विद्यार्थीलाई सवारी चलाउन कडाई, स्कुल ड्रेसमा मोटरसाइकल र स्कुटी चलाउन नपाउने

पुस ४, चितवन । जिल्लामा गुड्ने निजी विद्यालयका सवारी साधनको रंग सुन्तला–पहेँलो बनाइने भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र उच्च माध्यमिक विद्यालय संघ (हिसान) बीच मंगलबार यहाँ भएको सहमतिमा आगामी चैत मसान्तसम्ममा निजी विद्यालयका सबै सवारी साधनमा एउटै रंग बनाउने उल्लेख छ ।

बीस वर्षभन्दा पुराना सवारी साधन सञ्चालन नगर्ने, सवारी चालक र सहचालकले गाढा निलो रंगको पोशाक अनिवार्य लगाउनु पर्ने सहमति भएको छ। ट्राफिक प्रहरीले यस्ता सवारी साधनलाई एम्बुलेन्स सरह प्राथमिकतामा राखी ट्राफिक व्यवस्थापन गर्ने सहमति भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले बताए।

सवारी चालक र सहचालकले सवारी चलाएको समयमा मादक पदार्थ र सूर्तीजन्य पदार्थ सेवन गर्न नपाउने, मोबाइल फोनमा कुरा गर्न नपाउने, कक्षा ११ र १२ का विद्यार्थीलाई विद्यालय पोशाकमा मोटरसाइकल र स्कुटी चलाउन नदिइने र विद्यार्थीलाई सवारी नियम र ट्राफिक ज्ञान दिइने पनि सहमति भएको पन्तले जानकारी दिए।

जिल्लामा ३०० भन्दा बढी निजी विद्यालयका सवारी साधन रहेका छन्। सहमतिमा प्याब्सन चितवनका अध्यक्ष देशबन्धु अधिकारी, हिसान चितवनका अध्यक्ष भूपेन्द्र धिताललगायतको हस्ताक्षर रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *