जहाँ जीवनजल र सिटामोल छैन

जाजरकोट, १५ असार । यहाँको नलगाड नगरपालिका–१३ भगवती औलगुर्ताका रती कामी ज्वरो आएर हैरान भएर उपचारका लागि स्थानीय भगवती स्वास्थ्य चौकी जाँदा सिटामोलसमेत नपाएपछि निरास भएर फर्किनुभयो । यहाँ सधैँ औषधिको अभाव भइरहन्छ । सामान्य खालका बिरामीको समेत उपचार हुँदैन उहाँले भन्नुभयो, “सरकारले निःशुल्क दिने भनेको औषधि कहिल्यै पाइँदैन । हामीजस्ता विकटका जनताका लागि सरकारी सेवा आकासको फल आँखा तरी मरजस्तै भएको छ ।” अर्का स्थानीय प्रेम वस्नेतले पनि सामान्य खालका औषधि समेत स्वास्थ्य चौकीमा नपाउने गरेको बताउनुभयो ।

स्वास्थ्य चौकीमा जीवनजल समेत नभएको उहाँको भनाइ छ । “पखाला लागेर आमालाई स्वास्थ्य संस्था लगेको थिए तर त्यहाँ जीवनजल नै रहेनछ ।” उहाँले भन्नुभयो औषधि र स्वास्थ्यकर्मी अभाव भइरहने दुर्गमको स्वास्थ्य चौकी हो यो । भगवती स्वास्थ्य चौकीका स्वास्थ्य व्यवस्थापन समितिका पूर्व अध्यक्ष अमर शाही पनि स्वास्थ्य चौकीमा प्राय प्रयोगमा आउने औषधि नभएको जानकारी दिनुभयो । शाहीले भन्नुभयो राज्यको उदासीनता र उपेक्षाले गर्दा उपचारका लागि आउने सर्वसाधारण निःशुल्क पाउनुपर्ने औषधिसमेत नपाएर रित्तै फर्कन बाध्य छन् ।

सुगमका स्वास्थ्य संस्थामा मात्र औषधि पठाउने तर दुर्गम तथा दूरदराजका स्वास्थ्य संस्थामा सधैँ यस्तै समस्या भइरहने उहाँको भनाइ छ । “राज्यले निःशुल्क दिने भनेको औषधि नपाउँदा स्थानीय झारफुक र जडीबुटीको साहारा लिन बाध्य छन् ।” डोल्पा जिल्लासँग सिमाना जोडिएको साविकको भगवती गाविसको औलगुर्तामा रहेको यो स्वास्थ्य चौकी जिल्लाकै सबैभन्दा दुर्गम स्थानमा पर्दछ ।  स्वास्थ्य संस्थाबाट सरकारले ३५ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको दाबी गरे पनि जाजरकोटको भगवतीलगायतका ३१ वटा स्वास्थ्य चौकीमा कहिल्यै सबै प्रकारका औषधि पुगेको पाइँदैन । दुर्गमका बासिन्दा सामान्य रोगको उपचारका लागि पनि हजारौँ खर्चेर जिल्ला बाहिर जानुपर्ने बाध्यतामा छन् ।

सरकारले सबै नागरिकलाई स्वास्थ्य सेवाको सहज पहुँच पु¥याउने उद्वघोष गरे पनि जाजरकोटका दुर्गम बस्तीका नाम मात्रका यी स्वास्थ्य चौकीमा यतिबेला सिटामोल, जीवनजल, स्क्रयाबिज, एसिलक, एमजिटलगायतका अत्यावश्यक औषधि नहुँदा सेवाग्राही मर्कामा परेका हुन् । स्वास्थ्य चौकीका इन्चार्ज स्वास्थ्य सहायक अरुणकुमार यादवले औषधिको अभाव नभए पनि पर्याप्त नभएको जानकारी दिनुभयो । केही अत्यावश्क औषधिको अभाव भएकाले जिल्ला जनस्वास्थ्य कार्यालयमा माग गरिएको र अस्तव्यस्त अवस्थामा रहेको स्वास्थ्य संस्थाको सेवा प्रवाहमा सुधार ल्याउने प्रयास भइरहेको बताउनुभयो ।

तर जिल्ला जनस्वास्थ्य प्रमुख धीरजङ्ग शाहले जिल्लामा औषधिको अभाव नभएको बताउँदै मागको आधारमा औषधि आपूर्ति गर्ने गरिएको बताउनुभयो । उहाँले औषधिको स्टक सकिएका स्वास्थ्य संस्थाले तत्काल औषधि माग गरेर लिन निर्देशन दिएको पनि जानकारी दिनुभयो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *