नारायणगढका सडकपेटीमा व्यवसाय गर्न रोक

पुस ४, भरतपुर । भरतपुर महानगरपालिकाले नारायणगढका सडकपेटीमा व्यवसाय गर्न रोक लगाएको छ । नारायणगढ बजारलाई सुन्दर बनाउन महानगरपालिकाले सडकपेटीमा व्यवसाय गर्न रोक लगाएको हो ।नारायणगढ बजारलाई सुन्दर बनाउने अभियानअन्तर्गत महानगरपालिकाले मंगलबार कर्मचारी नै लगाएर नारायणगढ बजारको सडक पेटीमा व्यवसाय गरी बस्नेहरुलाई धपाएको थियो ।

महानगरपालिकाका प्रहरी, नेपाल प्रहरी उद्योग वाणिज्य संघ चितवनका प्रतिनिधिलगायतको टोलीले लायन्सचोकदेखि पुल्चोकसम्मको सडकपेटीमा व्यवसाय गर्नेलाई हटाएको हो । सरोकारवालासँग छलफल गरेर भरतपुरम महानगरपालिकाले यस्तो कदम चालेको हो ।कुनै विकल्प नदिई महानगरपालिकाका कर्मचारीहरुले सडकपेटीमा व्यवसाय गरी बस्नेहरुलाई प्रहरी लगाएर जबर्जस्ती लखेटेको सडकपेटीमा व्यवसायी गरी बस्नेहरुले बताएका छन् ।

सडकपेटीमा बसोबास गरी व्यवसाय गर्नेहरुलाई फुटपथका व्यवसायी भनिन्छ ।  महानगरपालिकाले व्यवसायीहरुलाई लखेट्दा फुटपाथका व्यवसायीहरु भागाभाग भएका थिए । विक्री गर्न राखिएका सामानहरु सडकभरि छरपस्ट भएका थिए । सडकपेटीका व्यवसायीलाई लखेट्नुअघि महानगरपालिकाले माइकिङ गरेर सबैलाई सूचना दिएको थियो । तर पनि अटेर गरी साना व्यवसायीहरुले सडकपेटीमा व्यवसाय गरी बसेका थिए ।

‘हिँड्ने सडकमा व्यवसाय गर्दा दुर्घटना बढेको थियो । सहर पनि कुरुप बनेको थियो । त्यसकारण महानगरपालिकाले नारायणगढको सडकमा व्यवसाय गर्न रोक लगाएको हो’ भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले भनिन् । नारायणगढ सहरलाई सुन्दर नगरी बनाउन महानगरपालिकाले सडकपेटीको व्यवसाय सञ्चालनमा रोक लगाएको उनले बताइन् । उपमेयर शाहले सडकपेटीमा बसेर व्यवसाय गर्ने साना व्यवसायीहरुको रोजीरोटीबारे महानगरपालिका गम्भीर भएको बताइन् ।

उनले भनिन्, ‘उनीहरुको रोजीरोटी महानगरपालिकाले खोस्दैन । उनीहरुलाई नै व्यवस्थित पार्नको लागि हटाइएको हो ।’ साना व्यवसाय सञ्चालन गर्ने ठाउँ सडकपेटी नभएको उनले बताइन् । उनले भनिन्, ‘महानगरपालिका साना व्यवसाय सञ्चालन गर्नेहरुलाई विकल्प दिनको लागि उचित ठाउँ खोज्दैछ ।’सडक छेउमा व्यवसाय गर्दा सडक अव्यवस्थित र पैदल यात्रा गर्ने सर्वसाधारणलाई असहज भएको हुनाले महानगरपालिकाले यो कदम चालेको उपमेयर शाहको भनाइ छ ।

सडकपेटीमा व्यवसाय गरी बस्नेहरुले आफूहरुलाई कुनै विकल्प नदिई महानगरपालिकाले लखेटेको बताएका छन् । ‘हाम्रा पनि बालबच्चा छन्, पाल्नुपर्छ । पढाउनुपर्छ । हामीले पनि खानुपर्छ। रोजीरोटी खोस्ने गरी लखेटेरमात्र हुन्छ ? विकल्प दिनुपर्दैन ?’ सडकपेटीमा व्यवसाय गर्ने साबित्री भण्डारीले भनिन्, ‘अब हामी कहाँ जाने ? के गर्ने ? कसरी आफ्ना बालबच्चा पाल्ने ?

विकल्प रुखमुनि हुनसक्छ !

महानगरपालिकाले छरपस्ट हुने गरी सडकपेटीमा व्यवसाय गर्न रोक लगाए पनि आलोपालो गर्ने गरी सडकमा भएका रुखमुनिमात्र दुई जनालाई व्यवसाय गर्न दिने गरी विकल्प खोज्ने कि भन्ने विषयमा पनि छलफल चलाएको छ । ‘यो विषयमा महानगरपालिकाको सोच छ, तर यसको असर सबै ठाउँमा प¥यो भने सहर कुरुप हुनसक्छ’ उपमेयर शाहले भनिन्, ‘उनीहरुसँग छलफल गरेर आलोपालो हुने गरीरुखमुनिमात्र दुई जनालाई मात्र व्यवसाय गर्न दिने निर्णय छलफलमा मात्र रहेको छ ।’

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *