साउन २० मा ५५ औँ शिशु प्रदर्शनी

काठमाडौँ, १४ असार । हरेक वर्ष झैँ यस वर्ष परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले साउन २० गते ५५ औँ शिशु प्रदर्शनी आयोजना गर्ने भएको छ । प्रसूति गृहमै जन्मेका एक वर्षसम्मका शिशुलाई प्रदर्शनीमा सहभागी गराइने छ । अस्पतालका नासु तथा शिशु प्रदर्शनीका संयोजक राजु वैष्णवले आफ्ना शिशुलाई प्रदर्शनीमा सहभागी गराउन चाहने अभिभावकले गर्भावस्थामा जाँच गराएको कार्ड (एन्टिनेटर कार्ड), शिशुको जन्म प्रमाणपत्र, खोप कार्ड र तस्बिरसहित अस्पतालमा दरखास्त दिन सक्ने बताउनुभयो । त्यसका लागि असार १३– साउन १२ गतेसम्म दरखास्त दिन सकिने अस्पतालले जनाएको छ ।

जन्मेदेखि ४५ दिनसम्म, ४६ दिनदेखि छ महिनासम्म र छ महिना एक दिनदेखि एक वर्षसम्म गरी छुट्टाछुट्टै तीन उमेर समूहका शिशुलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार दिइने छ । बालविशेषज्ञ चिकित्सकसहितको टोलीले शिशुको अवस्था, तौल, खानपानलगायत आमासँग परिवार नियोजन साधन र बच्चाको स्याहार गर्ने तरिकाबारे जानकारी लिएपछि उत्कृष्ट शिशु घोषणा गरिने छ ।

किशोरमैत्री यौन तथा प्रजनन सेवा तयारी
यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै आएको मेरी स्टोप्स नेपालले आफ्ना सबै सेवा केन्द्रलाई किशोरकिशोरीमैत्री बनाउने तयारी गरेको छ । हाल चार जिल्लामा रहेको सो सेवालाई विस्तार गर्न लागिएको बताइएको छ ।  मेरी स्टोप्स नेपालका युवा तथा नवविवाहित परियोजनाका म्यानेजर निलिमा राउतले अहिले मेरी स्टोप्सबाट काठमाडौँ, मोरङ र पर्सा जिल्लामा किशोरमैत्री कार्यक्रम सञ्चालन गरिए पनि सन् २०१८ सम्ममा देशभरका ३६ वटै मेरी स्टोप्स केन्द्रमा सो सेवा सुरु हुने बताउनुभयो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *