कम्युनिष्ट पार्टीको नेतृत्वमा मात्र मेहनतकश जनताको हित : महामन्त्री सिंह

मंसिर २३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले मुलुकको सार्वेभौमिकता र अखण्डताको रक्षा तथा मेहनतकश जनताको हित कम्युनिष्ट नेतृत्वमा मात्र हुन सक्ने बताएको छ । निर्वाचनमा वाम गठबन्धनले अग्रता लिएसँगै मसालले राष्ट्रिय जीवनका समस्याको सम्बोधनका लागि वामपन्थी शक्तिहरुको ब्यापक मोर्चा निर्माणमा जोड दिएको छ ।

पार्टीका महामन्त्री मोहन विक्रम सिंहले शनिबार एक विज्ञप्ति प्रकाशित गदै राष्ट्रियता रक्षाका लागि वैदेशिक हस्तक्षेप विरुद्ध दृढतापुर्वक अडान लिनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा प्यूठान, बाग्लुङलगायतका जिल्लामा वाम तालमेलमा रहेको जनमोर्चा नेपालको माउ पार्टी मसालका महामन्त्री सिंहले कम्युनिष्ट पार्टीको नेतृत्वमा नै देशमा राष्ट्रिय समस्याको वास्तविक समाधान, मेहनतकश र शोषित उत्पीडित जनताको हितको रक्षा वा राष्ट्रिय विकासको सम्भावना रहेको बताएका छन् ।

शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माण सही र क्रान्तिकारी माक्र्सवादी–लेनिनवादी सिद्धान्त, राजनीतिक लाइन र संगठनात्मक प्रणालीका आधारमा नै सम्भव हुने भएकाले तत्काल त्यसप्रकारको कम्युनिष्ट पार्टीको निर्माण हुन नसके पनि वामपन्थी शक्तिको एउटा व्यापक मोर्चाको आवश्यकतामा उनको जोड छ ।

विकासका पक्षमा वा विदेशी शक्तिको हस्तक्षेपकाविरुद्ध संघर्षका न्यूनतम कार्यक्रम बनाएर काम गर्न सकोस् भन्दै सबै प्रगतिशील र लोकतान्त्रिक शक्तिसित पनि मिलेर काम गर्नुपर्ने आवश्यकतामा पनि सो पार्टीले जोड दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *