निर्वाचनले जनआन्दोलनका उपलब्धि संस्थागत गर्याे : केसी

मंसिर २६, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफलतापुर्वक सम्पन्न भएसँगै २०६२/०६३ सालको जनआन्दोलनका उपलब्धिहरु संस्थागत भएको बताएका छन् । मंगलबार एक प्रेस वक्तव्य जारी गर्दै राजमो अध्यक्ष केसीले निर्वाचन सफलतापुर्वक सम्पन्न भएकोमा निर्वाचन आयोग, सरकार र मतदाता सबैलाई धन्यबाद दिएका छन् ।

केसीले देशभरबाट वामपन्थी गठबन्धनको विजय भएकोमा खुशी व्यक्त गरेका छन् । एमाले–माओवादीसँग बागलुङ र प्युठानमा चुनावी तालमेल गरेको राजमोले देशब्यापी रुपमै गठबन्धन गरेर जाने प्रस्ताव गरेपनि उनीहरुले अस्विकार गरेको तर पछिबाट सहयोग मागेको वक्तव्यमा उल्लेख छ ।

केसीले भनेका छन्, ‘हामीले राजनीतिक रुपले नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनलाई हराउनु पर्ने आवश्यकता माथि ध्यान दिएर अर्घाखाँची, गुल्मी– १ र डडेलधुरामा हाम्रो चुनाव प्रचारलाई स्थगित गरी उनीहरुलाई जिताउने निर्णय ग¥यौं । यसका अतिरिक्त हाम्रो प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रत्यक्ष तर्फ उमेदवार नभएका सबै स्थानहरुमा पनि उनीहरुलाई समर्थन ग¥यौं । यसले ‘बाम गठबन्धन’ को देशव्यापी माहौल सृजना भयो ।’

केसीले कम्युनिस्टप्रति सहानुभूति राख्ने जनसमुदायले हामीहरु सहितको संगठनात्मक एकताको अपेक्षा गरेका छन् भन्दै आफुहरु त्यो अपेक्षाप्रति सकारात्मक रहेको बताएका छन् । ‘तर त्यसको लागि हामीले सिद्धान्त, राजनीति र संगठनको विषयमा सही समझदारीमा पुग्नु पर्दछ ।’ केसीले भनेका छन्, ‘अन्यथा भावनात्मक रुपले उद्धेलित हुँदा त्यसको राष्ट्रिय राजनीतिमा नै गलत परिणाम आउन सक्दछ । त्यसकारण यी सबै कुरामा विचार गरेर अहिले र आगामी राजनीतिको लागि पनि बामगठबन्धनको विस्तार र मजबुत धरातल निर्माणको लागि हामीले जोड दिन्छौं ।’

राजमोले प्युठानमा प्रतिनिधि सभा सदस्य तिजेको छ भने बाग्लुङका दुई स्थानमा प्रदेश सभामा विजय हासिल गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *