नुवाकोट पनि वाम गठबन्धनको क्लिनस्विप

” 

मंसिर २४ नुवाकोट ।नुवाकोटमा दुई प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र चार प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रका छ पदमा नै वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

आज अपरान्ह सम्पन्न पहिलो हुने निर्वाचित हुने प्रत्यक्षतर्फको अन्तिम मत परिणामअनुसार सबै पदमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेकपा (माओवादी केन्द्र)का हितबहादुर तामाङ विजयी भएका छन् । तामाङले ३६ हजार ४७३ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डा रामशरण महतले २७ हजार ९२० मत प्राप्त गरे। विसं २०६४ र २०७० मा भएको संविधानसभा निर्वाचनमा डा महतले तामाङलाई पराजय गरेका थिए।

यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का नारायणप्रसाद खतिवडा ३६ हजार ८९२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अर्जुननरसिंह केसीले २६ हजार ३३५ मत प्राप्त गरे।

यस्तै प्रतिनिधिसभा सदस्य–१प्रदेश (क)मा नेकपा (माओवादी केन्द्र)का राधिका तामाङ १८ हजार १३७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका महेन्द्र थिङले १३ हजार ३६८ मत प्राप्त गरेको निर्वाचन अधिकृत गोपाल लामिछानेले जानकारी दिए।

यस्तै प्रदेश (ख)मा एमालेका बद्री मैनाली २० हजार ५०९ मत ल्याएर विजयी भएका छन् । काँग्रेसका रमेशकुमार महत १२ हजार २१७ मत प्राप्त गरेर उनका निकटतम प्रतिष्पर्धी बने ।

यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ प्रदेशसभा(क)मा एमालेका केशवराज पाण्डेले २० हजार नौ मत ल्याएर विजयी हुनुभएको छ । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जगदीश्वरनरसिंह केसीले १२ हजार ७२९ मत प्राप्त गरेका छन् । प्रदेशसभा(ख)मा माओवादी केन्द्रका हीरानाथ खतिवडा १७ हजार ६२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी काँग्रेसका जगतबहादुर तामाङले १४ हजार ५२ मत प्राप्त गरेका छन् ।

यसअघि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा साविकका तीन वटै निर्वाचन क्षेत्रमा काँग्रेस उम्मेदवारले जितेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *