ओलीका दौतरी देवी भन्छन्–‘बाबुरामलाई देखाएर ओलीले प्रचण्डलाई थर्काएका हुन्’

पुस ५, काठमाडौं । अध्यक्ष केपी ओलीको कुनै समयका दौतरी देवी ओझा जस्लाई भिन्न कोणबाट चिनिइन्छ । पहिले कम्युनिष्ट पछि राजावादी र अहिले आर्थिक र समाजिक क्रान्तिका नेता । सशस्त्र जनयुद्धदेखि नै नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईसँग रहेर काम गर्दै आएका उनी हाल सो पार्टीको नेतासमेत हुन् । ०५४ सालमा एमाले विभाजित हुँदा बामदेव गौतम र सिपी मैनालीसँगै माले पार्टी विस्तार गरे । ०५८ सम्म उनले त्यहाँ रहँदा प्रचार प्रसार विभागको जिम्मेवारी लिए । तर, ०५८ पछि उनले आफूलाई छुट्टै पहिचानले चिनाए ।

आफ्ना दौतरी बामदेव– पुनः एमालेमै फर्किए पनि उनी भने आफ्नै गतिमा अघि बढे । नभन्दै, ०५९ सालमा राजाले ‘कु’ गरेपछि शाही शासनको पक्षमा लागे र दोस्रोपटक मन्त्री बन्ने सौभाग्य पाए । यसअघि शिक्षामन्त्री रहेका उनी फेरि त्यहीँ पदमा पुगे । त्यसपछि उनी एक हिसाबले भूमिगत जस्तै बने । तर, फेरि डा. बाबुराम भट्टराइसँगै बसेर काम गर्न थालेपछि उनी किन राजनीतिमा ‘कमब्याक’ भए त ? आफूलाई बिल्कुल बाम लोकतान्त्रिक मान्ने उनैसँग मकालु खबर संवाददाता लोक राज रुम्दालीले कुराकानी गरी केही जान्न खोजेका छन् ।

हाल जोरपाटीमा बसोबास गरिरहेका ओझा,शारीरिक रुपमा भने तगडा छन् । कुनै समय एमाले अध्यक्ष केपी ओलीसँग झापा आन्दोलनमा सँगै सरिक भएका उनी जोरपाटीको अपाङ्ग (अर्थाेपेडीक) अस्पतालमा फेला परे । पटक पटकको ताकेता गरेपश्चात् फोन रिसिभ गरेका उनले अर्थाेपेडिक अस्पतालको क्यान्टिनमा बोलाए । केही समयको अनौपचारीक कुराकानीसँगै औपचारिक कुराकानीमा धकेलिएका ओझा आफू र ओलीको सम्बन्ध ‘अच्छा’ रहेको बताउँदै औपचारीक कुराकानीलाई अघि बढाए ।

बाम–गठबन्धन अपेक्षित थियो
०५४ सालमा नेकपा एमाले विभाजन नभएको भए ०५६ मा अत्यन्तै सजिलो तरिकाले प्रतिनिधि सभामा ‘मेजिरिटी’ बहुमत आउथ्यो । तर, आज एमालेले जुन उत्सव मनाइरहेको छ त्यो स्थिति त्यतिबेला नै बिल्कुल आउने थियो । यसकारण त्यतिबेला त्यो अवस्थ सिर्जना नभइदिएको भए मुलुक पछि पर्दैनथ्यो । त्यसैले यो मत परिणाम त्यति उत्साहजनक नतिजा आएको जस्तो म ठान्दिन । किनकि अहिले मेजिरिटी कसैसँग छैन । अर्कातिर पार्टी एकता र स्थायी सरकार बन्ला जस्तो पनि लाग्दैन । दुई दलका शिर्ष नेताहरुले पार्टी एकता गर्ने नै भनिरहेका छन् । यस विषयमाथि आम सर्वसाधारणको उत्तिकै चासो छ र हेर्न त झन् बाँकी छँदै छ नि ! अर्कातिर बाम गठबन्धनले यस्तो परिणाम ल्याउँ छ भन्ने अपेक्षित नै थियो । जब माओवादी केन्द्र एमालेसँग गठबन्धनसँग जाने भएपछि कुनै अनपेक्षित थिएन ।

चुनावको मुखमा नयाँ शक्तिबाट केही कार्यकर्ता बाहिरिनु भयो तर यसलाई म अस्वभाविक ठान्दिन म । नयाँ शक्ति पार्टी बनेको छैन, त्यस्तो कुनै आकार नै तय गरेको छैन भने दोस्रो कुरा त बाम गठबन्धनमा गएर पहिलाकै स्थानमा फर्किनुपर्यो जस्ले सबैलाई तरंगित तुल्यायो । अर्कातिर नयाँ शक्तिबाट अवसर प्राप्त होलाजस्तो साथीहरुलाई कसैलाई लागेन । राजनीति भनेको विश्वास र आस्था होइन अवसरको कुरासँग जोडिन्छ । यसकारण अवसर नपाएपछि केही साथीहरु ढुल्मुलिनु भयो । तर, मैले चुनावको मुखमा भएका यी घटनाहरुलाई सामान्य ढङ्गले लिएको छु ।

ओलीले प्रचण्डलाई थर्काएका हुन्
डा. बाबुराम भट्टराई गठबन्धनमा बस्न नसक्नुको मुख्य कारण गोरखामात्रै हो । अरु कुनै कारण छैन । मानिसहरुले अनेक अनेक भन्लान् । तर, म आफै पनि राजनैतिक संवाद समितिको संयोजक पनि हुँ । यसकारण बाबुरामजी गठबन्धनबाट बाहिरिनुको मुख्य ‘फ्याक्टर’ गोरखाबाट उम्मेद्वार हुन नपाउनु हो । बाबुरामलाई प्रचण्ड स्वंयमले भन्नुभयो हामी कुनै पनि हालतमा गोरखा छोड्दैनौँ । बरु साँच्चिकै चुनावै लड्ने हो भने नारायणकाजी र तपाई सँगै लड्नुस् । मत परिणाम जे जस्तो आओस् त्यो मतलब भएन तर गोरखा हामी कुनै पनि हालतमा छाड्दैनौँ । अर्कातिर केपी ओलीजीले चाहीँ गोरखामा बाबुरामलाई छाडिदिने हो भने गठबन्धनबाट हट्ने धम्कि पनि दिनुभएको सुनिएको र सत्य पनि हो,त्यो । तेस्रो कुरा, ओलीजीले बाबुरामजीलाई मेरो बिरुद्ध उभ्याउन ल्यायो भनेर प्रचण्डलाई थर्काएको पनि सत्य हो । यसकारण यस्ता कुरा चाहीँ हामी पनि बुज्छौँ ।

‘फ्याक्ट’ नै भन्ने हो भने त –यो त सामान्ती संस्कार नै भयो नि हैन र ! घरमा बेलुकी कुनै पाहुना आयो भने माथिल्लो र तल्लो भनेर छुट्याउनु कतिसम्मको निज काम हो । कम्तिमा कम्युनिष्ट रहेको नाताले यस्तो व्यवहार त देखाउनुनपर्ने हो । तर, अन्त्यमा बाबुरामजीले नारायणकाजीसँग ठूलो मतान्तर ‘मार्जिन’ का साथ चुनाव जित्नुभो । यसअघि उहाँ त्यहीँ ठाउँबाट चुनाव जितेर अर्थमन्त्री र प्रधानमन्त्री बन्नुभएको हो । नारायणकाजी यसअघि भएको चुनावमा मकवानपुरबाट उठे तर यसपटक गोरखा रोजे । के केपी ओलीको क्षेत्रमा रामबहादृुर थापा ‘बादल’ चुनावमा उठ्न खोज्ने र प्रचण्डको क्षेत्रमा बामदेव गौतमले म चुनावमा लड्छु भन्ने कुरा कतिको सुहाउने कुरा हो ? यसकारण ओली, प्रचण्ड र नाराणकाजीले चाहीँ जुन ठाउँबाट चुनाव उठेपनि पाउनुपर्ने कुन कम्युनिष्ट सिद्धान्तमा लेखिएको छ ? यसअघि बाम गठबन्धन गर्ने नै हो भनेर ९० प्रतिशत कार्यकर्ताहरु प्रफुल्लित हुनुभयो तर पछि नाराणकाजीसहित उहाँहरुको व्यवहार देखेपछि फर्किन बाध्य हुनुपर्यो । त्यसैले गठबन्धनबाट बाहिरिनुमा यो सिवाय अरु कुनै फ्याक्टर नै छैन ।

यो चाहीँ भन्न सक्दिन

हामीले त आफूलाई कम्युनिष्ट भनेका छैनौँ, बाम लोकतान्त्रिक भनेका छौँ । त्यतिबेला मैले त एमालेको संसदीय दलको कार्यालयभित्रै भनेको थिए–‘बाबुरामजी ! यस्तो भाषण छाड्दिनुस्, यो बारेमा भोलिका दिनमा छलफल गरौँला ।’ साँच्चै भन्ने हो हामी सबै कोही पनि कम्युनिष्ट छैनौँ । त्यसपछि अन्तिममा बाबुरामजीसँग कुरा गरेपछि यो फायलमा सही गरेर आउनुस भन्ने मान्छे मै हुँ । र, बाबुरामजीले संगठनको बैंठकमा दोहोर्याई तेहर्याई भन्नु पनि भयो । यसकारण म त घचेटिएर बाबुरामजीलाई बाम गठबन्धनमा पुर्याउन प्रयत्न गर्ने मान्छे पनि मै हुँ । बामपन्थी आन्दोलनबाट विमोह भएको अझै पनि लाग्दैन । मैले मात्रै माया र आस्था जनाएर त भएन । हामी बामपन्थी आन्दोलनबाट अलग भएका छौँ भनेका छैनौँ बामपन्थी लोकतन्त्र मात्रै भनेका छौँ । यसकारण यो गठबन्धनबाट अलग भएका छैनौ र म पनि अलग भएको छैन । तर, भविष्यमा कहाँ पुगिन्छ भन्न सक्दिन ।

एमाले चानचुने शक्ति होइन

एमाले र माओवादीको भविष्य छर्लंगै छ । साँच्चै सिधा कुरा गर्ने हो भने–माओवादी एमालेमा विलय हुने हो । सुरुमा त के के कुरा हुन सक्लान् । त्यो आफ्नै ठाउँमा छ । त्यतिबेला माले र माक्र्सवाद एकीकरण भयो जतिखेर मनमोहन अधिकारी हुनुभयो । उहाँ मन्त्रालयविहीन प्रधानमन्त्री हुनुहुन्थ्यो । माधब नेपाल अधिकार सम्पन्न उप–प्रधानमन्त्री हुनुहुन्थ्यो । तर, मानिसलाई लाग्ला देवी ओझाले फुइँ हाक्यो भनेर तर एमाले चानचुने शक्ति चाहीँ होइन ! तर सत्य चाहीँ यहीँ हो,‘मूल शक्तिहरुलाई आफूसँग सामेल गराएर त्यसको नेतृत्व लिन्छ ।’ यसकारण अरु पार्टीले एमालेसँग प्रतिस्पर्धा नै गर्न सक्दैनौँ । यसकारण एकता वैधानिक भाषा हो तर यथार्थ चाहीँ विलय हो ।

अर्कातिर,बाम गठबन्धनमा माओवादी सामेल नभएको भए कति सिट जित्थ्यौँ । हदै भन्नुपर्दा ११ सिट । त्यहाँ भन्दा माथि त जित्छ भनेर म सोच्नै सक्दिनथे । तर, अहिले हेर्नुस् त, ३६ सिट पो जित्यो । एमालेसँग गठबन्धन नगरेको भए झापामा राम कार्कीले जित्थे होला ? ललितपुरमा पम्फा भुसालले जित्थे होला ? होला पार्टीको ‘हेड’ भएको नाताले जसरी हुन्छ प्रचण्डले चुनाव जित्थे होला । हामीलाई स्थानीय तह निर्वाचनको चितवनको घटना ताजै छ । हारेको छोरीलाई जिताइ छाडे । यसकारण यस्तो राजनीतिक मामिलामा प्रचण्ड तेजै हुन् । जो कोहीले चलाउन गाह्रो नै पर्ला ।

काँग्रेसको संगठन नाजुक

काँग्रेसको देशको राजनीतिलाई अघि बढाउन उल्लेख्य योगदान रहेको छ । तर आर्थिक र सामाजिक रुपान्तरणको मुद्धा उठाउन सकेन । यसकारण चाहे ००७ साल चाहे ०६२/६३ कै जनआन्दोलन भन्नुस्,यसमा काँग्रेसकै नेतृत्वमा सम्पन्न भयो । तर, आर्थिक र सामाजिक मुद्धाको सिन्को भाँच्ने काम गर्न सकेन । यसकारण आफूलाई ठूला ठाला सम्झिने, चुनाव जितेपछि एकपटक गाउँमा गएर मुख नदेखाउने । हेर्नुस् त, मोरङ–३ मा कम्युनिष्टको गढ मानिने ठाउँमा काँग्रेसले झण्डै जित्यो । जहाँ २२ हजारको हाराहारीमा बामपन्थीसँग काँग्रेसले चुनाव लडिरहेको थियो । अन्त्यमा २ हजारको मतान्तरमा मात्रै बाम गठबन्धनले चुनाव जित्यो । यसकारण काँग्रेसको जनमत नभएको त होइन नि । संगठन नाजुक छ । हेर्नुस् त, काँग्रेस सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवा आफैले चुनावअवधिभर सबैलाई रट्न लगाए,‘बामपन्थीले चुनाव जिते भने हाँस्न पाइँदैन ।’ उनले भन्न सुहाउने कुरा हो त यो । बामपन्थी शासनमा आयो भने अधिनायकवाद आउँछ भन्नु कत्तिको पत्यार कुरा हो । बामपन्थीले जिते भने अधिनायकवाद,तानाशाही आउँछ भन्नेले ०४८ साललाई स्मरण गरे पुग्छ ।

कसैलाई लाग्न सक्छ, प्रधानन्यायाधीश, आइजीपी काण्ड पनि यसका कारक तत्वहरु हुन् तर यस्ता तत्वले केही लछारपाटो लाउँदैन । बुद्धिजीवीहरुले यसको चर्चा गर्नु स्वभाविक हो तर अरुलाई यसको कुनै ‘भ्यालु’ नै छैन ।

अन्तिममा समयको पावन्दीले साथ नदिएसँगै कुराकानीलाई छोट्याउँदै जाँदा उनीमाथि प्रश्न तेर्सियो–

एमालेबाट राजावादी, त्यहाँबाट नयाँ शक्तिमा पुग्नुभयो । अस्थिर हुनुको कारण के ?

(हाँस्दै) यो चाहीँ मिडियाकर्मीले गर्ने जायज कुरा नै हो । तर, राजनीतिक हिसाबले भने त्यति ठीक देख्दिन । तपाईले विवेक शाहको पुस्तक ‘मैले देखेको दरबार’ पढ्नुभयो भने देवी ओझा कस्ता व्यक्ति हुन् थाहा भइहाल्छ । म न कहिले राजावादी चिन्तन नै राख्छु । मलाई यो ‘ट्याग’ भिराइनुचाहीँ ०५४ सालको एमाले फुट्नु नै मूलभूत कुरा हुन् । हो,त्यसपछि नै मलाई यो ट्याग भिराइयो । यसकारण त्यो साल नै मेरा लागि ‘बाइ प्रोडक्ट’ बनिदियो ।

फेरि एमाले फर्किऊ-फर्किऊ जस्तो लाग्दैन ?

नयाँ शक्तिमा यसरी बसेर लागेको मान्छे अब कहाँ एमालेमा फर्किने भन्या ! ‘स्पेस’ भनेको त आफूले पो बनाउने हो । म स्पेशका लागि राजनीति गर्दिन । न मलाई स्पेसकै लागि कसैले यता आइज भनेर तान्यो । जतिखेर मालेमा,एमालेमा पछि मालेमा प्रवेश गरे तर स्पेसका लागि भने गइएन । यसरी एक पछि अर्काे गरेर गइयो त मूल्य मान्यता जोगाउनकै लागि गइयो । यो अन्यथा अरु कुनै झूठा कुरा मैले गरेको छैन ।

अध्यक्ष केपी ओलीसँग त लामो संगत गर्नुभएको छ । केही भन्नुस् न !

उहाँहरुसँगै झापा आन्दोलन पनि सम्पन्न गरियो । हामीबीचमा ‘अच्छा’ सम्बन्ध थियो । अहिले पनि छ ।उहाँको बारेमा त्यस्तो केही भन्नुपर्ला जस्तो लाग्दैन । उहाँ मुलुकको प्रधानमन्त्री पनि भइसक्नु भएको मान्छे हो । अब, पनि फेरि बन्दै हुनुहुन्छ । अहिले कतिपय नेताहरुसँग सम्पर्क छँदै छ ।

त्यसोे केपी ओलीले मुलुकको कायापलट गर्लान् त ?

भविष्य हेर्नुपर्छ । जतिबेला भारतले नाकाबन्दी गर्यो त्यतिबेला पार्टीले जुन अडान लियो त्यो हेर्यो भने नगर्लान् भन्न सकिँदैन होइ !
माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेललाई कसरी दाँज्नुहुन्छ ?र, उहाँहरुको भविष्य कस्तो देख्नुहुन्छ ?

उहाँहरु सिनियर नेता हुनुहुन्छ । तर, दुःखद कुरा बामदेव जीले चुना हार्नुभयो जो गठबन्धनको ‘आर्किटेक्चर’ हुनुहुन्छ । अरु, त सबै ठीक ठाकै देख्छु ।

अब, त्यसोभए नढाटी भन्नुस त,वामदेव पराजयको कारण के हो ?
म अहिले बर्दियातिर गएको पनि छैन । तर, आन्तरिक कारण नभई चुनाव हारेको अवश्य नहोला । कुनै न कुनै आन्तरिक ‘फ्याक्टर’ले काम गरेको छ । तर, मेरो यो अनुमानको विषय हो ।

अन्तिममा तपाईं आफू चाहिँ प्रत्यक्ष निर्वाचनबाट भाग्नुको कारण के नि ?
यहाँ सबैजना उम्मेद्वार बने भने के होला ? सोच्नुस् त ! तर, मलाई सँधैभरि चुनावमा भाग लिनुपर्छ जस्तो लाग्दैन । ०५६ पछि त म चुनावमा उम्मेद्वार भएकै छैन नि ! अब, त बनिँदैन पनि होला । अब यहीँ बसेर आफ्नो विवेकले भ्याएअनुरुप काम गर्नेछु ।

……..उनले कुराकानीलाई बिट मार्दै फेरि क्यान्टिनका साहुनीलाई तीन कप कालो चिया अर्डर गरे । त्यसपछि हामीतिर फर्केर भने,‘हेर्नुस्, कुनै जमाना म पनि तपाईहरु जस्तै थिए । केही वर्ष छापाखानामा काम गरे । पछि कलम कापी समाउने काम पनि गरे ।’ एउटा कुरा चाहीँ नबिर्सनु होला है,‘यो उमेरको जोस,जाँगरलाई अल्छि नबानाउनुहोला । म त २८ वर्षको उमेरमा शिक्षक संगठनको सचिव बनिसकेको थिए ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *