दक्षिण कोरियाली राष्ट्रपति अमेरिका प्रस्थान

सोल, १४ असार । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन संयुक्त राज्य अमेरिकाको भ्रमणका लागि बुधबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपति मुनको यो पहिलो विदेश भ्रमण हो । उहाँ महिना दिन अघि मात्र दक्षिण कोरियाको राष्ट्रपतिमा स्पष्ट बहुमतका साथ निर्वाचित हुनुभएको थियो । उहाँ यसै हप्ता अमेरिका जान लाग्नुभएको र त्यहाँ उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्नुहुने समाचार यसअघि नै कोरियाली सञ्चारमाध्यममा आएको थियो ।

अमेरिका प्रस्थान गर्नुअघि राष्ट्रपति मुनले आफ्नो अमेरिका भ्रमणका समयमा आफूले उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपमा जारी रहेको अशान्तिको अवस्था हटाउन निशस्त्रीकरणका विषयमा वार्ता गर्ने बतानुभएको थियो । उहाँले कोरियाली प्रायद्वीपमा क्षेत्रीय शान्ति र स्थायित्वका लागि आफूले अमेरिकी राष्ट्रपति ट्रम्पसँग आवश्यक परामर्श गर्ने र भ्रमणका क्रममा हुने वार्ताले आपसी हित र द्विपक्षीय सम्बन्ध सुदृढिकरणमा सहयोग पु¥याउने बताउनुभयो । उत्तर कोरियाले पछिल्लो केही समययता दक्षिणको आग्रहका विरुद्ध आणविक परीक्षणलाई जारी राखेको छ । साथै दक्षिण कोरियाको विरोधका अभिव्यक्तिहरु उत्तर कोरियाले आक्रामक रुपमा दिने गरेको छ । राष्ट्रपति मुनले यस विषयमा पनि अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गर्नुहुने समाचारमा जनाइएको छ ।

उत्तर कोरियाले बारम्बार गर्ने गरेको यस्तो आणविक परीक्षणले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डका साथै प्रचलित कानुनको उल्लङ्घन गरेको प्रतिक्रिया दक्षिण कोरियाको छ । त्यसैगरी अमेरिकी रक्षामन्त्री जिम म्याटिसले पनि हालैमात्र दिनुभएको एक सार्वजनिक अभिव्यक्तिमा उत्तर कोरियाको कदम खतरनाक रहेको र भोलिका लागि यी कदमहरु विश्वकै खतरा हो भन्नुभएको थियो ।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तर कोरियाको हतियार कार्यक्रम आफ्नो विदेश नीतिको प्राथमिकतामा रहेको बताइरहनुभएका बेला राष्ट्रपति मुनको यो अमेरिका भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ । केही दिनमात्र अघि पनि उत्तर कोरियाले अमेरिकाका विरुद्धमा राजधानी प्योङयाङ्मा जुलुस प्रदर्शन गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका थिए । रासस/ सिन्ह्वा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *