इंग्ल्यान्डलाई पराजित गर्दै जर्मनी फाइनल प्रवेश


“
एजेन्सी – युरोपेली यू २१ च्याम्पियनसिप अन्तर्गत मंगलबार राती भएको पहिलो सेमिफाइनल खेलमा जर्मनीले पेनाल्टी सुट आउटमा इंग्ल्यान्डलाई ४-३ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । निर्धारित समय २-२ को बराबरी र थप गरिएको ३० मिनेटमा कुनै गोल नभएपछि खेल पेनाल्टी सुट आउटतर्फ धकेलिएको थियो ।
जर्मनीका लागि डेविड सेल्केले ३५ औं मिनेटमा हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, लेस्टर सिटिका डेमारे ग्रेले क्लिएर नभएको कर्नरको फाइदा उठाउँदै ४१ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । दोश्रो हाफको सुरुवातमै इंग्ल्यान्डले खेलमा अग्रता लिएको थियो । ट्यामी अब्राहमले ५२ औं मिनेटमा गोल गर्दै खेलमा इंग्ल्यान्डलाई अगाडी बढाएका थिए। तर, वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फेलिक्स प्लाटले कर्नरबाट आएको बललाई हेडरमार्फत गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।
निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेट बराबरीमा सकिएपछि थप गरिएको ३० मिनेट अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टीमा जर्मनीले पहिलो प्रहार गर्दै आफ्नो दोश्रो पटकको प्रहार चुकाएको थियो । तर, इंग्ल्यान्डले पनि दोश्रो प्रहारमा चुकेपछि खेल बराबरीमै अघि बढ्यो । सुटआउटको अन्तिम पेनाल्टीमा नाथन रेडमन्ड चुकेपछि जर्मनीले खेल जितेको थियो ।
जर्मनीका लागि कप्तान म्याक्सीमिलियन आर्नल्ड, म्याक्स फिलिप, म्याक्स मायर र नदीम अमिरीले गोल गरेका थिए भने यानिक गर्हार्डटको प्रहार गोलरक्षक जोर्डन पिकफर्डले बचाएका थिए। इंग्ल्यान्डका लागि लेविस बेकार, जेम्स वार्ड प्राउज र लेस्टरका बेन चिलवेलले आफ्नो पेनाल्टी सफल पारे भने चेल्सीका ट्यामी अब्राहम र साउथह्याम्पटनका नाथन रेडमण्डको प्रहार ह्यामबर्गका गोलरक्षक जुलियन पोलर्सबेकले बिफल तुल्याएका थिए ।
“
