स्पेनले इटालीलाई पराजित गर्दै फाइनलमा

एजेन्सी – एटलेटिको म्याड्रिडका स्टार मिडफिल्डर साउल निगुएजको ह्याट्रिकको मद्दतले स्पेन पोल्याण्डमा जारी युरोपेली यू २१ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बुधबार राती भएको खेलमा स्पेनले इटालीलाई ३-१ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।  दोश्रो हाफ सुरु भएको आठौं मिनेटमा गोल गर्दै साउलले स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए । रोबेरतो गाग्लीयार्डीनिले दोहोरो पहेंलो कार्ड पाउँदै मैदान छाडेपछि इटाली १० खेलाडीमा सिमित भएको थियो । तर, पहिलो गोलको ९ मिनेटपछि इटालीका फेडेरिको बर्नार्डेस्चीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

खेलको ६५ औं मिनेटमा व्यक्तिगत दोश्रो गोल गर्दै साउलले स्पेनलाई पुन खेलमा अग्रता दिलाएका थिए । भने, उनले खेलको ७४ औं मिनेटमा मार्को एसेन्सियोको पासलाई सदुपयोग गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए । दुबै टोलीबाट थप कुनै गोल हुन नसकेपछि स्पेन ३-१ ले विजयी हुँदै फाइनलमा प्रवेश गर्यो । स्पेनले फाइनल खेलमा उपाधिको लागि जर्मनीको सामना गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *