको प्रतिष्ठानको लेखा शाखाको भनाई छ । अहिले उक्त रकमको सावा ब्याज गर्दा मात्रै पाँच करोड बढी पुगेको प्रतिष्ठान लेखा शाखा फाँटको दाबी छ ।
प्रतिष्ठानमा रजत फर्माले भाडा बुझाएको कुनै रेकर्ड नै नभएको आर्थिक सल्लाहकार रुपा सिंघाची अग्रवाल बताउँछिन् । उनले मकालु खबरसँग फोन सम्पर्कमा आफू दुई वर्ष अघिमात्र आएको र रजत फर्माको हिसाब किताब १० वर्ष अघिको रहेकोले केही थाहा नभएको बताइन् । ‘हाम्रो सिस्टममा हालेको देखिएन । म त दुई वर्षदेखि मात्र छु ।’ उनले भनिन् ।

यता लेखा शाखाका एक कर्मचारीले प्रतिष्ठानको सबै हिसाब किताब कम्प्युटर सिस्टममा हालि सकिएको भन्दै सम्पूर्ण हिसाब हेर्न सकिने बताए । ‘हाम्रो लेजर खाताको सबै हिसाब कम्प्युट्राइज्ड गरिएको छ । कर्मचारी, सप्लायर्स, कोठाभाडामा लिने दिनेले के कति लिएको दिएको सबै सिस्टमले देखाउँछ ।’ उनले मकालु खबरसँग भने । साथै उनले रजत फर्माको नाममा बाँकी वक्यौता हुनसक्ने दाबी गरे । ‘भाडा नतिरेपछि प्रतिष्ठानले जिल्ला प्रशासन कार्यालयमा समेत निवेदन दिएको थियो । उनीहरूले भाडा मिनाहा गरिपाउँ भनेर निवेदन दिएका थिए । पछि के भयो कसले हटायो थाहा भएन ।’ उनले भने ।

प्रतिष्ठानका डेपुटी रजिष्ट्रार अमित श्रीवास्तवले पनि रजत फर्माले भाडा तिर्न बाँकी रहेको हुन सक्ने जिकिर गरे । उनले लेखाशाखाले सबै जिम्मेवारी लिनुपर्ने भन्दै मकालु खबरलाई प्रतिष्ठानकी आर्थिक सल्लाहकार रुपा सिंघाची अग्रवाललाई नै सम्पर्क गर्न भने । रुपा सिँघाचीले भने, आmुसँगको सिस्टममा नदेखिएको जिकिर गरिन् । ‘तपाईँलाई कसले भन्यो उसैलाई हिसाब हेर्नु भन्नु मलाई थाहा छैन, लेजरमा छ भने त्यो खोज्न समय लाग्छ ।’ उनले भनिन् ।

तत्कालीन रजतफर्माका सञ्चालक विराटनगर स्थित लाइफ गार्ड अस्पतालका डाइरेक्टर रञ्जित अग्रवालले भाडा तिर्न बाँकी रहेको स्वीकार गर्दै त्यत्तिखेर महिनौ दिनसम्म अस्पताल बन्द हुँदा र राजनीतिक कारणले बन्द हुँदा आफुहरुलाई घाटा भएकोले छाड्ने बेलामा भाडा मिनाहा गर्न निवेदन दिएको बताए । ‘भाडा नतिरेको हैन, बन्दले गर्दा घाटा भएर प्रतिष्ठानलाई भाडा मिनाहा गरिदिन निवेदन दिएका थियौँ के भयो थाहै भएन ।’ उनले भने । उनले मकालु खबरलाई ‘१० वर्ष अघिको कुरा कोट्याएर केही फाइदा नहुने भन्दै पछि भेटमा कुरा गर्न भने । ‘वितिसकेको कुरा उठाएर के गर्नुहुन्छ, म काठमाडौँ नै आएको बेला बसेर कुरा गरौँ न !’ उनले टेलिफोन सम्पर्कमा भने ।

दिन दहाडै प्रतिष्ठानको लाखौँ रुपैंया डुब्दा समेत पदाधिकारी मौन रहनुमा कतै उनीहरूको समेत संलग्नता छैन ? आशंका उब्जिएको छ । प्रतिष्ठानकी आर्थिक सल्लाहकार रुपा सिंघाची अग्रवाल मासिक दुई लाख बढी तलब बुझ्छिन् । तर, उनलाई नै प्रतिष्ठानलाई कसले कति पैसा बुझाउन बाँकी छ थाहा छैन । उनी उल्टै सिस्टमले आएको रकम मात्र देखाउने कसैको बाँकी भनेर नदेखाउने जिकिर गर्छिन् । प्रतिष्ठानको लेखा शाखामा मात्रै १३ जना कर्मचारी कार्यरत छन् ।

मिलेमतोमा फायल गायब बनाएको आशंका

रजत फर्माको भाडा सम्बन्धी फायल लेखा शाखाकै कर्मचारी र पदाधिकारीहरुकै मिलेमतोमा गायब बनाएको हुनसक्ने स्रोतको दाबी छ । स्रोतका अनुसार कर्मचारी, सप्लायर्स र ठेकेदारले के कति रकम लगे, बुझाउन बाँकी देखाउने तर, रजत फर्माकै नदेखाउनुमा मिलेमतोमा सिस्टमबाटै हटाईएको हुनसक्ने जिकिर गरे । ‘स्टोर शाखामा रहेको खातापातामा देखियो भने बेग्लै कुरा नत्र यसरी फायल गायब हुनुमा पदाधिकारी र लेखा शाखाकै कर्मचारीको मिलेमतो हुन्छ ।’ स्रोत दाबी गर्दछ ।

नेपाली काँग्रेसको आर्शिवाद पाएर उपकुलपति भएका डा. रौनियारले उपकुलपति बन्न विभिन्न व्यापारी र ठेकेदारबाट मिटर ब्याजमा करोडौं रकम लिएका थिए । त्यही पैसा तिर्नका लागि डा. रौनियारलाई अहिले पसिना छुटिरहेको छ । केही व्यापारीले पैसा फिर्ता नगरे वा काम नदिए रौनियारको पोल खोलिदिने भन्दै उनलाई तारन्तार दबाब दिएपछि उनी गलत तवरबाट पास गराएका टेण्डर अनुमोदन गराउन लागि परेका छन् । एमसिएच, कार्डियोलोजी, अंकोलोजी र एमआरआई उपकरण खरिदलाई सिनेटबाट अनुमोदन नै नगरी एकलौटी ढङ्गले निर्णय गरेका डा. रौनियारलाई अहिले आफ्नै निर्णय ‘गलपासो’ भएको छ । अहिले उनी राजधानीमा बसेर कहिले स्वास्थ्य मन्त्रालय त कहिले अर्थ मन्त्रालय धाईरहेका छन् । तर, उपकूलपति भएर गएको एक वर्ष पनि नहुँदै विवादित काम गरेपछि र स्वास्थ्यमन्त्री बोहरालाई समेत विवादमा तानेपछि डा. रौनियारसँग अहिलेका प्रधानमन्त्री समेत रुष्ट भएका छन् । उनले नेपाली काँग्रेसका केही पूर्व मन्त्री र बहालवाला मन्त्रीहरुलाई समेत गुहार गरे पनि कसैले मतलब गरेका छैनन् ।

सिनेटमा रौनियारको दोहोलो

उपकूलपति भएको करिब एक वर्ष हुन लाग्दा समेत प्रतिष्ठानमा कुनै सुधारका काम गर्न नसकेका डा. रौनियारले मन्त्री बोहरालाई भेटेरै सहयोग गर्न भनेका थिए । आफ्नै अगाडी राज्यमन्त्री सरहको मान मर्यादा भएको व्यक्ति आएर गिडगिडाएपछि मन्त्री बोहराले आफ्नो व्यस्त समय मिलाएर सिनेट डाकेका थिए । विगतका सिनेटमा अघिल्लो दिन नै सिनेटरहरुलाई एजेन्डा दिएर छलफल गर्ने गरिएकोमा डा. रौनियारले भ्रष्टाचारका पोल खुल्ने डरले बैठकमा लुकाएर एजेन्डा छिराए । तर, अघिल्लो दिन नै सिनेटमा प्रस्तुत हुन लागेका एजेन्डा मकालु खबरले सार्वजनिक गरेपछि एजेण्डाहरु अध्ययन गर्न पाएका सिनेटरले भोलि पल्टको सिनेटमा डा. रौनियारलाई ‘र्याख्र्याख्ती’ पारेका थिए । त्यसपछि अधिकांश सिनेटरहरुको सुझावलाई आधार मानेर मन्त्रीले छानबिन समिति बनाएका थिए । सो बेलाको बैठकमै ४० औँ सिनेटको निरन्तरता १ महिना पछि गरिने भनिएको थियो । तर, रौनियारले सोही विषयलाई गलत व्याख्या गरेर मन्त्रालयमा आएको १ महिनापनि नपुगेका मन्त्रीलाई विवादमा पारिदिए ।

भ्रष्टाचार आफू गर्ने अपजस सिनेटलाई !

प्रतिष्ठानको उपकुलपति भएर आए लगत्तै डा. रौनियारले उपकरण खरिद र भवन निर्माणका फायलहरुलाई विना अध्ययन धमाधम स्वीकृत गर्दा नै उनको नियतमाथि प्रश्न उठेको थियो । धेरैले नयाँ उपकूलपतिलाई काम गर्न केही समय दिनुपर्छ भनेर उनका हरेक क्रियाकलापमा चुपचाप भए । तर, जब अंकोलोजी र कार्डियोलोजी भवनका लागि सरकारले दिएको बजेटलाई रकमान्तर गरेर १२ करोडको एमआरआई उपकरण १८ करोडमा खरिद गर्ने निर्णयसँगै उनको नैतिकता र इमान्दारितामा प्रश्न चिन्ह खडा भयो । उनले दुई वर्ष अघि प्रतिष्ठानको रेडियोलोजी विभागको प्रमुख हुँदा सोही एमआरआई साँढे ११ करोडमा खरिद गर्न खोज्दा नै भ्रष्टाचार भयो भन्दै रोकेका थिए । अहिले आफू उपकुलपति भएर आएपछि त्यही उपकरणलाई १८ करोडमा खरिद गर्न धरानको सनराईज बैङ्कलाई समेत प्रभावमा पारी असार मसान्तको अन्तिम दिन शनिवार एलसी खोलेका थिए ।

त्यसपछि प्रतिष्ठानकै कर्मचारी, चिकित्सक, धरानका नागरिक समाजले समेत विरोध गरे । र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत फायलहरु नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । अख्तियारले फायल अनुसन्धान गरिरहँदा त्यही फायललाई सिनेटबाट अनुमोदन गराएर आफूले गरेको भ्रष्टाचार सिनेटको टाउकामा हालेर चोखो हुने डा. रौनियारको योजना थियो । तर, सिनेटले उल्टै छानबिन समिति बनाएपछि डा. रौनियारको योजनामा फेल खायो ।

रौनियार ‘एमाले शरणम् गच्छामीः

कांग्रेसी कोटाबाट उपकुलपति भएका डा. रौनियार यति बेला ‘छेपारा’ले रङ्ग फेरे जस्तो सर्लक्कै एमालेको शरणमा जान खोज्दैछन् । स्रोतका अनुसार प्रतिष्ठानमा कसैलाई थाहै नदिई राजधानी आएका डा. रौनियार यति बेला बालकोट (एमाले अध्यक्ष केपी ओलीको निवास)मा जानका लागि केही एमालेका केन्द्रीय स्तरका नेताहरूको ढोका चहार्दैछन् । स्रोतले दिएको जानकारी अनुसार डा. रौनियारले सुनसरी दुहवीका पोखरेल थरका एमाले कार्यकर्तालाई हातमा लिएर बालकोटको बाटो पहिल्याउँदैछन् । सुनसरी क्षेत्र नं. ३ मा नेकपा एमालेकी प्रतिनिधिसभा उम्मेदवार भगवती चौधरीलाई हराउन महत्त्वपूर्ण भूमिका खेलेका पोखरेल र डा. रौनियारका दाजु गौरीशंकर रौनियार तथा स्वयम् डा. रौनियारलाई बालकोटमा प्रवेश निषेध गरिएको छ । डा. रौनियार र दाजु गौरीशंकर भएर सुनसरी–३ मा काँग्रेस र एमालेभित्र ठुलो अन्र्तघात गरेका छन् ।

उनले सिनेटबाट फायलहरु पास भए आफू दर्जनौं कार्यकर्ता सहित प्रवेश गर्ने भन्दै एमाले नेता लालबाबु पण्डितलाई समेत भेट्न खोजेका थिए । मोरङ क्षेत्र नं. ६ बाट नेपाली काँग्रेसका हेभिवेट उम्मेदवार डा. शेखर कोइरालालाई निर्वाचनमा हराएरका पार्टी भित्रै इमान्दार र नैतिकवान नेताका रूपमा परिचित लालवाबु पण्डितलाई डा. रौनियारको नाटक भलिभाँति थाहा थियो । त्यही भएर पण्डितले डा. रौनियारलाई मतलब नै गरेनन् ।

अहिले रौनियार राजधानीमा बसेर ‘केही व्यापारी र नेताहरूलाई ‘बाटो देखाईदिन’ अनुरोध गर्दैछन् । उनले प्रधानमन्त्री देउवालाई समेत भेट्न खोजेका थिए । तर, स्थानीय निर्वाचन र प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई केही सहयोग नगरेको भन्दै कांग्रेसीहरुले उनलाई बालुवाटार र बुढानिलकण्ठ प्रवेश गर्न दिइरहेका छैनन् ।

१२ गते सिनेट बस्ला ?

वीपी प्रतिष्ठानका सहकूपति समेत रहेका स्वास्थ्यमन्त्री बोहराले यही पुस १२ गते सिनेट आह्वान गरेका छन् । तर, के १२ गते ४० औँ सिनेटको निरन्तरताको सिनेट बस्ला ?

मन्त्री बोहरा जसरी हुन्छ सिनेट डाक्ने पक्षमा छन् । यदि १२ गतेपनि उपकूलपतिले बहाना बनाएर सिनेट रोकेमा उनलाई अझ समस्या पर्ने देखिन्छ । यसअघि प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठलाई मातृशोक परेको कारण पनि सिनेट रद्द गर्न सहज भएको थियो ।
१२ गते सिनेट बस्न सकेन भने संभवतः यो सरकारका पालामा सिनेट बस्न सक्दैन । प्रतिष्ठानको नियमावलीमा ६÷६ महिनामा सिनेट बस्नुपर्ने प्रावधान छ । तर, विगत डेढ वर्षदेखि सिनेट बस्न सकेको थिएन । फेरी नयाँ सरकार गठनसँगै नयाँ स्वास्थ्यमन्त्रीले पनि तुरुन्तै सिनेट ढाक्न सक्ने अवस्था नभएकोले डा. रौनियारले १२ गतेको सिनेटलाई नरोक्दा नै फाइदा हुन्छ ।

     वीपी प्रतिष्ठानलाई पूर्वाञ्चलकै गहनाका रूपमा लिइन्छ । तर, डा. रौनियारले प्रर्वाञ्चलको गहनामा हिलो छ्याप्ने काम गरेपछि प्रतिष्ठानसँग सरोकार राख्नेहरु रुष्ट भएका छन् । काँग्रेसको कोटाबाट उपकूलपति भएर अहिले काँग्रेसकै सरकारलाई खेदो खन्ने डा. रौनियारको ताल देखेर धेरै कांग्रेसीहरु ‘रौनियारलाई उपकूलपति बनाएर गल्ती गरियो’ भन्दै हिँड्न थालेका छन् । भने, स्वतन्त्र रूपमा वीपी प्रतिष्ठानलाई बचाउन लागेका र केही समय अघि डा. रौनियारलाई काम गर्न दिनुपर्छ भनेर समर्थन गर्नेहरु समेत उनको पछिल्लो क्रियाकलापबाट दिक्क भएका छन् ।

गत कार्तिक ३० गते बसेको ४० औँ सिनेटमा प्रतिष्ठानमा निर्माणाधिन एमसिएच, कार्डियोलोजी, अंकोलोजी भवन र एमआरआई उपकरण खरिदमा चर्को चलखेल भएको भन्दै सिनेटरहरुले आपत्ति जनाएका थिए । त्यसपछि प्रतिष्ठानका सहकूलपतिसमेत रहेका मन्त्री बोहराले स्वास्थ्य सचिव डा. किरण रेग्मी (सिनेट सदस्य)को संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरी तीन साताभित्र प्रतिवेदन पेस गर्ने निर्णय गरेका थिए । सोही सिनेटको निरन्तरता स्वरूप गत मङ्सिर ३० गते डाकिएको सिनेटमा समितिले प्रतिवेदन पेस गर्ने कार्यक्रम थियो । तर, प्रतिष्ठानका उपकूलपति चार दिनअघि नै घरविदामा बसिदिए । भने, सोही समयमा डा. रौनियारको हवाला दिँदै सञ्चारमाध्यममा ‘मन्त्रीले कमिसन खानका लागि सिनेट बोलाएको’ भन्दै समाचार प्रकाशित भएको थियो । त्यसपछि मन्त्रीले ‘प्रतिष्ठानको नियमावली अन्र्तगत नै ४० औँ सिनेटलाई निरन्तरता दिनका लागि पुनः सिनेट डाकिएको हो’ भन्दै पत्रकार सम्मेलन नै गरेर स्पष्टीकरण दिनु परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *