दुई महिना अघि बेहोस भएका लामा भोट हाल्न बिउँझे

असार १४, प्रकाश धौलाकोटी । तेह्रथुमको आठराई गाउँपालिका ४ इवाका रत्नमान लामालाई दमको समस्या छ ।  २०४९ र २०५४ सालका स्थानीय चुनावमा मतदान गरेका लामा झण्डै २० वर्षपछि हुँदै गरेको चुनावको मिति घोषणा भएपछि पनि पटक पटक सिकिस्त बिरामी पर्नुभयो । दुई महिना अघि मात्रै उहाँ बेहोस भएपछि गाउँका छरछिमेकी मलामीका लागि जम्मा भए ।  तर, गाउँलेले मलामी जानु परेन । बरु उनै रत्नमानले यसपटक पनि मतदान गर्न पाउनु भएको छ ।

‘मेरो भाग्यमा यो पटक पनि मतदान गर्न पाउनुपर्ने लेखेको रहेछ, त्यसैले मलामी जम्मा भएपछि पनि बौरिएँ र मतदान गर्न पाएँ,’ उहाँले भन्नुभयो । मतदान केन्द्रमा श्रीमती विष्णुमाया लामासँग मतदान गर्न आएका रत्नमानले गाउँको विकासका लागि सक्षम लागेका उम्मेद्वारलाई भोट दिएको बताउनुभयो ।

‘राम्रो मान्छेलाई मत दिएको छु, विकास गरेको देख्न पाउछु कि पाउँदिन, तैपनि खुसी छु,’ उहाँले भन्नुभयो । यसअघि चुनेका प्रतिनिधिले गाउँमा आफूले चाहेको जस्तो विकास नगरेको उहाँले बताउनुभयो ।  श्रीमती विष्णुमायाले श्रीमानले मतदान गर्न पाउनुहोला भन्ने नसोचेको बताउनु भयो । ‘चुनावको मिति तोकिए पछि पनि उहाँलाई विरामले धेरै च्याप्यो, तर मतदान गर्न जुरेको रहेछ,’ उहाँले हाँस्दै भन्नुभयो ।

दुई वर्ष अघि र दुई महिना अघि दुई पटक मृत्युको मुखबाट फर्कने शक्ति भगवानले दिएको  विष्णुमायाको भनाई छ ।  लामाको विरामका कारण गाउँले ८ वर्षदेखि चिन्तित छन् । पटक पटक मलामीका लागि जम्मा हुनुपर्ने अवस्था आउने गरेको छिमेकी श्यामकुमार भट्टराईले बताउनुभयो । इवा मतदान केन्द्रमा लामा जस्तै धेरै जना वृद्धवृद्धाहरुले मतदान गरेका मतदान अधिकृत विजय इङनामले बताउनु भयो ।

स्रोत : उज्यालो अनलार्इन

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *