मलेसियालाई ७२ रनले पराजित गर्दै नेपाल फाइनलमा


“
पुस १, काठमाडौ। नेपाल एसिसी यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ,आज थाइल्यान्डमा भएको सेमिफाइनलमा मलेसियालाई ७२ रनले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो।
नेपालले उपाधिका लागि आइतबार सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । आज नै भएको अर्को सेमिफाइनमा सिंगापुरले हङकङलाई ८ विकेटले पराजित गरेको छ।
नेपालले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको मलेसिया २१।१ ओभरमा ५५ रनमा अलआउट भएको थियो । मलेसियालाई सस्तैमा समेट्नका लागि नेपालका सूर्य तामाङले ४ विकेट लिए। भने, प्रतिश जिसीले ३ विकेट हात पार्दा कुशल मल्ल र अजय कुमार लोनियाले १–१ विकेट लिए।
मलेसियाका लागि ओपनर सन्देश सुप्ररमन्यमले १६ रनको योगदान गरे। अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। त्यसअघि मलेसियाले टस जितेर फिल्डिङ गरेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३४ ओभरमा ८ विकेटको क्षतिमा १ सय २७ रन जोड्यो।
नेपालका लागि प्रतिश जिसीले सर्वाधिक २५ रनको योगदान गरे। उनले २२ बलमा समान १–१ चौका र छक्का प्रहार गरे। नारायण जोशी र सुनिल भण्डारीले १७–१७ रनको योगदान गरे। नारायणले २२ बलमा २ छक्का हिर्काउँदा सुनिलले १९ बलको सामना गर्दा २ चौका प्रहार गरे।
त्रितराज दासले १३, कप्तान रित गौतमले ११ र विशालविक्रम केसीले १५ रन जोडे। ओपनिङ ब्याट्सम्यान राजन मगरले ११ रनको योगदान गरे। खराब ओपनिङ गरेको नेपालले २३ ओभरमा ५ विकेट गुमाएर ६७ रन जोडेको थियो। तर तल्लो क्रमका ब्याट्सम्यानले आक्रामक ब्याटिङ गरेका थिए। बलिङतर्फ मलेसियाका मोहमद अफिकले ३ विकेट लिएका थिए ।
“
