गच्छदारको काँग्रेसमा विलय : सत्ताको ढोका बन्द, काँग्रेसलाई घाटाको व्यापार

मंसिर २८, काठमाडौं । सदावहार सत्ताका खेलाडी विजयकुमार गच्छदार यदी काँग्रेसमा नछिरेर मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमै बसिरहेको भए शायद फेरी मन्त्री बन्ने थिए । तर, जसको सरकार आएपनि सँधै उपप्रधानमन्त्री सहित ‘मालदार’ मन्त्रालयमा हैकम चलाउँदै आएका गच्छदारको अब ५ वर्षको लागि सत्ताखेल पनि कमजोर बनेको छ ।

काँग्रेसमा गच्छदारको विलय स्वयम् काँग्रेसकै लागि घाटाको सौदा बन्न पुगेको छ । चुनावको मुखैमा वामपन्थी गठबन्धन बनेपछि लोकतान्त्रिक फोरमलाई कांग्रेसमा बिलय गराएका गच्छदार स्वयंले पनि चुनावी नतिजापछि गल्ती महसुस गरेको उनी निकट नेताहरुले बताएका छन् ।

उनी कांग्रेसबाट सांसद बने पनि निणार्यक हैसियतमा छैनन् । सम्भवतः गच्छदारले कांग्रेसमा संसदीय दलको नेता बन्न प्रयास गर्नेछन् तर उनी सफल हुने छैनन् । बढीमा उनले कांग्रेसका उपसभापति पाउनेछन् ।

कांग्रेससँग लोकतान्त्रिक फोरमको एकीकरणपछि सुनसरी ३ मा गच्छदारको मत स्थानीय तहका आधारमा २३ हजार बढी थियो । तर, उनले एमालेकी भगवती चौधरीसँग निकै कडा प्रतिस्पर्धाबीच ३२१ मतले मात्र जित्न सके, त्यो पनि विवादित ढंगबाट । गच्छदारका लागि पार्टी एकता कति फाप भयो भन्ने यही मतले पुष्टि गर्छ ।

गच्छदारले मुस्किलले जित निकाल्न सके पनि उनीसँग कांग्रेसमा गएर टिकट पाएका अरु कुनै पनि नेताले चुनाव जित्न सकेनन् । गच्छदारपछि दोस्रो प्रभावशाली नेता रामजनम चौधरी थिए । उनले कैलालीमा कहिल्यै चुनाव हारेका थिएनन् । तर, यसपटक कांग्रेसको मत जोडिँदा समेत उनले जित्न सकेनन् ।

फोरम लोकतान्त्रिकबाट पनि ०७० सालमा भारी भतले जितेका चौधरी कैलाली ३ मा माओवादीका गौरीशंकर चौधरीसँग पराजित भए । त्यस्तै थरुहट पार्टीबाट लोकतान्त्रिक फोरम हुँदै कांग्रेस बनेका गोपाल दहित पनि बर्दियामा माओवादी नेता सन्तकुमार थारुसँग फराकिलो मतान्तरमा पराजित भए ।

लोकतान्त्रिक फोरमबाट कैलाली १ मा चुनाव जितेका जनकराज चौधरीले प्रतिनिधिसभामा टिकट पाएनन् । थारु सेन्टिमेन्ट बुझेर जनकराजलाई टिकट दिनुपर्छ भन्दा कांग्रेसले मानेन र उनले प्रदेशसमा पाए । अन्ततः प्रतिनिधिसभामा राजपाका रेशमलाल चौधरीले भूमिगत अवस्थामै जिते भने जनकराज चौधरी प्रदेशसभामै पराजित भए ।

फोरम लोकतान्त्रिबाट कांग्रेसमा गएका र प्रदेशमा टिकट पाएका कसैले पनि चुनाव जित्न सकेनन् । बर्दियाका मंगल थारु, रुपन्देहीका देवीप्रसाद चौधरी, कैलालीका पुरन चौधरी, मोरङका भक्तिनाथ माझी, काभ्रेका डन गणेश लामा र सप्तरीका सुबोध पोखरेलले कांग्रेसको मत थपिँदा पनि जित्न सकेनन् ।

लोकतान्त्रिक फोरमका पूर्वप्रमुख सचेतक योगेन्द्र चौधरी दाङ १ बाट प्रतिनिधिसभा उम्मेदवार हुन खोजेका थिए । तर, उनलाई कांग्रेसले टिकट नदिई पूर्व सभासद सुशीला चौधरीलाई दियो । सुशीला एमालेका मेटमणि चौधरीसँग पराजित भइन् ।
कांग्रेसमा विलय नहुनेहरुले जिते

फोरम लोकतान्त्रिक छाडेर अन्य पार्टीमा गएकाले बरु चुनाव जिते । धनुषा २ बाट चुनाव जितेका उमाशंकर अगरिया केही समयअघि मात्रै फोरम लोकतान्त्रिक छाडेर संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए । उनले त्यहाँ वामपन्थी गठबन्धनका रामचन्द्र झालाई झण्डै दोब्बर मतान्तरमा पराजित गरे । त्यस्तै फोरम लोकतान्त्रिकको बरिष्ठ उपाध्यक्ष छाडेर माओवादी प्रवेश गरेका रामेश्वर राय यादवले सर्लाही ३ बाट फराकिलो मतान्तरमा चुनाव जिते । वीरगञ्जको मेयर हारेपछि लोकतान्त्रिक फोरम छाडेर संघीय समाजवादी फोरममा प्रवेश गरेका विमलप्रसाद श्रीवास्तवले पनि पर्सा २ बाट चुनाव जिते ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *