को बन्ला २ नम्बर प्रदेशको मुख्यमन्त्री ?

“
मंसिर २८, काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको अन्तिम मत परिणाम आएसँगै अब प्रदेशको मुख्यमन्त्री को बन्ने भन्ने बहस सुरु भएको छ । मुख्यमन्त्रीका लागि २ नम्बर प्रदेशमा राजपाका मनिष सुमन र जीतेन्द्र सोनलको नाम चर्चामा छ । यस्तै संघीय समाजवादी फोरमका लालबाबु राउतकाे नाम पनि चर्चामा छ । प्रदेशसभा निर्वाचनमा निर्वाचित भएसँगै यी ३ नेता मुख्यमन्त्रीको दौडमा सबैभन्दा अघि देखिएका छन् ।
मनिष सप्तरीको क्षेत्र नं २ को ख प्रदेश सभाबाट विजयी भएका हुन् । यस्तै सोनल वारा क्षेत्र नं ४ को ख बाट विजयी भएका हुन् । दोस्रो संविधानसभामा सभासद रहेका लालबाबु राउत पर्सा १ को खबाट प्रदेशसभा सदस्य चुनिएका छन् ।
उनीहरुले मत माग्ने क्रममा मुख्यमन्त्रीको रुपमा अघि नसारी समृद्ध मधेशको नारा नै प्रमुख बनाएका थिए । संविधान बनेपछि आन्दोलनमा उत्रेको मधेश बल्ल बल्ल शान्त भएको छ । आन्दोलनबाट भएका उपलब्धीलाई संस्थागत गर्ने सबै भन्दा सुर्वण अवसर अहिले मिलेको छ ।
कृषि र उद्योगधन्दाहरुको प्रमुख रहेको २ नै प्रदेशको विकास र समृद्धि अन्य प्रदेश भन्दा छिटो हुनसक्छ । तर कयौ क्षेत्रमा यो प्रदेश सुगम भएपनि पछाडि परेको छ । शिक्षा र स्वास्थ्यमा यो प्रदेश कयौं पहाडी प्रदेश भन्दा पछाडि देखिएको छ ।
अहिले सम्म राजधानी काठामाडौंले पछाडि पारेको विश्लेषण गर्ने मधेशवादी दलका नेताहरुको हातमा मधेशको वागडोर आएको छ । अबको पाँच बर्षमा मधेशको भाग्य र भविष्य बदल्ने जिम्मा पाएका नेताहरुले अब व्यवहारमा नै देखाउने सयम आएको छ ।
संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको गठबन्धनले प्रदेश २ मा प्रत्यक्षतर्फ बहुमत ल्याएको छ । ६४ सिटमध्ये यो गठबन्धनले ३४ सिट जितेको छ ।
वाम गठबन्धनले १९ एमाले १२ र माओवादी केन्द्र ७) सिट जितेको छ भने कांग्रेसले ८ सिट जितेको छ । एक सिटमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । प्रदेश २ मा ७३ समानुपातिक सिट छ । १०७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ सांसद चाहिन्छ ।
समानुपातिकमा कुन दलले कति सिट जित्यो, त्यो थाहा पाउन अझै केही दिन कुर्नु पर्ने हुन्छ । तर, फोरम- राजपा गठबन्धनले सरकार गठनका लागि आवश्यक बहुमत पुर्याउने पक्का जस्तै छ ।”








