कैलालीमा ७० प्रतिशतभन्दा बढी मतदान, मतगणनाको तयारी हुँदै

धनगढी, १४ असार । दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन कैलालीमा आज शान्तिपूर्ण रुपमा उत्साहकासाथ सम्पन्न भएको छ । जिल्लामा ७० प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ । केही स्थानीय तहमा आजैदेखि मतगणना सुरु हुने तयारी पनि भइरहेको र बाँकीमा भोलिदेखि सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा १३ स्थनीय तह छन् । सबै तहका मतपेटिका सम्बन्धित निर्वाचन कार्यालयमा ल्याउने काम सुरु भएको र त्यसपछि मतगणना सुरु हुने जनाइएको छ । जिल्लाका धनगढी उपमहानगरपालिकामा ६५ प्रतिशत, टीकापुर नगरपालिकामा ६५ प्रतिशत, लम्कीचुहा नगरपालिकामा ७३ प्रतिशत, भजनी नगरपालिकामा ७८ प्रतिशत, गौरीगङ्गा नगरपालिकामा ६५ प्रतिशत र गोदावरी नगरपालिकामा ६७ प्रतिशत मत खसेको सम्बन्धित तहका निर्वाचन कार्यालयले जनाएका छन् ।

त्यस्तै घोडाघोडी नगरपालिकामा ७५ प्रतिशत, कैलारी गाउँपालिका ७३ प्रतिशत, बर्दगोरिया गाउँपालिकामा ७० प्रतिशत, चुरे गाउँपालिकामा ७२ प्रतिशत, मोहन्याल गाउँपालिकामा ६२ प्रतिशत, जानकी गाउँपालिकामा ७० प्रतिशत र जोशीपुर गाउँपालिकामा ७५ प्रतिशत मत खसेको छ । यसैगरी भौगोलिक रुपमा दुर्गम रहेको चुरे गाउँपालिकाको गर्वा मतदान केन्द्रबाट मतपेटिकालाई मतगणनास्थलसम्म ल्याउन हेलिकोप्टर प्रयोग गरिने निर्वाचन अधिकृत कृष्णबहादुर बोहराले जानकारी दिनुभयो ।

भौगोलिक रुपमा दुर्गम मानिएका मोहन्याल र चुरे गाउँपालिकाका सबै मतपेटिका सम्बन्धित निर्वाचन कार्यालयसम्म आइपुग्न समय लाग्ने भएकाले त्यहाँको मतगणना बिहीबारबाट मात्र सुरु हुने बताइएको छ । झन्डै दुई दशकपछि भएको स्थानीय तहको निर्वाचनमा मध्य असारको प्रचण्ड गर्मी र रोपाइँको चटारोका माझ पनि मतदाताले निकै उत्साहका साथ मतदान गरेका थिए ।

कैलालीमा २३१ मतदानस्थल र ४९० मतदान केन्द्रको व्यवस्था गरिएको थियो । सबै तहका ६८९ पदका लागि जम्मा तीन हजार ४४६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कैलालीमा कुल चार लाख तीन हजार २८० मतदाता रहेकोमा सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा ७६ हजार ४३० मतदाता छन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *