दौरा सुरुवाल टोपी तथा गुन्यु चोलीको महत्वः

 नेपाल एक ऐतिहासिक राष्ट्र हो । नेपाल एक बहुभाषीक, बहुधार्मिक, बहुजातिको साझा फुलबारी पनि हो । साथै सार्वभौमसत्ता सम्पन्न एक ऐतिहासिक पहिचान बोकेको राष्ट्र हो ।

देशमा विभिन्न समयमा धेरै आन्दोलन भए तर परिवर्तनका नाममा जति परिवर्तन देखिए ती सबै जनताका लागि शून्य भन्दा अरू केही देखिएनन । अझै भनौ भने राष्ट्रिय पोशाक त नेपालमा राणाकाल, पंचायत, बहुदल, राजतन्त्र, गणतन्त्र, लोकतन्त्र हुँदै मनपरितन्त्रसम्म आउँदा कैयौँ पटक बस्यो त कैयाँै पटक हटाईयो । तर, यसको मूल्य मान्यता र गरिमालाई कहिल्यै मनन गरिएन । पोशाकलाई मात्र शरीर ढाक्ने साधनको रूपमा लिई यसको मूल्याङ्कन कहिल्यै भएन । २००७ भन्दा अगाडिको त कुरै छाडौ, ०३६, ०४५, ०५७ सम्ममा विभिन्न कारणहरू देखाउँदै पोशाकको गरिमालाई मर्मस्पर्शि रूपमा राजनैतिक घाउहरु लगाइयो र अन्ततः परिवर्तनको नाम राखी २०६८ मा राष्ट्रिय पोशाक दौरा सुरुवाल टोपी हटाई नेपालीलाई पोशाक विहिन बनाईयोे । फलस्वरुप विना पहिचानका नेपाली बनाई विश्व जगतमा परिस्कृत गरियो ।

हुन त परिवर्तन यस्तै हुन्छ होला भन्ने अधिकांश जनतालाई मनमा यही लाग्यो कि घाँडो पन्छियो तर, कसैले पनि मनन गरेन कि हामी के कुरामा अग्रसर हुँदैछौं र के कुरालाई तिरस्कृत गर्दैछौं भन्ने आत्म विवेचना कहीँ कसैले गरेको पाईएन ।

नेपाल एक अलग्गै पहिचान, मौलिकता, भाषा, संस्कृतिको महत्त्व दर्शाउने विश्वको एक मात्र आशाका केन्द्रविन्दु समेत मान्न सकिन्छ । विश्वको इतिहासलाई फर्केर हेर्दा मानव सभ्यताको विकास सँगै सुरुवात भएका परापूर्वकालिन पहिरन, संस्कृति तथा भाषाको उत्पतिको विकास तथा परिमार्जन सँगै विश्वका धेरैजसो देशहरू मौलिक पहिचानलाई छाड्दै आइरहेका छन् । त्यसअर्थमा पश्चिमा देशहरू परिवर्तनका अग्रिणी मानिन्छन । आजको समय सूचना प्रविधि तथा इन्टरनेटको युग हो । भुगोल नै आज एक गाउँ झैँ भइसकेको अवस्था छ । त्यस मध्येपनि पाश्चात्य संस्कृति तथा देशहरूको कार्यशैली पुरै विश्वले स्विकार्न थालिसकेको छ । त्यसको प्रभाव पूर्वीय संस्कृतिमा पनि पर्दै गइरहेको प्रस्ट देख्न सकिन्छ । नेपाल मौलिक, सांस्कृतिक रूपमा सम्पन्न राष्ट्र हो तथापि विदेशी संस्कृतिको हालिमुहाली पनि भित्रिँदै गइरहेको ज्वलन्त उदाहरण पनि देख्न सकिन्छ । नेपालको कला सभ्यता र संस्कृति सँगै सांस्कृतिक सम्पदामा समेत पाश्चात्य देशहरूको आक्रमण हुँदै गर्दा हामी त्यसलाई सहर्ष स्विकार्न थालिसकेका छौँ । अझै भनौ पाश्चात्य संस्कृतिलाई हृदयाङ्गन गरिरहेको आजको युवा पुस्ताको जमात  सर्वत्र देख्न सकिन्छ ।

हरेक देशको आफ्नो पहिचान हुन्छ, मौलिकता, संस्कृति तथा भाषा हुन्छ । देशको प्रतिनिधित्व झण्डाले गर्दछ । त्यस्तै पहिचान पोशाकले पनि गर्दछ । देश संक्रमणकालिन अवस्थामा तथा राजनैतिक अस्थिरताको कारण आर्थिक, नैतिक, सामाजिक, सांस्कृतिक विखण्डनमा गुज्रिरहेको छ । परिवर्तनका नाममा देशको पहिचान नै गुम्न लागि सकेको यथार्थ जगजाहेर छ । विदेशी संस्कृतिको आगमन सँगै भाषा, पोशाक, कला, संस्कृतिको मजाक उडिरहेको छ । नेपाल एक छुट्टै पहिचान बोकेको देश भनेर विश्वभरि चिनिन्थ्यो भने, आजको समयमा नेपाल परजिवि तथा परनिर्भर राष्ट्र भनी चिनिन थालेको छ । कुनै समय नेपालको संस्कृति तथा पहिरन र रहनसहन हेर्नको लागि विदेशी पर्यटकको आगमनको केन्द्रविन्दु नेपाल थियो । अहिले त्यो प्रभाव दिन प्रतिदिन घट्दो छ । हाम्रा पोशाक, संस्कृतिहरु पाश्चात्यकरण हुँदै गईरहेकोमा कुनै दुईमत छैन । देशको प्रतिनिधित्व गर्ने विश्वभरि अलग्गै पहिचान रहेको दौरा सुरुवाल, टोपीलाई अनेकौँ आन्दोलन र तन्त्रका नाममा मनपरितन्त्र गरी महत्त्व र गरिमालाई लिलाम गरियो र गलामा टाई र शरीरमा कोट लगाई परिवर्तनको ढोङ्ग देखाईयो । र, फलस्वरुप आफ्नो पहिचान( दौरा सुरुवाल टोली) लाई लिलामी गरियो ।

आखिर यो कस्तो परिवर्तन हो जुन पहिचानलाई लिलाम गरी गणतन्त्र, लोकतन्त्रको नाम दिइन्छ । हरेक देशको आफ्नो पहिचान हुन्छ जस्मा झन्डा, राष्ट्रियगान, पोशाक विशेष हुन्छ । संसारलाई चिनाउनको लागि हरेक देशले आफूलाई विशेष शैलीबाट प्रस्तुत गर्नेगर्दछ । त्यस्तै पहिचान र गरिमा बोकेको पोशाक हो दौरा, सुरुवाल, टोपी तथा गुन्युचोली ।

के दौरा सुरुवाल लगाउँदैमा देशको विकास हुँदैन ? के पोशाक पुरातन हुँदैमा सोच नुतन हुन सक्दैन ? के पोशाकको मूल्य मान्यता लाज ढाक्नुमात्रै हो ? पोशाकले शरीर ढाक्नु या प्रदर्शन गर्नुमात्र हो भने त्यो पहिचानको लडाई भनी आजसम्म लडिदै आइरहेको आन्दोलनहरुको कुनै तुक छैन । देशमा आज पनि पहिचान, परिवर्तन र विकासको नाममा सङ्घर्ष जारी छ । पहिचानको परिवर्तनले हामीलाई संम्बृद्ध, विकसित र उच्च बनाउँछ भन्ने विषयमा कसैको ध्यानाकर्षण छ या छैन यसमा पनि दुईमत छ ।

पोशाकको गरिमा झन्डा जस्तै उच्च हुन्छ । विश्वलाई चिनाउन पोशाकको पनि ठुलो महत्त्व हुन्छ । अझै नेपाल जस्तो सांस्कृतिक धरोहरको देश अनि विश्वमै पृथक् पहिचान बोकेको दौरा सुरुवाल टोपी, गुन्युचोलीको गरिमाको कुनै मूल्याङ्कन गर्न सकिँदैन । पाश्चात्य संस्कारका देशहरू नेपालको कला, सभ्यता र परम्पराको पारखी हुन । जो पर्यटन प्रवर्धनको एक हिस्सा बनिसकेको छ । त्यस कारण दौरा सुरुवाल र टोपीको संरक्षण गर्नु हरेक नेपालीको दायित्व र कर्तव्य पनि हो ।

मानव उत्पतिको समय मानव जाति कपडा पहिरनको प्रयोग गर्दैनथ्यो । विकास क्रमसँगै शरीर हिफाजत सँगै लाज ढाक्नको लागि पात, बोक्राको प्रयोग गर्दै आज मानव सभ्यता यो अवस्थामा आईपुगेको हो । अब पनि फेशनका नाममा शरीरको अङ्ग प्रदर्शन गरिँदै जाने हो भने हामी पुनः पहिरनमा ढुङ्गेयुगमा पुग्ने निश्चय छ । आफ्नो पहिरनको संरक्षण गर्न युवा पुस्ता सचेत नभएमा हामी पहिचान बिनाको हुनेछौं । देश नाङ्गो तथा पहिचान बिनाको हुने पक्का छ । तसर्थ नेपालको राष्ट्रिय पोशाक हुनु नितान्त आवश्यक छ ।

दौरा सुरुवाल टोपी तथा गुन्यु चोलीको आवश्यक्ता

देशको शान तथा पहिचानमा पोशाकको ठुलो मान्यता हुन्छ । पोशाकले शरीर ढाक्ने मात्र नभई अन्तराष्ट्रमा पहिचानको सङ्केत समेत गर्दछ । हरेक देशको झन्डा सँगै पोशाक पनि हुने गर्दछ । अति विकसित देशहरू पनि आफ्नो पहिचान तथा सभ्यता संस्कृतिलाई विश्वभरि नौलो, पृथक् तथा गरिमामय बनाउन चाहन्छन । विकास एउटा पाटो हो भने पहिचान अर्को पाटो हो । विकास आवश्यक छ तर, पहिचान बिनाको विकासको कुनै अर्थ हुँदैन । विश्वमा नेपाल भन्दा कयौँ धनवान, शक्तिशाली तथा विकसित देशहरू छन् जो आफ्नो पहिचान पोशाकबाट गराउँछन् । नेपाल विश्व नजरमा स्वाभिमानले बाँचेको, शिरमा सगरमाथा र हृदयमा गौतम बुद्ध बोकेको गाम्भिर्यता र सार्वभौमसत्ता सम्पन्न विविध धर्म संस्कृति र परम्परा बोकेको देश हो । विकासमा गति लिन नसकेपनि संसारमा नेपाल पृथक् पहिचान बोकेको स्वतन्त्र देशको रूपमा हेरिन्छ ।

तर हामी हाम्रो संस्कृतिलाई बोझ सम्झन थाली सकेका छौँ । पहिचान बेचेर, स्वाभिमान बेचेर, विकास र परिवर्तन आएपनि आत्मसम्मान कहिल्यै आउन सक्दैन । आत्मसम्मानलाई विश्वको कुनै पैसाले किन्न नसकेजस्तै नेपालको स्वाभिमान र पहिचानलाई कसैले गिराउन सक्दैन भन्नेमा हामी विश्वस्त हुनुपर्दछ । र, यही पहिचानलाई विश्वसामू पुर्याउनका लागि पनि राष्ट्रिय पोशाक आवश्यक छ ।

राष्ट्रिय पोशाक दौरासुरुवाल टोपी, गुन्यचोली नै किन ?

अहिले राष्ट्रिय पोशाक दौरा सुरुवाल र गुन्युचोली नै किन बनाउने भन्ने प्रश्न पनि उठिरहेको छ । तर शताब्दी देखि रहिआएको पहिचानलाई पन्छाउदै पाश्चात्य संस्कृति, पोशाक तथा धर्म परिवर्तन गर्दैमा देशले मुहार फेरेर संवृद्ध हुने हैन ।

हजारौँ वर्षअघि देखि संरक्षण गरिदै आएको लबेदा (दौरा) सरुवाल र पछि आएर जोडिएको शिरको टोपीले इतिहासको कालखण्डमा दिग्विजय गरेको कुरा हामीले विर्सन हुन्न । हिजोको इतिहासका पानामा अझैपनि दौरासुरुवालको महिमा र सामथ्र्यको स्वर्णअक्षर मेटिएको छैन । वीर गोर्खालीको लडाइमा वीर शहिदहरुको छातीमा अंगरक्षक बनेर पहिरिएका हुन्थे । ईतिहासविद सत्यमोहज जोशीका अनुसार दौरा सुरुवाल टोपीको इतिहास मल्लकालीन राज्यभन्दा पनि अगाडी रहेको छ । पाटन, भक्तपुर लगाएतका ऐतिहासिक मन्दिरहरुका मुर्तिहरुमा आज पनि दौरा सुरुवाल टोपी प्रस्ट देख्न सकिन्छ ।

विदेशी संस्कृति र राजनैतिक हस्तक्षेपमा आफ्नो पहिचान विर्सेर हामी जहाँ दौडिरहेका छौ त्यहाँ शून्यता र अन्धकार भन्दा केही पाउनेछैनौ । हामी जुन धरातलमा उभिएका छौ त्यो विश्व जगतलाई एक स्वर्गिय आनन्द लिने गन्तव्य हो भन्ने हामीले बुझ्न आवश्यक छ । हामीले लगाउने टोपीको महत्त्व त अतुलनिय छ । हाम्रो टोपीलाई विश्वको शिखर सगरमाथाको उपमा दिइएको छ भने त्यो उपमा नेपालीको शिर हो । हामी नेपाली टोपी लगाई आफ्नो शिर गर्वले ठाडो गरी विश्वमा अघि बढ्न सक्दछौं ।

आजको समयमा हामीले नेपाल पोशाकको ऐतिहासिकता र महत्वलाई नजोगाई यसलाई इतिहास बनायौं भने भोलीका दिनमा हामीले आफैलाई धिकार्ने दिन नआउला भन्न सकिँदैन ।

देश परिवर्तनको मोडमा छ, विकासको गति लिइरहेको छ तर, यसको मतलब यो हैन कि नयाँ घर बनाउन पुरानो घरको इतिहास सक्नु नै पर्छ । परिवर्तन त्यो हैन जसमा पहिचान गुमेको होस् परिवर्तन त्यो हो जसमा आत्मसम्मान सहितको विकास होस ।

परिवर्तनको नाममा, क्रान्तिको नाममा, विकासको नाममा, धर्मको नाममा, जातको नाममा, वर्गको नाममा पहिचानलाई लिलाम नगरियोस र संवृद्ध राष्ट्र बनाउने अभियानमा पहिचान सहितको पोशाकको रूपमा शताब्दीदेखि मौलिक पहिचान बोेकेको दौरासुरुवाल, टोपी तथा गुन्युचोलीलाई देशको राष्ट्रिय पोशाकको उपमा दिईयोस र यसको संरक्षण, संवर्धन तथा प्रवर्धन गरियोस ।

किन आवश्यक छ राष्ट्रिय पोशाक ?

हरेक देशको आफ्नो पोशाक हुन्छ तर प्रायः देशहरू कोट, पाइन्ट, सर्ट र टाईलाई सर्वव्यापी बनाउँछन । जसरी हरेक देशले पहिचानमा झन्डा देखाउँछन्, आफ्नो पोशाकलाई पनि उत्तिकै महत्त्व दिएका हुन्छन् ।

देशको पहिचान विदेशमा झल्काउनको लागि विदेश यात्रा लगायतका अन्य औपचारिक कार्यक्रम तथा भेटबार्तामा पनि देशको राष्ट्रिय पोशाक लगाउनाले देशको शान, सम्मान तथा जनताको आत्मसम्मान समेत जोडिएको हुन्छ ।

हरेक राजनैतिक कार्यक्रम, समारोह, सरकारी कार्यालयका कर्मचारी तथा उच्च ओहदाका ब्यक्तित्वहरुको आचरण तथा शिष्टतामा सम्पूर्ण देशको शान तथा इज्जत जोहिएको हुन्छ तसर्थ जनताको प्रतिनिधिको रूपमा विशिष्ट दर्जाका व्यक्तित्वहरुले दौरा सुरुवाल टोपी लगायतका राष्ट्रिय पोशाक पहिरेर नै वैदेशिक भ्रमण गरिनुपर्छ ।

अन्त्यमा

देशको पहिचान, आत्मसम्मान, सार्वभौमसत्ता, सभ्यता, पहिचान, पहिरनको जति गुणगान गरे पनि सकिँदैन । किनकि यो मन त मेरो नेपाली हो ।

अध्यक्ष( श्रद्धावान नेपाल), राष्ट्रिय पोशाक दिवसको अभियन्ता

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *