गृह जिल्लाबाट लड्दा बल्ल चुनाव लडेजस्तो भयो ! प्रचण्ड

मङ्सिर २८,भरतपुर। चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको चुनावबाट आफूले तीतोमीठो अनुभव गर्न पाएको बताए ।

पत्रकार महासंघ चितवन शाखाले निर्वाचित जनप्रतिनिधिहरुको लागि गरेको शुभकामना आदानप्रदान कार्यक्रममा निर्वाचित प्रतिनिधि प्रचण्डले गृहजिल्ला चितवनबाट चुनाव लड्दा नै पहिलो पटक चुनाव लडेजस्तो अनुभव भएको बताए । उनले भने, ‘रोल्पा, काठमाडौँ र सिरहाबाट लड्दा चुनाव लडेजस्तो भएन, केही तीतामीठा अनुभव पनि भएन तर चितवन आफ्नो गृहजिल्लाबाट लड्दा बल्ल चुनाव लडेजस्तो भयो ।’

उनले अब देश आर्थिक समृद्धिको बाटोमा लाग्ने बताए । उनल भने, ‘अब देश आर्थिक विकासतर्फ होमियो ।’ देशको महारोग भ्रष्टचार भएको बताउँदै उनले भने, ‘भ्रष्टचार नियन्त्रण गर्न जनताले अपेक्षा गरेका छन्, त्यो संकल्प पूरा हुन्छ ।’
उनले अब बन्ने बामपन्थीको बहुमतको सरकारले कुनै खालका अधिनायकवाद र निरंकुशता नल्याउने दावी गरे । उनले भने, ‘केही शक्तिले वामपन्थीले जित अधिनायकवाद ल्याउँछ, निरकुंशता जन्मन्छ, भनिरहेका छन्, यस्तो भन्नेलाई म केही भन्दिनँ । यी सबै हाम्रा कामले देखाउनेछ ।

उनले जनताको जनअपेक्षाअनुसार आफूलाई खरो रुपमा उतार्ने दावी गरे । वाम गठबन्धनको उत्साहजनक जीतलाई विश्व समुदायले नै ध्यानपूर्वक हेरेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘जनताले स्थिरता, सुशासन र भ्रष्टचारमुक्त शासन व्यवस्थाको अपेक्षा गरेका छन्, त्यही अनुसार बामपन्थी गठबन्धन खरो रुपमा उत्रन्छ ।’


कार्यक्रममा चितवन क्षेत्र नम्बर एकबाट निर्वाचित पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले वामपन्थी सरकारले प्रेस स्वतन्त्रतामा अंकुश लगाउँछ भनेर जुन हल्ला पिटिएको छ, त्यस्तो कुनै खालको अंकुश नलगाइने बताए । उनले चितवनको जनताको अपेक्षा पूरा गर्ने बताए ।

चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित कृष्णभक्त पोख्रेलले चितवनलाई चीनको सेघाईंजस्तो सहर बनाउने बताए । चितवनबाट किशोर खनाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =