फरार सूचीमा रहेका चौधरी मतगणनामा अगाडि

धनगढी, २३ मङ्सिर । कैलाली निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दिएका राजपाका रेशमलाल चौधरीले वाम र नेपाली काँग्रेसका उम्मेदवारलाई चकित पार्दै ठुलो मतान्तरले अग्रता लिइरहनुभएको छ ।

प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका चौधरीले पाँच हजार ४१५ मत प्राप्त गर्दा एमालेकी गरिमा शाहले एक हजार तीन हजार ५९ र काँग्रेसकी ईश्वरी न्यौपानेले ९२१ मत पाउनुभएको छ । चौधरी दुई वर्षअघि भएको टीकापुर घटनाको आरोपमा प्रहरीको फरार सूचीमा रहनुभएको छ ।

उहाँले आफ्ना समर्थकमार्फत सामाजिक सञ्जाल र भिडियो क्लिपमार्फत चुनावी प्रचार गर्नुभएको थियो । यो क्षेत्रको प्रदेशसभा (क) र (ख) मा भने नेपाली काँग्रेसका प्रत्यासीले प्रारम्भिक मतगणनामा अग्रता लिइरहनुभएको छ ।

यता काँग्रेस नेत्री डा आरजु राणा देउवा उम्मेदवार रहेको कैलाली निर्वाचन क्षेत्र नं ५ को जारी मतगणनामा (एमाले)का उम्मेदवारले आफ्नो अग्रता कायम राख्नुभएको छ । आज साँझसम्म रानाले १३ हजार ८४१ मत पाउँदा काँग्रेसका डा आरजु राणा देउवाले १२ हजार ५९८ मतसहित रानालाई पछ्याइरहनु भएको छ ।

यो क्षेत्रमा खसेको कूल मतको आज साँझसम्म ५० प्रतिशत मतगणना भइसकेको छ । झन्डै ३० हजार मतको गणना गर्न अझै बाँकी रहेको छ । यो निर्वाचन क्षेत्रको प्रदेशसभा (क) मा वाम गठबन्धनका नेपालु चौधरी र प्रदेशसभा (ख) मा काँग्रेसका डिल्लीराज पन्त अगाडि रहनुभएको छ ।

कैलाली निर्वाचन क्षेत्र नं २ मा रोचक प्रतिस्पर्धा
यो क्षेत्रको प्रतिनिधिसभा सदस्यको मतगणनामा काँग्रेसका उम्मेदवार एवं पूर्वमन्त्री मोहनसिंह राठौर कुनै समयमा आफ्ना सहयोगी (पिए) रहनुभएका एमाले उम्मेदवार झपट रावलसँग प्रारम्भिक मतगणनामा पछि पर्नुभएको छ ।

हालै मात्र एमालेबाट काँग्रेस प्रवेश गरेर टिकट पाउनुभएका राठौरले ५४० मत पाउँदा एमाले उम्मेदवार रावलले राठौरलाई उछिन्दै एक हजार ७३ मत पाउनुभएको छ । निर्वाचन क्षेत्र नं ३ को पछिल्लो मतगणनामा (माओवादी केन्द्र)का गौरीशंकर चौधरीले पाँच हजार १६३ मत ल्याउँदा काँग्रेसका रामजनम चौधरीले चार हजार हजार १७१ मतले उहाँलाई पछ्याइरहनु भएको छ । पूर्वमन्त्रीसमेत रहनुभएका यी दुवै जनाबीच कडा टक्कर रहेको छ ।

यो निर्वाचन क्षेत्रको प्रदेशसभातर्फ दुवै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिनुभएको छ । यस्तै, निर्वाचन क्षेत्र नं ४ मा माओवादी केन्द्रका लेखराज भट्टले १० हजार ३९३ मत ल्याउँदा नेपाली काँग्रेसका सुनीलकुमार भण्डारीले छ हजार ४४६ मत प्राप्त गर्नुभएको छ । यो क्षेत्रका दुवै प्रदेशसभा सदस्य पदमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *