उम्मेदवारको चुनावी खर्च पत्याउनै गाह्रो

पुस ३, भरतपुर । चितवनबाट प्रतिनिधि तथा प्रदेश सभातर्फ उम्मेदवार बन्नेहरुले पत्याउनै गाह्रो पर्ने चुनावी खर्च विवरण सुनाएका छन् । उनीहरुले तोकेको मिति भित्रै चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाउने दावी गरेका छन् ।

चितवनका उम्मेदवारहरुले निर्वाचन आयोगको सीमाभन्दा कम चुनावमा खर्च भएको दावी गरेका छन् । तर उम्मेदवारहरुको यस्तो भनाइप्रति धेरै मतदाताहरु विश्वास गर्न सक्दैनन् । चुनावको प्रचारशैली र तडकभडक हेर्दा उम्मेदवारहरुले बताएको खर्चले धान्न सक्ने स्थिति देखिएको थिएन । कतिपय मतदाताहरु आयोगले तोकेको सीमाले चुनाव खर्च पुग्नै नसक्ने बताउँछन् ।

स्थानीय तहको चुनाव हेरी यसपटकको चुनावमा उम्मेदवारको खर्च कम भएको अनुमान गरिएको छ, तर पनि खानपान र हिँडडुलमा उम्मेदवारहरुको बढी खर्च भएको देखिन्छ । पोस्टर, पम्पलेट, झण्डा, चिन्ह अंकित टिसर्ट र टोपी लगाउन प्रतिबन्ध भए पनि उम्मेदवारका खर्चका अन्य स्रोतहरु प्रशस्त थिए । केही उम्मेदवारले साथीभाइको सहयोगले चुनावको खर्चको विवरण ज्यादै सानो भएको दावी गरे ।

चितवन क्षेत्र नम्बर १ का प्रतिनिधितर्फका उम्मेदवार राजेन्द्र बुर्लाकोटीले आफ्नो चुनावी खर्च २४ लाख ९५ हजार खर्च भएको बताउँछन् । प्रत्यक्षतर्फ प्रतिनिधि सभामा उम्मेदवार बन्नेहरुले बढीमा २५ लाखसम्म खर्च गर्न पाउँछन् । उनले भने, ‘आयोगले तोकेको सीमाभित्रै मेरो खर्च भएको छ । म आफ्नो खर्च विवरण आयोगमा छिटै बुझाउँछु ।’ उनले आफूले भनेको खर्च विवरणमा दुईचार हजार तलमाथि हुनसक्नेसमेत बताए ।

प्रतिनिधि र प्रदेशसभामा उम्मेदवार बन्नेहरुले चुनावी नतिजा आएको ३५ दिनभित्र खर्चको विवरण निर्वाचन आयोगमा बुझाउनुपर्छ । उम्मेदवारले खर्चको सीमाभन्दा बढीको विवरण प्रस्तुत गरे आयोगले कारबाही गर्छ । आयोगले प्रतिनिधि सदस्य पदका उम्मेदवारहरुलाई अधिकतम चुनावी खर्च २५ लाख र प्रदेश सभाका उम्मेदवारलाई १५ लाखको सीमा तोकेको छ ।

आयोगले तोकेको खर्च सीमाभित्रै चुनावी खर्च भएको उम्मेदवारहरुले दावी गरे पनि गाडी, भोजभतेर, इन्धनलगायतका कारणले उम्मेदवारको खर्च आयोगले दिएको सीमाभन्दा बढी भएको चुनावका पर्यवेक्षकहरु बताउँछन् । चितवन क्षेत्र नम्बर १ का विजयी उम्मेदवार सुरेन्द्र पाण्डेले आफ्नो चुनावी खर्च २०/२२ लाख भएको बताए । उनले भने, ‘पोस्टर थिएन, व्यानर थिएन । जम्मा एउटा गाडी थियो । घरदैलोमा अलिअलि खर्च भएको हो ।’ उनले आयोगले तोकेको समय सीमाअगावै खर्च विवरण बुझाउने बताए ।

चितवन क्षेत्र नम्बर २ मा प्रदेशबाट विजयी भएका कृष्णप्रसाद खनालले चुनावमा १२/१३ लाख खर्च भएको बताए । उनले भने, ‘मेरो के थियो र खर्च गर्ने ? मैले कुनै होटल रिजर्भ गरेर कार्यकर्तालाई मासुभात खुवाइनँ, मैले घरमा भात खाएँ । मसँग गाडीमा हिँड्ने ३/४ जनालाई पनि घरमै भात खुवाएँ । कुनै पर्चा पम्पलेट छापिनँ ।’ खनालले आयोगबाट पत्र आएपछि तत्काल खर्चको विवरण बुझाउने बताए ।

चितवन क्षेत्र नम्बर १ को प्रदेश १ बाट विजयी भएका दावादोर्जे लामाले चुनावमा जम्मा दुई चारलाख मात्र खर्च भएको बताए । उनले भने, ‘मलाई चुनावमा साथीभाइहरुले सहयोग गरे । साथीहरुको गाडी पालैपालो गरेर चढें । जुन वडामा गयो, त्यही वडाका साथीहरुले खाना खुवाए ।’ उनले आफ्नो चुनाव ज्यादै सस्तो र सुरक्षित भएको दावी गरे ।

क्षेत्र नम्बर ३ को प्रदेशतर्फ विजयी भएका कृष्ण भुर्तेलले पनि आयोगको सीमाभन्दा कम खर्च भएको बताए । उनले भने, ‘निर्वाचन परिचालन समितिले समीक्षा गरेपछि खर्च विवरण बुझाइन्छ । मेरो चुनावी खर्चले आयोगको सीमा नाघेको छैन ।’
चितवन क्षेत्र नम्बर २ को प्रदेशबाट पराजित भएका जितनारायण श्रेष्ठले आफ्नो जम्मा ८/९ लाखमात्र खर्च भएको बताए । उनले भने, ‘एक हप्ताभित्र खर्च विवरण बुझाउँछु ।’ चितवन क्षेत्र नम्बर २ को प्रदेश २ बाट विजयी भएका विजय सुवेदीले पनि आफ्नो चुनाव खर्च १२ लाखमात्र भएको बताए ।

निर्वाचन कार्यालय भरतपुरले पुस १ गतेबाट उम्मेदवारहरुलाई खर्च विवरण बुझाउनको लागि ढोका खुला गरिसकेको जानकारी दिएको छ । निर्वाचन कार्यालय भरतपुरका प्रमुख हरि ढकालले निर्वाचनको नतिजा आएको ३५ दिनभित्र खर्च विवरण बुझाउनुपर्ने बताए । उनले भने, ‘हालसम्म कुनै पनि उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । समय पनि बाँकी छ ।’

उम्मेदवारले बुझाएको विवरणमा कुनै शंका लागे आयोगले छानविन गर्ने सक्नेछ । ‘हामीले जिल्लामा केही गर्ने अधिकार छैन, उम्मेदवारले जस्तो खर्च विवरण बुझाउँछन्, हामीले त्यस्तै पठाउँछौँ । उम्मेदवारको खर्च सुचीमा कुनै शंका लागे आयोगले छानविन गर्छ’ निर्वाचन कार्यालयका सूचना अधिकारी भीमप्रसाद ढकालले भने, ‘आयोगले सुक्ष्म अनुगमन पनि गर्छ, त्यसबारेमा हामीलाई जानकारी हुँदैन ।’ प्रदेश तथा प्रतिनिधिसभाका सबै उम्मेदवारले खर्चको विवरण बिल भर्पाइसहित पेश गर्नुपर्ने उनले बताए ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *