सुनसरी ३ मा मतगणना अधिकृत बदलेर पुनः गणना गर्न माग

मंसिर २५, सुनसरी । सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं ३ मा मतगणना अधिकृतले धाँधली गरेको भन्दै मतगणना अधिकृत नबदलिएसम्म गणना सुचारु गर्न नहुने एमाले उम्मेदवार भगवती चौधरी पक्षले अडान लिएको छ । भगवती चौधरीका मतगणना प्रतिनिधि विनोद कुमार चौधरीले मुख्य निर्वाचन अधिकृतलाई पत्र लेखी मतगणना अधिकृत बदल्न र विवादित मत बदर गर्न माग गरेका छन् ।

औठाछाप लागेका तथा अधकट्टि सहित फेला परेका बदर गर्नुपर्ने मतलाई मतगणना अधिकृतले एकपक्षीय रुपमा सदर गरेको भगवती पक्षको आरोप छ । २९६, ३२१, ३४६, ३७१ र ३९६ नम्बरका मतपेटिकामा मतपत्रहरु अधकट्टी समेत जोडिएको, औठाको छाप लगाएको, रुख चिन्हका बदर हुनुपर्ने मतपत्रहरु समेत सदर गरिएको आरोप लगाइएको छ ।

मतगणनाका क्रममा धाँधली भएको भन्दै केहीबेर अघि देखि मतगणना स्थगित गरिएको छ भने मतगणना स्थलबाहिर एमाले समर्थक कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् । बहुप्रतिक्षित सुनसरी ३ मा उपप्रधानमन्त्री एवं काँग्रेस उम्मेदवार विजय गच्छदारले हार्ने स्थिति भएपछि मतगणनामा धाँधली गरिएको वामगठबन्धनले आरोप लगाएको छ । २०७० सालको संविधान सभा निर्वाचनमा पनि गच्छदार पक्षले धाँधली गरेर जितेको आरोप लाग्दै आएको छ । अहिले पनि ०७० साल दोहोर्याउन खोजिएको स्थानीयको बुझाई छ ।

मतगणनास्थल नजिक तनावको अवस्था उत्पन्न भएपछि स्थानीयले बजार पसलहरु बन्द गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *