अनुहार देखाउन नचाहने छुल्टिमको छलाङ !


“
काठमाडौं, पुस २ । ‘९८४१……’ आइतबार दुई पटकको ताकेतापश्चात् फोन उठ्यो ।
‘हल्लो! छुल्टिम दाई बोल्दै हुनुहुन्छ, होइन ।’ मोवाइलमा घडीको सुइले आठ बजेर ४८ मिनेट जाँदै गरेको संकेत दिइरहेको थियो ।
शायद हुन सक्छ,बज्दै गरेको मोवाइलको रिङटोनलाई स्विप गर्दै एक जना व्यक्तिले फोन उठाए,‘होइन म रविन्द्र बोलीरहेको छु ।’ फेरि प्रश्न आयो,‘को बोल्दै हुनुहुन्छ ?’
………त्यसपछि आफ्नो परिचय दिएपछि दुवैबिचमा चिनापर्ची भयो । तर, मुख्य व्यक्तिसँग कुराकानी भने गर्न नपाइने भइयो । तत्काल रविन्द्रले एउटा शर्त तेर्साइहाले,‘छुल्टिम दाईको सट्टामा मैले बोल्नुपर्ने भो ! मञ्जुर हुनुहुन्छ ?’
‘किन ? दाईलाई सञ्चो छैन र !’
‘विसञ्चो त हुनुहुन्न’ तर…उनी अन्कनिए ।
लम्बाइ/चौडाइ गर्ने समय नभएकोले मैले तत्काल कुरालाई मोडिइहाले,‘ ठीकै छ नि त ! म हजुरसँगै बात मार्छु ।’ त्यसपछि कुरा रफ्तारमा अघि बढ्यो । मैले भ्याएजत्ति उनको बोलीलाई कापीमा यसरी सारे ।
अपांग भन्ने वित्तिकै हेप्ने र चेप्ने परिपाटी छ । तर, हिजो त्यही अपांगका रुपमा हेपिएकाहरुले राज्यलाई विदेशमा समेत चिनाउने काम गरेका छन् । यस्तै, उदाहरणीय काम गरेर चर्चा बटुल्न सफल व्यक्ति हुन्,छुल्टिम शेर्पा र रबिन्द्र गुप्ता ।
यी दुई व्यक्तिको अथक प्रयास र मेहनतबाट नेपालमा प्रथम अन्तराष्ट्रिय ह्विल चेयर टुर्नामेन्ट सम्पन्न भयो हिजो । र, आयोजक नेपालले भारत र बंगलादेशलाई हराउँदै उपाधी चुम्न सफल भएर शारीरिक रुपमा अपांगहरुले पनि देशका लागि केही गर्न सक्छन् र देशको नाम फैलाउन सक्छन् भन्ने उदाहरण बनेर कीर्तिमानी कायम गरेका छन् ।
झण्डै साढे दश लाख लागतमा सम्पन्न भएको सो प्रतियोगिता गर्न कतिको चुनौतीपूर्ण थियो ?
मेरो जिज्ञासा रह्यो छुल्टिम शेर्पासँग । तर, छुल्टिम टेलिफोनमा उपलव्ध नभएपछि त्यसको सवाल जवाफ पनि उनैले दिए । फोन वार्ताका क्रममा गुप्ताले यहीँ शर्त सुनाएका थिए,‘ छुल्टिम दाई मिडियामा आउन चाहनुहुन्न । भन्नुहुन्छ,’मैले त्यस्तो के नै गतिलो काम गरेको छु र ! सबै सामू आफ्नो अनुहार देखाऊ !’
उतिबेला काम गर्ने तर मिडियामा आउन नचाहने छुल्टिमको मोवाइल रबिन्द्र गुप्ताले उठाएका थिए । कुराकानीको अन्त्यमा आइपुग्दा पो उनले कहे,उनी चाही नेशनल एम्पायर रहेछन् ।
यसअघि पीडा पोख्दै उनले भने,‘कार्यक्रमका लागि खर्च जुटाउन हामी कहाँ कहाँ मात्र पुगेनौ ? बैंकदेखि कर्पाेरेट हाउसहरु कहिँ बाँकी रहेनन् ।’
तर,अपांग भन्दै धेरैले घण्टौ कुराउने र रित्तै फर्काउने परिपाटी दोहोरियो । तर, हार खाएनन् रबिन्द्रहरुले । ‘उद्धेश्य के लिनु उडि छुन चन्द्र एक’ उनीहरु निरन्तर, धाइरहे । धाइरहे । धाइरहे ।
आफ्नो उद्धेश्यमा दगुर्नेक्रममा नेपाल टेलिकम,मेगा बैंकले उनीहरुको प्रस्तावमा सहयोग गर्न मञ्जुर भयो । उनले सुनाए,‘दुबै सस्थाले ५०/५० हजार सहयोग गरे । केही राहत जुटेजस्तो महशुस भयो ।’
दैव कहाँ लुकेको छ त्यो त कस्ले देखेको छ र ! तर,भन्छन नि ‘तँ आँट म पुर्याँउछु’ असल उदेश्यले काम थालेपछि ढिलो चाँडो पूरा हुन्छ नै । नभन्दै, छुल्टिम र रविन्द्रहरुको यो सत्प्रयासमा नेपाल बंगलादेश बैंकले पनि दश हजार रुपैंयाको व्यानर प्रायोजन गरिदियो ।
सहयोगी हातहरु जुट्ने क्रममा त्यही भीडमा सुशील कोइराला फाउण्डेसन पनि थपियो । उस्ले ट्रफी र खेलाडीहरुका लागि जर्सी उपलव्ध गराइदियो ।
त्यस्तै, अर्काे मनकारी समाजिक अभियन्ता श्वेता जैनको लेडिज सर्कलले सो कार्यक्रममा आएकाहरुलाई लजिड र फुटिडको व्यवस्था मिलाइदिईन् । ‘त्यो गुण कहिल्यै बिर्सने छैनौँ’ रविन्द्र अलि भावुक बने,‘राज्यले आफ्नो गाँसको जोहो गर्न नसक्दा उहाँ एक्लैले त्यो सेवा दिलाइदिनुभयो ।’
यसरी यो सत्कर्ममा एक पछाडि अर्काे दाताहरु भेटिए । राष्ट्रिय खलकुद परिषद् (राखेप)ले त्रिवि क्रिकेट मैदान उपलव्ध गराइदियो । जब, कार्यक्रमस्थलमा राखेप सदस्य सचिव केशव विष्ट पुगे । उनले त्यहाँ विजेतालाई ५० हजार र रनरलाई २५ हजार दिने घोषणा गरे ।
अनेक बाधा अड्चनका बाबजुद साढे दश लाख लागतमा प्रतियोगिता त सम्पन्न भयो तर छुल्टिमहरुको अर्काे पीडा थपियो । प्रतियोगिता समापन गर्दा झण्डै पाँच लाख ऋण थाप्लोमा आइलागेको छ । त्यो ऋण तिर्नु छ । फेरि अर्काे उद्धेश्यतिर पनि लम्किनु छु…।
‘तर पटक्कै हरेश खाएका छैनौँ ।’ गुप्ता भन्छन्,‘कसरी हुन्छ यो समस्याको हल त गर्नु नै पर्नेछ ।’
अन्त्यमा उनी भन्छन्,‘अबको हाम्रो मिसन एसिया कप गर्ने हो । क्रिकेटको यो उपाधी पछाडि अपांगहरुले हरेश खाँदैनन् । हामी गर्न सक्छौं । अशक्त भए पनि देशलाई चिनाउन सक्छौं भन्ने झनै आत्मविश्वाश थपिएको छ ।’ तर…यात्रा कठिन छ ।
उनले सुस्केरा हाल्दै आफ्नो कुरा राख्न दिइएकोमा ‘धन्यवाद’ प्रकट गरे । फोन काटिइयो ।
“
