स्वास्थ्य सम्बधि जनचेतना जगाउँदै वीपीका विद्यार्थी, सयौं लाभान्वित


“
पुस ४, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीले सञ्चालन गरिरहेकाे प्राथमिक उपचारको प्रशिक्षण तथा रजस्वला सचेतना सम्बन्धि अभियानबाट सयौं विद्यार्थीहरु लाभान्वित भएका छन् । प्रतिष्ठानका एमबीबीएस तेश्रो वर्षका विद्यार्थीले मोरङको रंगेली आसपासका विद्यालयका छात्रछात्रका बिचमा चलाइएको अभियानमा आइतवारसम्म १५ सय ६० विद्यार्थीहरु लाभान्वित भएका हुन् ।
रोट्रयाक्ट क्लब घोपा, रङ्गेली अस्पताल, बिराटनगर लेडिज सर्कल, बिराटनगर प्लेटिनम राउन्ड टेबल र इप्का लेब्स जस्ता संस्थाहद्धारा संयुक्त रुपमा आयोजीत ६ दिने प्रशिक्षण र सचेतना कार्यक्रम गत बुधबार देखि सुरु भएको हो । आइतवार मकालू एकेडेमीका कक्षा ५, ६, ७, ८, ९ र १० का १ सय ७० विद्यार्थीहरु सहभागी रहेका विद्यालयका प्रधानाध्यापक भक्तराज सुब्बाले जानकारी दिए । यस अघिका पाँचदिनमा रङ्गेलीका मिनिलेण्ड एकेडेमी, भानु एकेडेमी, पब्लिक मावि, महालक्ष्मी मावि, रत्ना मावि, जनता मावि र पार्वती माविका १३ सया ९० जना विद्यार्थीहरु सचेतना कक्षामा सहभागी भएका थिए ।
प्रशिक्षण एवं सचेतना कक्षाहरुमा विद्यार्थीहरुले उत्सुकता पूर्वक चासो लिएका बिराटनगर प्लेटिनम राउण्ड टेबलका अध्यक्ष डा. बिमल अग्रवाल र बिराटनगर लेडिज सर्कलकी अध्यक्ष डा. कोपिला अग्रवालले प्रतिक्रिया दिए । अन्तिम दिनको कार्यक्रममा स्थानीय बजरंग अग्रवालले प्रशिक्षक शुभम कुमार अग्रवाललाई दोसल्ला ओढाएर सम्मान गर्दै रङ्गेलीबासीको तर्फबाट धन्यवाद दिएका थिए । अभियानमा एमबिबिएस तेस्रो बर्षका शुभम कुमार अग्रवालले प्राथमिक उपचार तालिम दिएका थिए । उनका अनुसार प्राथमिक उपचार तालिमबाट दुर्घटनामा मृत्युु हुनेको संख्या न्युनिकरणमा निकै ठुलो सहयोग गर्नेछ ।
पानीमा डुबिरहेको, कुकुर, सर्पको टोकाइ, हाथ खुट्टा भाचिएका, नाकबाट रगत बगेका, विषादी सेवन, रक्तश्रावका अवस्थाहरुमा मानिस बचाउन गरिने प्राथमिक उपचारबारे प्रशिक्षण दिइएको थियो । छात्राहरुलाई रजस्वलाबारे भ्रामक कुराहरुबाट मुक्त गराउँदै शारिरिक परिवर्तनबारे सचेत बनाउने उद्देश्यकासाथ २८ दिनमा महिनावारी भएन भने स्वास्थ चौकी जाउँ, महिनावारी हुदा सरसफाईलाई ध्यान दिउँ , महिनावारी प्राकृतिक कुरा हो कुनै पाप होइन र रजस्वला भएका महिलालाई छिछि दुरदुर होइन माया गरौ जस्ता सन्देश सहित संचेतना कक्षा सञ्चालन गरिएको थियो । रङ्गेली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उत्तम देबका अनुसार संचेतना कक्षा प्रभावकारी भयो ।
अभियानमा प्रतिष्ठानबाट रङ्गेलीमा विभिन्न स्वास्थ सम्बन्धि शोधकार्यमा रहेका विद्यार्थीहरु संलग्न भएकामा प्राध्यापक डा. अरुणकुमार सिंह, डा. दिपक कुमार यादव, डा. रामबिलक्षन साह, डा. राजेन्द्र कार्की, डा. विजय खनाल, डा. श्याम सुन्दर बुडाथोकी र डा. कमलेश यादवले अनुगमन गरेका थिए । विद्यार्थीबाट स्थापित रोट्रयाक्ट क्लबले रक्तदान कार्यक्रम, विद्यालयहरुमा निःशुल्क प्राथमिक उपचार तालिम, प्रौढ शिक्षा, जनचेतना मुलक सडक नाटक , सडक बालबालिकका स्वास्थ्य जाँच लगायत स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु गर्दै आएको छ ।
“
